बीपी राजमार्गमा ठूला बसलाई रुट परमिट नदिन सर्वाेच्चको अन्तरिम आदेश
प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार
सर्वाेच्च अदालतले बीपी राजमार्गमा ठूला बसलाई रुट परमिट नदिन अन्तरिम आदेश दिएको छ । अदालतले राजमार्गको खुर्कोट–सिन्धुलीमाडी सडकखण्डमा ३२ सिटे र १० टन भन्दा माथिका मालबाहक सवारीलाई रुट इजाजत दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले एकसाता अघि मात्रै प्राविधिकहरुको रिर्पोट लत्याउँदै सो सडकखण्डमा ३२ सिटे र १० टन भन्दा माथिका मालबाहक सवारीलाई रुट इजाजत दिने निर्णय गरेका थिए । त्यसविरुद्ध कैलाशराज दाहालले हिजो सर्वाेच्चमा दायर गरेको रिटमा आज अन्तरिम आदेश आएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बीपी राजमार्गमा ३२ सिटे ठुला गाडी र १० टन भन्दा माथिका मालबाहक सवारी चलाउन दिने मन्त्री महासेठको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले नै गठन गरेको प्राविधिक समितिले दिएको प्रतिवेदनलाई लत्याउँदै मन्त्री महासेठले यातायात व्यवस्था विभागमा महानिर्देशक नभएको मौकामा गत जेठ १३ गते बीपी राजमार्गमा ३२ सिटे यात्रुबाहक र १० टन भन्दामाथिका मालबाहक सवारीलाई रुट इजाजत दिएका थिए । त्यसविरुद्ध दाहालले सर्वाेच्चमा दायर गरेको रिटमा आज अन्तरिम आदेश आएको हो ।