दाङको तुलसीपुरमा मरेको मान्छे बचाउछु भन्ने पछि ……
प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार
मृतक दुर्गाका भाइ लोकराज लामिछानेले सर्पले डसेको थाहा पाउने वित्तिकै दिदीलाई मोटरसाईकलमा दौडाएर तुलसीपुर १२ जसपुरमा एक जना व्यक्तिबाट विष चुसाउन लगे।
एम्बुलेन्स नआउन्जेल विष चुसे पनि बिरामीको अवस्था झनै गम्भीर भएकाले दिदीको उपचारको लागि घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पाल पुर्याए। तर, अस्पताल पुर्याए लगतै चिकित्सकले दुर्गा लामिछानेलाई मृत घोषणा गरे।
झारफुक गर्ने वैद्य तथा गुरू (कथित सपेरा) भनाउँदाले अस्पतालले मृत्यु घोषणा गरेका व्यक्तिमा अझै प्राण छ भन्ने दाबी गरे। सर्पले टोकेका व्यक्तिलाई अस्पतालले मृत घोषणा गरे पनि २४ घन्टासम्म बचाउन सकिन्छ भन्ने जिकिर गरे।
त्यही विश्वासमा दुर्गाका पति र भाइ तथा आफन्त परे। त्यही विश्वासमा परेर दुर्गाका पति र आफन्त तथा उनका भाइ लोकराजले बिहीबार बिहान ९ बजेअघि नै अस्पतालले मृत्यु भइसकेको पुष्टि गरिएकी दुर्गाको उपचारको लागि भन्दै अन्तिम संस्कार गर्न तर्फ नलगी ‘मुर्दा’ (मरेको व्यक्ति) लाई थप उपचार गर्ने भन्दै छिमेकी जिल्ला कपिलवस्तुसम्म पुर्याए। त्यो सबै वैद्य वा गुरूवा भन्नेकै सल्लाह थियो।
दुर्गाका आफन्तलाई दाङको भालुवाङ तथा कपिलबस्तुसम्म पुर्याउँदा झारफुकमार्फत बचाउन सकिन्छ भन्ने विश्वास दिलाइएको थियो। त्यही विश्वासमा परेर आफन्तले दुर्गाको शवलाई घोराहीदेखि झन्डै एक डेससय किलोमिटर टाढा कपिलबस्तु जिल्लासम्म पुर्याए। तर, त्यहाँ वैद्य र गुरुवाहरुले भनेझैं झारफुक गर्ने मानिस भेटिएनन्। अन्त्यमा उनीहरुले मृतकलाई कपिलबस्तुको नेपाली सेनाको गणमा लगेर त्यहाँ पनि नेपाली सेनाका चिकित्सकले दुर्गाको पहिले नै मृत्यु भइसकेको पुष्टि गर्दै फर्काइदिए।
सर्पदंशबाट ज्यान गुमाएकी दुर्गाको घर तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ जमुनीमा पर्छ। दुर्गालाई त्यहाँ ल्याइपुर्याउँदा बिहीबार दिउँसो झन्डै पौने चार जति बजेको थियो। तर, फेरि स्थानीय केही झारफुके वैद्य र गुरूवाले दुर्गाको अन्तिम संस्कार गर्न रोक लगाए।
अन्तिम संस्कारको लागि तुलसीपुर १६ स्थित कालोखोला किनारमै दुर्गाको शव लगिए पनि त्यही उपचार गरेर बचाउँछौं भन्ने दाबी गरे।
परिवारजन तथा आफन्तले पनि त्यो दाबीलाई नकार्न सकेनन्। त्यसपछि जिल्लाका विभिन्न स्थानबाट नामुद भनिएका वैद्य, धामी, गुरूवाको जमघट खोलामै भयो। मुर्दाको उपचार हुँदैछ भन्ने सुनेपछि कालोखोलाको किनारमा रातिनै त्यहाँ पुग्ने मानिसको संख्या ठूलो थियो। व्यर्थैको उपचार प्रयास भइरहँदा कतिपयले बेकारको प्रयास नगर्न सुझाए पनि त्यो रोकिएन।
मृतक दुर्गा लामिछानेलाई जीवत तुल्याउन व्यर्थैको भ्रम युक्त प्रयास सफल हुनै कुरै थिएन। अन्ततः उनको शुक्रबार बिहान तुलसीपुर १६ स्थित कालोखोला किनारमा अन्तिम संस्कार गरिएको भाइ लोकराज लामिछानेले जानकारी दिए।