पोर्तुगल काँग्रेस निकट जनसम्पर्कको अधिवेशन जुलाई २२ मा, बढ्न थाल्यो आकाङ्क्षीको संख्या
प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार
नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन जुलाई २२ का दिन जिनाजियो हलमा हुने भएको छ । अधिवेशन सम्पन्न गर्न अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा २२१ सदस्यीय मूल आयोजक समिति र ७ वटा उपसमितिहरु पनि गठन भएका छन् ।
७ मे का दिन जनसम्पर्क समितिले प्रकाशन गरेको सूचनामा नेपालबाट शशांक कोईराला, प्रदिप गिरी, विश्वप्रकाश शर्मा र नगेन्द्रकुमार कुमाल अतिथिका रुपमा आउने जनाएको थियो । पछिल्लो सूचनामा भने समिति अतिथिकाबारे मौन छ ।
को को छन् अध्यक्षका दाबेदार ?
अहिलेसम्म सुशील शर्मा गैरे, बिनोद घिमिरे र राजकुमार गौतमले अध्यक्षका लागि उम्मेदवारी दिने बताएका छन् । यी तीन आकाङ्क्षीभन्दा फरक व्यक्तिहरुले पनि अध्यक्षमा दावी गर्न सक्ने सम्भावना छ । उपाध्यक्षका लागि चाहि दर्जनौले इच्छा प्रकट गरिसकेका छन् ।
महामन्त्रीमा उम्मेदवारी दिन तम्सनेहरु
पोर्तुगलमा राजनीतिक दलका भातृ सङ्गठनहरुमा सबैभन्दा मजबुत मानिएको नेपाली जनसम्पर्क समितिको अध्यक्षपछिको अर्को आकर्षणको पद महामन्त्री हो । महामन्त्रीमा अहिलेसम्म दामोदर सुबेदी, सुनिल सँगम, बैकुण्ठ गौतम र जय सापकोटाले आफ्नो पक्षमा निर्णय गराउन छलफल चलाएका छन् ।
तर जनसम्पर्क समितिले बिपी कोइरालाको नामबाट प्रेसित अधिवेशन आयोजक समितिको सूचीमा एनआरएन उपाध्यक्षहरु तिलक गैरे, शरदचन्द्र शाही, बिष्णु लुइँटेल, नारायणकाजी मगर, कमल गुरुङ, सदस्यहरु विक्रमजङ कुँवर, रोशनकाजी थापा, प्रकाश कँडरिया, वकिल केसी, रविन अधिकारी, राजकुमार मल्ल समावेश छन् ।
पर्यटनदूत रमेशकुमार गुरुङ, नारी समाजकी अध्यक्ष सीता बराल, महासचिव मीनामाया खरेल, जनजाती महासंघका उपाध्यक्ष अगमसिंह तामाङ, तमु समाजका अध्यक्ष राजकुमार गुरुङ, तामाङ समाजकी कोषाध्यक्ष जानकी लामा, नवलपुर समाजका अध्यक्ष जय सापकोटा, अबैतनिक बाणिज्यदूतावासका अशोक घिमिरे र मोहनकुमार थापा पनि काँग्रेसी आयोजक बनेका छन् ।
एकजना युवकले फेसबुकमा लेखेका छन् : ‘काँग्रेसै रहन मन भए किन सामाजिक र जातिय संस्थामा पद ओगट्छन् यिनीहरु ? राजनीतिज्ञ कि समाजका ठूलाबडा ?’ राजनीतिक कार्यकर्ता बन्न चाहनेले सामाजिक र जातिय संस्थामा पद ओगट्न नहुने उनको तर्कमा दम र ओजन छ ।
यो पनि सुधार गरे राम्रो हुन्थ्यो जनसम्पर्कले ।
आयोजक समिति धेरै संख्याको देखाएर ठूलो सङ्गठनको दम्भ देखाउन सबैलाई रहर त हुन्छ नै ! तर पोर्तुगल छोडिसकेकाहरुको नाम लिष्टमा राखेर त्यत्ति सुहाएको छैन ।
लिष्टका कैयन नामहरु मुक्तिनारायण श्रेष्ठ, भानु सापकोटा, खेमराज रानाभाट, हेमन्त सेढाईलगायत दर्जनौ काँग्रेस समर्थकहरु पोर्तुगलभन्दा बाहिर छन् । तर संख्या देखाउनकै लागि आयोजक समितिमा नाम समावेश छ ।
अधिवेशनका बेला मानौ यी बाहिरका समर्थकहरु पोर्तुगलमा आए । सदस्यता नवीकरण भयो भने मतदानमा विवाद पनि हुन सक्छ । जनसम्पर्कले यसलाई सुधार गरे राम्रो हुनेछ ।