५५ दिनअघि विवाह गरेकी श्रीमतीको यस्तो याद आयो कि विमान चोरेर भागे सैनिक
प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार
सन् १९६९ मा शीतयुद्ध चरम स्थितीमा थियो । २३ वर्षका मेकानिक पल मेयर, यूनाइटेड स्टेट एयर फोर्स अर्थात् यूएसएएफको इंग्ल्याण्डस्थित बेसमा तैनाथ थिए ।
पलले बेसबाट एक हरक्यूलिस विमान चोरेर आफ्नो देश उडे । उडान भरेको केही घण्टापछि नै उक्त विमान अचानक रडारबाट गायब भयो ।
के उक्त विमान दुर्घटना भयो वा त्यसलाई खसालियो ?
सन् १९६९ मे २२ तारिखको राती पल निकै छट्पटाइरहेका थिए । उनी आफ्नी श्रीमती र सैतेनी छोराछोरीलाई अत्यधिक याद गरिरहेका थिए । केही दिन अघि उनले आफ्नो ट्रान्सफर अमेरिकाको भर्जिनिया गरिदिन आग्रह पनि गरेका थिए तर उनको उक्त आग्रह अस्विकार गरियो ।
उदास उनी आफ्नो एक साथीको पार्टीमा गए । त्यहाँ उनले अत्यधिक रक्सी पिए । उनका साथीका अनुसार रक्सी पिएपछि उनले निकै आक्रामक व्यवहार गर्न थाले ।
पलका साथीहरुले उनलाई ब्यारेक गएर सुत्न आग्रह गरे तर पल झ्यालबाट हाम फालेर भागे ।
पुलिसले उनलाई ए११ सडकमा जाँदै गरेको भेटे । उनलाई रक्सी पिएको र गलत व्यवहार गरेको भन्दै पक्राउ गरियो ।
पछि पुलिसले उनलाई ब्यारेकमा लिएर गए र सुत्नका लागि आग्रह गरे ।
तर पल मेयरको दिमागमा केही ठूलो कुरा चलिरहेको थियो ।
‘हनी, म घर आइरहेको छु’
पल एक क्याप्टेनको कोठामा छिरे र उनको ट्रकको साँचो चोरे । ‘क्याप्टेन एपस्टन’ को नाम लिएर पल मेयरले एयरक्राफ्ट कोओर्डिनेटरलाई फोन गरेर आफूलाई विमान – हरक्यूलिस ऋ(ज्ञघण् ट्रान्सपोर्ट शिप चाहिएको बताए । उनले कोओर्डिनेटरलाई अमेरिकासम्म जाने इन्धन पनि चाहिएको बताए ।
क्रुले आफ्ना वरिष्ठ अधिकारीको आदेशको पालना गरे । विमान पाएपछि नक्कली क्याप्टेन पलले विमान हाँके ।
२३ मे बिहान पाँच बजेर १० मिनेटमा युवा सैनिक ६० टन तौल भएको विमान लिएर उडे । पलले विमान उडाउने तालिम कहिले पनि लिएका थिएनन् ।
भर्जिनियमा मध्य रात थियो । त्यतिबेला मेरी एन ‘जेन’ को फोन बज्यो ।
मेरीले फोन उठाउने बित्तिकै उनका श्रीमानले निकै जोसिलो आवाजमा भने, ‘हाय हनी ! अनुमान गर, म कहाँ छु । म घर आउँदैछु । अहिले बाटोमा छु ।’
जेन निन्द्रामै थिइन् । उनले पललाई आफ्नो समूहसहित कहिले घर आइपुग्ने सोधिन् ।
त्यतिबेला पलले झट्ट उत्तर दिए, ‘म आफैं विमान उडाएर एक्लै घर आइरहेको छु ।’
यो सुनेर जेन चकित परिन् । ‘तिमी ? तिमीले विमान उडाइरहेको छौ ? हे भगवान !’
उक्त घटनाको पचास वर्ष पछि, मेरी एन जेन गुडसन (अब उनलाई यही नामले चिनिन्छ) भन्छिन् कि पलसँग त्यो दिन चलेको एक घण्टा लामो कुराकानी उनको दिमागमा आज पनि ताजा छ ।
मेरीलाई जब पल अनुमतीबिना आफ्नो बेसबाट निस्किएको र उनले एक हरक्युलिस विमान चोरेको थाहा भयो तब उनी पललाई फिर्ता हुनका लागि अनुनय बिन्ति गर्न थालिन् ।
पल यदि फर्किएनन् भने सेनाले उनलाई कडाभन्दा कडा सजायँ दिने पनि उनले चेतावनी दिइन् ।
पलले उनलाई अन्तिम पटक बोलको अहिले पनि याद भएको उनी बताउँछिन् ।
‘बेबी, म तिमीलाई पाँच मिनेटपछि फोन गर्छु । यहाँ केही समस्या देखिएको छ ।’
त्यसपछि फोन काटियो । त्यसको एक घण्टापछि पलको विमान दुर्घटनाग्रस्त भयो ।
के उनलाई हमला गरेर खसालिएको थियो ?
घटना भएको केही दिनपछि अलडरनी द्वीपको तटमा हरक्यूलिस विमानका केही भग्नावशेष भेटियो । जसमा लाइफबोट पनि भेटिएको थियो । तर मेकानिकको शव कहिले पनि भेटिएन ।
पलकी श्रीमती मेरी भन्छिन्, ‘एयरफोर्सको तर्फबाट मलाई कहिले पनि विमान दुर्घटनाग्रस्त भएको बताइएन । मैले एक टेलिग्राम पाएकी थिएँ जसमा लेखिएको थियो विमान हराएको छ … जुन बेला पलले मलाई समस्या भइरहेको बताए, मलाई लाग्छ कि उनलाई सेनाका अन्य विमानले घेरेर उनीमाथि हमला गरेर खसालेको हुनुपर्छ । मलाई विश्वास छ, उनले मलाई वास्तविक कुरा बताएका थिएनन् ।’
यूनाइटेड स्टेट एयर फोर्सको आधिकारिक रिपोर्ट अनुसार पल मेयरले विमान लिएर गएको केही समयपछि उनको मद्दतका लागि आरएएफको लेकनहीथ बेसबाट एफ–१०० फाइटर प्लेनसमेत दुईवटा विमान पठाइएको थियो ।
दुबै विमानले ‘पलसँग कुनै सम्पर्क स्थापित गर्न सकेनन् ।’
तर मेरीका अनुसार जब उनी आफ्ना श्रीमानसँग कुरा गरिरहेकी थिइन् त्यसको २० मिनेटपछि उनले लाइनमा अन्य दोस्रो व्यक्तिको आवाज सुनेकी थिइन् । ती व्यक्तिले पलसँग कुरा जारी राख्नका लागि आग्रह गरिरहेका थिए ता कि उनको लोकेशनबारे पत्ता लगाउन सकियोस् ।
तत्कालीन बेलायती डेप्युटी अधिकारीले सेनासँग यति ठूलो विमान सही समयमा ब्रिटिश र अमेरिकी रडारको पकडमा किन आएन भन्ने कुराको जवाफ मागे ।
यसको जवाफमा मिनिस्ट्रि अफ डिफेन्सका जोन मोरिसले पलले विमान लगेको केही मिनेट पछि नै अमेरिकाले आरएएफको एयर डिफेन्स अपरेशन्स सेन्टरलाई यसको जानकारी दिएको बताए ।
जोन मोरिसले ब्रिटिश संसदमा ब्रिटिश एयर ट्राफिक कन्ट्रोलरले आफ्नो रडारमा तीन मिनेटमा विमानलाई डिटेक्ट गरेको जानकारी दिएका थिए ।
जेनका अनुसार उनका श्रीमानले रडारको पकडबाट बच्नका लागि जानीजानी विमानलाई कम उचाईमा उडाइरहेको फोनमा बताएका थिए ।
उक्त घटनाका बेला हेनरी सात वर्षका थिए । उनलाई त्यो दिन राम्रोसँग याद छ जब आर्मीका एक अधिकारीले उनका सौतेनी बुवा हराएको खबर लिएर घर आएका थिए ।
त्यतिबेला उनकी आमा र सौतेनी बुवाको विवाह भएको ५५ दिनमात्र भएको थियो ।
हेनरी भन्छन्, ‘मलाई याद छ कि खबर सुनेलगत्तै मेरी आमा एक पुतलीजस्तै जमिनमा ढलेकी थिइन् ।’
‘पल निकै राम्र्रा व्यक्ति थिए । उनले हाम्रो परिवारलाई स्थिरता दिए । उनी आफ्नो उमेरभन्दा परिपक्व व्यक्ति थिए । हामीले उनीसँग विशेष पल बिताएका छौं ।’
तर अमेरिकाको आधिकारी रिपोर्ट अनुसार उनी अलग प्रकारका व्यक्ति थिए । रिपोर्टका अनुसार उनी भावनात्मक रुपमा निकै तनावमा थिए । उनी रुष्ट थिए किनभने उनले प्रोमोशन पाएका थिएनन् ।
हेनरीले केही दिन अघि दोस्रोपटक अमेरिकी अधिकारीसँग सम्पर्क गरे र घटनासँग जोडिएका थप जानकारी हाँसिल गर्ने कोसिस गरे ।
उनका अनुसार युएसएएफका वकिललाई दिइएको प्रमाण दुईपटक हराइसकेको छ र उनले फ्रिडम अफ इन्फर्मेशन एक्ट अनुसार यूएसएएफसँग जानकारी पनि मागे तर उनको यो निवेदनलाई सिआइए ट्रान्सफर गरियो ।
सीआइएले उक्त निवेदनलाई नजरअन्दाज गरे ।
मेरीका अनुसार पललाई हरक्यूलिस विमान उडाउन आउँदैनथ्यो । यस्तो अवस्थामा यदि विमान कुनै गाउँ, स्कूल वा अस्पतालमा खसेको भए एक भयानक दुर्घटना हुन सक्थ्यो ।
यूएसएएफले क्षतीलाई कम गर्ने उद्देश्यसहित यूएसएएफले पलको प्लेनलाई खसाल्ने अनुमती दिएको हुनसक्छ ।
मेरीका छोरा भन्छन्, ‘जे जति भयो, सरकारले हामीलाई सबै वास्तविकता बताउनुपर्छ ।’
पलले हरक्युलिस विमान उडाउने तालिम नलिएपनि उनी एक मेकानिक थिए त्यसकारण विमान बारे उनलाई अत्यधिक जानकारी थियो ।
दुर्घटना हुनुको कारण रक्सी भएको जानकारी दिँदै भनियो, ‘यदि कोही व्यक्ति नशा र निन्द्रामा छ भने उसले विमानको कन्ट्रोल गुमाउन सक्छ ।’
यसबारे उनका छोरा भन्छन्, ‘हो, यस्तो पक्कै हुनसक्छ । हुनसक्छ नशामा भएकाले राम्रोसँग नदेखेका कारण उनले नियन्त्रण गुमाएपछि विमान पानीमा खसेर बिस्फोट भयो ।’
‘तर जुन व्यक्तिले ९० मिनेटसम्म विमान उडाएका छन्, उनलाई तपाईं कसरी यस्तो भन्न सक्नुहुन्छ । म यो भन्दिनँ कि उनले राम्रो काम गरे । तर उनले यो पुष्टि गरे कि उनी एक पाइलट हुन् जसले विमान उडाउन सक्छन् । ’
यस्तो प्रकारको चकित पारिदिने घटनाबारे इन्टरनेटमा विभिन्न प्रकारको अफवाह लेखिएका छन् ।
केहीले विमानलाई सीआइएको भएकाले यसमा विभिन्न प्रकारको गोप्य दस्तावेज भएकाले यसलाई खसालिएको दाबी गरेका छन् ।
यस्तै, केहीले पल उक्त दुर्घटनामा बचेको र वर्षौंसम्म पूर्वी युरोपेली देशमा बसेको बताएका छन् ।
मेरी आज पनि त्यस दिन के भएको थियो त्यसबारे जान्ने कोसिस गरिरहेकी छिन् ।