सिटामोल लिन ५ घन्टा पैदल हिड्न बाध्य


प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार

दुर्गाथली गाउँपालिकाको चुवाबन र छविस पाथिभेरा गाउँपालिकाको बुड्खोरीका बासिन्दा सिटामोल लिन ५ घन्टा पैदल हिड्न बाध्य छन् । गाउँमा स्वास्थ्य इकाई नहुदा सिटामोल कै लागि लामो यात्रा तय गर्नुपर्ने बाध्यता भएको हो ।

गाउँमा न प्रसुति केन्द्र छ । न खोप केन्द्र । बालबालिका र महिलाको स्वास्थ्य अवस्था पनि जोखिममा रहेको बुडखोरीका जनक बोहराले बताए ।
‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर विसौनासम्म पुर्‍याउनुपर्छ । भनेको बेला बोक्ने मान्छे पनि हुदैनन्,’ उनले भने, ‘कतिपयको बाटोमै अकाल ज्यान जाने गरेको छ ।’ नवजात शिशुलाई खोप केन्द्र आउजाउमा सुत्केरीले लामो यात्रा तय गर्नुपर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उनले बताए ।
खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएकाले यहाँका कतिपय अभिभावकले बच्चालाई खोप नै नलगाउने गरेको चुवाबनकी शान्ती महतले बताइन् । ‘आउजाउमै दिन भर लाग्छ,’ उनले भनिन्, ‘खोपको महत्व बुझेकाहरु त हिडेरै गएर पनि लगाउछन् । महत्व थाहा नभएकाले आज सम्म लगाइएन, अब लाएर के नै हुन्छ भनेर खोपै लाउदैनन् ।’
गाउँमै खोप केन्द्र भए कोही पनि बालबालिका खोपबाट बञ्चित हुनु नपर्ने उनले बताइन् । स्वास्थ्य संस्था टाढा भएकाले बिरामी हुने वित्तिकै उपचार नपाउने र थलिए पछिमात्र बोकेर उपचारको लागि लैजाने गरेको बुडखोरीका गिरी बोहराले बताए । यसले कतिपय बिरामी सिकिस्त भएपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने र ज्यानै समेत गुमाउने गरेको उनले सुनाए ।
यी दुई गाउँमा ३ सय ७५ परिवारको २ हजार २ सय जनसंख्या छ । स्थानीय समुदाय वा गाउँपालिकाले स्वास्थ्य इकाई निर्माणका लागि नि:शुल्क जग्गा उपलब्ध गराउन सक्ने निर्णयसहितको निवेदन दिएमा इकाइ राख्न स्वास्थ्य सेवा विभागलाई सिफारिस गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अनुप रेग्मीले बताए ।
सामुदायिक स्वास्थ्य सेवा इकाइ स्थापना भए स्वास्थ्य चौकीबाट प्रदान हुँदै आएका खोप, प्रसुति जाँच र अन्य उपचार सेवा त्यँहीबाट प्रदान गरिने उनले बताए ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com