अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक फेरबदल
प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार
अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ ।
पदबाट हटाइने प्रमुख अधिकारीमा रक्षामन्त्री पाक यङ सिक र उत्तर कोरियाको सेनाको चिफ अफ जनरल स्टाफ रहेका छन् ।
त्यसैगरी सेनाको राजनीतिक ब्युरोका प्रमुख पनि यसरी हटाउनेमा परेको खुलेको छ । सैन्य अधिकारीहरूलाई हटाइएको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको हो ।
यसैबीच प्राप्त एक समाचार अनुसार दक्षिण कोरिया र अमेरिकाका विदेश मन्त्रीबीच फोन वार्ता भएको छ । दक्षिण कोरियाली विदेशमन्त्री काङ ख्योङ्वाले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओलाई सोमबार बिहान फोन गरेका हुन् ।
सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको समय नजिकिँदै आएको बेला उक्त फोनवार्ता भएको बताइएको छ ।