कानुन तोडेको आरोपमा अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंकलाई ५६ अर्ब जरिवाना


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

अष्ट्रेलियाको सबैभन्दा ठुलो बैंक कमनवेल्थलाई ७ सय मिलियन डलर (करिब ५६ अर्ब रुपैया) जरिवाना गरिएको छ । यो जरिवाना अष्ट्रेलियाको कर्पाेरेट इतिहासकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

यहाँका समाचारसंस्थाहरुका अनुसार बैंकले अष्ट्रेलियाको ‘एन्टी मनि लण्डरिङ र काउन्टर टेरोरिज्म’ कानुन तोडेको आरोपमा यति ठुलो रकम जरिवाना तिर्नुपरेको हो । कमनवेल्थ बैंकले १० हजार डलर माथिका हजारौं कारोबारहरु यहाँको नियमन निकायलाई समयमै जानकारी गराएको थिएन ।

बैंक मार्फत गरिएका १० हजार बढीका करिब ५० हजार बढी लेनदेन कारोबारलाई बैंकले नियमन निकायमा समयमा जानकारी नगराएका कारण समस्यामा परेको थियो । नियमन निकाय असट्रयाकले गतवर्षको अगष्टमा बैंकविरुद्ध कारबाही प्रक्रिया सुरु गरेको थियो ।

समाचारहरुमा जनाइएअनुसार अष्ट्रेलियाको कानुन अनुसार १० हजार डलर वा सो भन्दा माथिको कारोबारलाई १० दिनभित्रमा जानकारी गराउनुपर्ने प्रावधान छ । असट्रयाकले उक्त कारोबारलाई निगरानी गरेर रकम सही स्थानमा कारोबार भएको छ वा छैंन भनेर अनुसन्धान गर्छ ।

बैंकले ‘इन्टेलिजेन्ट डिपोजिट मेसिन’ मार्फत गरिएका कारोबारलाई समयमै जानकारी नगराएपछि कानुनी समस्या झेल्नु परेको थियो । सोही कारण यो समस्याबाट समाधान खोज्नका लागि बैंकले अहिलेसम्मकै सबैभन्दा ठुलो जरिवाना तिर्नुपरेको हो ।

बैंकबाट भएका यी कारोबारहरु गलत किसिमले गरिएको हुनसक्ने भन्दै बैंकलाई कारबाहीको प्रक्रिया अघि बढाइएको थियो । सोमबार बैंकले उक्त रकम जरिवाना स्वरुप तिर्ने जनाएको छ । सरकारी निकाय र बैंकबिचमा सहमती भएपनि यो सहमतिलाई अष्ट्रेलियाको उच्च अदालतले स्वीकार गर्नुपर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत म्याट कोम्यानले बैंकको जानीजानी गल्ती नभएको भन्दै क्षमयाचना गरेका छन् । उनले बैंकले जोखिम ब्यवस्थापन तथा अनुपालनमा ध्यान दिने समेत बताएका छन् । बैंकले ७ सय मिलियन अष्ट्रेलियन डलरमात्र नभएर कानुनी शुल्कवाफतको अढाई मिलियन डलर (करिब २० करोड रुपैया) समेत तिर्नुपर्नेछ ।

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले केन्द्रीय सरकारका निकायहरु आफ्नो काम गरिरहेको यो उदाहरण भएको बताउँदै कुनैपनि आर्थिक अपारदर्शिता सम्बन्धि काम स्वीकार नहुने जनाएका छन् भने ट्रेजरर स्कट मरिसनले सर्वसाधारणको विश्वासलाई पुन: जित्ने जिम्मा बैंकको भएको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com