बर्दिबासमा झुक्याएर महिलाको पाठेघरको शल्यक्रिया
प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार
महोत्तरीको बर्दिबासको एक निजी स्वास्थ्य संस्थाले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर एकजना महिलाको पाठेघरको शल्यक्रिया गरेको छ ।
बर्दिबास नगरपालिकास्थित डीएनबी मेडिकेयर सेन्टर प्रालिले सिन्धुलीको कमलामाई नगरपालिका-१० भिमान निवासी २९ वर्षीया तोपकुमारी खड्काको विनाकारण झुक्याएर पाठेघरको शल्यक्रिया गरिदिएको हो ।
जेठ १५ गतेको घटना भएपनि बिरामीका आफन्त कानुनी उपचार खोज्दै इलाका प्रहरी कार्यालय बर्दिबास पुगेपछि मात्रै घटना सार्वजनिक भएको हो ।
पाठेघरबाट सामान्य रक्तस्राव हुन थालेपछि उपचार गर्न आफूहरु उक्त हस्पिटल पुगेको पीडित महिलाका श्रीमान शेषबहादुर खड्काले बताए ।
उक्त मेडिकेयरमा संचालन भैरहेको स्वास्थ्य शिविरमा जाँच गराउँदा २९ वर्षीया खड्काको पाठेघरमा क्यान्सर भएको र ननिकाले ज्यानै जान सक्ने भन्दै शल्यक्रिया गरिदिएको शेषबहादुरले बताए ।
हस्पिटलका चिकित्सकले मेडिकल रिपोर्ट वा कुनै परीक्षण बिना क्यान्सर भन्दै झुक्याएर अप्रेसन गरेको आरोप पीडित महिलाका आफन्तको छ ।
महिलाका आफन्तका अनुसार अस्पतालका डाक्टरले त्यही दिन भर्ना गरेर त्यही दिन पाठेघर निकालिदिएका थिए ।
बिगत केही दिनदेखि पाठेघरबाट सामान्य रक्तस्राव भैरहेको भन्दै ती महिला उपचारको लागि उक्त हस्पिटल पुगेकी थिइन् ।
पीडित महिलाका आफन्तहरुले अपरेसनमा संलग्न चिकित्सकको नाम दिन पटकपटक आग्रह गर्दासमेत आनाकानी गरेपछि बिनाकारण पाठेघर निकालेर फालेको घटना सार्वजनिक भएको हो ।
घटना लगतै महिलाका आफन्तले इलाका प्रहरी कार्यालय बर्दिबास र बर्दिबास नगरपालिकामा लिखित उजुरी दर्ता गराएपछि घटना सतहमा आएको हो ।
बिना दर्ता रहेको भारतीय चिकित्सकले आफ्नो श्रीमतीको पाठेघर निकालेर फ्याकेको र आफूहरुले सोधीखोजी गर्न थालेपछि मेडिकेयरले चिकित्सक भगाएको आफन्त आरोप छ ।
महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घटनाको सम्बन्धमा बर्दिबास नगरपालिकाको न्यायिक समितिले छानबिन सुरु गरेको छ ।
स्वास्थ्य संस्था स्थापना संञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका अनुसार उक्त मेडिकेयरले मापदण्ड अनुसार कुनै प्रकारको शल्यक्रिया गर्न नपाउने उल्लेख छ ।
नियम मिचेर उक्त मेडिकेयरले महिलाको पाठेघर निकालिदिएको हो । यसबैबीच उक्त मेडिकेयरको मापदण्ड बिपरीत रहेको र घटनाको सम्बन्धमा बर्दिबास नगरपालिकाले छानविन अगाडि बढाएको छ ।
चिकित्सकको लापरवाहीले घट्ना घटेको आरोप लगाउँदै घटनाको छानविन गरी दोषिमाथि कारवाही हुनुपर्ने पिडीतको माग छ ।