हुम्लामा धार्मिक पर्यटकहरुकाे घुँइचाे, २५ दिनमा ३ हजार ४ सय ९ पर्यटक भित्रिए
प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार
हुम्लाको सिमकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु बढ्न थालेका छन् । सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि बैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु जेष्ठ २० गते सम्म ३ हजार बढी जिल्लामा भित्रिएका छन ।
पर्यटकहरु अाउनका लागि हवाई यातायात ब्यवस्था सहज भएकाे तथा मानसरोवर कैलाश जाने सिजन सुरु भएसंगै पर्यटकहरुको संख्या यति धेरै पुगेको र यो क्रम असोजसम्म जारी रहने सिमकोट बिमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक मदन शाहीले बताउनुभयो ।
आईतबारसम्म सिमकोट हुँदै मानसरोबर कैलाशका लागि धार्मिक यात्रा गर्ने पर्यटकहरुको संख्या ३ हजार ४ सय ९ पुगेको सिमकोट गाँउपालिकाको तर्फबाट बिमान स्थलमा आएका पर्यटकहरुको पर्यटन शुल्क उठाउने खटिएका धनरासी रोकायाको भनाई छ ।जसमध्ये ३ हजार ३ सय २९ जना भारतीय र अरु ८० जना तेस्रो मुलुकका पर्यटक भित्रिएको रोकायाले बताउनुभयो । गतबर्ष यहि समय सम्म १ हजार ६ सय ७७ मात्र मानसरोबर कैलाश दर्शनका लागि आएका थिए भने यसपाली यसको दाेब्बर भन्दा बढी मानसरोबर कैलाश दर्शनका लागि धार्मिक पर्यटक भित्रिएका छन ।
जिल्लामा धार्मिक पर्यटक आउने संख्या बढेसंगै एकै चोटी १ सय जना अटाउन सक्ने ठुल ठुला ४, ५ हाेटेल यो बर्ष मात्र बनेका छन । त्यो संगै सिमकोटमा पर्यटकहरुका लागि बास बस्न र खानाखाने स्तरीय होटेलको निर्माणले ठुलो सहयोग पुगेको र यसले पर्यटन क्षेत्रको प्रर्बद्धनमा होटेल ब्यबसायको ठुलो हात रहने बिजय होटेलका प्रमुख याङकी लामाले बताउनुभयो ।
पर्यटन क्षेत्रको बिकास र प्रर्बद्धनका लागि यस जिल्लाको एक मात्र यातायातको साधन हवाई यातायात र होटेल व्यवसायले महत्वपुर्ण भुमिका खेलेको छ। पर्यटकहरुको संख्यामा बृद्धि हुनुमा मुख्य त मानसरोवर कैलाश दर्शनका लागि हो भने त्यो संगै पर्यटकहरुका लागि सिमकोटमा बास बस्न र खाना खाने स्तरीय होटेलको निर्माण पनि पर्यटकको आकर्षणको पाटो रहेको हुम्ला होटेल ब्याबसायि संघका अध्यक्ष मिम लामाको भनाई छ ।
३ बर्ष अगाडी सम्म सिमकोटमा तीन देखि चार होटेल मात्र संचालन थिए जसले बाह्य तथा आन्तरिक पर्यटकलाई बासबस्न र खान समस्या हुने भए पनि अहिले भने घरघरमा होमस्टे संगै १४ वटा सुबिधा सम्पन्न होटेलहरु संचालन हुँदा पर्यटकलाई सहज भएको हुम्ला रिसोर्ट एण्ड स्पाका म्यानेजर पेमा लामाले बताउनुभयो।