स्तरोन्नति हुने पालाे अब मुग्लिन–नौबिसे खण्डकाे, त्रिशूलीपारि २८ किमि सडक बनाइने


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने ‘लाइफ-लाइन’का रुपमा रहेको यस सडकलाई सहज बनाउन स्तराेन्नतिमा जाेड दिइएकाे हाे ।

मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारि पनि सडक बनाइने भएको छ । सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार अहिले सडक रहेको क्षेत्रको पारिपट्टि २८ किलोमिटर सडक बनाइने छ ।

मुग्लिनदेखि नौबिसेसम्मको दूरी ९६ किलोमिटर छ । अग्ला र कडा चट्टान भएको क्षेत्रमा पारिपट्टिबाट सडक निर्माण गर्न लागिएको हो । तीन ठाउँबाट नदी पार गरी सडकमा जोडी दिइने छ ।

श्रेष्ठका अनुसार सो सडकको विस्तृत अध्ययन भई अर्थमन्त्रालयमार्फत बजेटका लागि विश्व बैंकमा पठाइएको छ । अध्ययन पनि विश्व बैंकका प्राविधिक समूहले गरेको हो ।

यो सडक निर्माणका लागि विश्व बैंक सकारात्मक रहेकाले छ-सात महिनाभित्रमा सडक निर्माणका लागि बजेटको टुंगो लाग्ने अनुमान छ । उक्त सडक निर्माणका लागि झण्डै रु २३ अर्ब खर्च हुने प्रारम्भिक अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

साढे तीन वर्ष लाग्ने

काम शुरु भएको साढे तीन वर्षभित्र सक्ने गरी काम स्तराेन्नतिकाे तयारी गरिएको छ । वारिपट्टिको सडकले चितवन र धादिङ हुँदै काठमाडौँ जोड्द छ भने पारिपट्टि गोर्खा, धादिङ हुँदै काठमाडौँ जोडिन्छ ।

वैदेशिक महाशाखा प्रमुख श्रेष्ठका अनुसार सिस्ने खोलाबाट टुटीपाखासम्मको भागमा २ दशमलव ७ किलोमिटर लामो सुरुङ मार्ग बनाइने छ । अहिले गरिएको अध्ययनअनुसार सडक सम्पन्न हुँदा आठ किलोमिटर छोटो हुने र २० मिनेट समय कम लाग्ने उहाँले बताउनुभयो । हाल सो सडकमा एउटा गाडी बिग्रँदा सडक अवरुद्ध हुने गरेको छ ।

सडकको स्तरोन्नति भएसँगै एउटा गाडी बाटोमा बिग्रँदासमेत दोहोरो आवतजावत गर्न सक्नेछन् । हाल सो सडक सात मिटर फराकिलो छ । गाडी बिग्रँदा पनि दोहोरो सवारी गुड्न नौ मिटर फराकिलो सडक चाहिन्छ ।

नारायणगढ-मुग्लिन सडकको स्तरोन्नति गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । यो सडक स्तरोन्नति भएसँगै सवारी चाप मुग्लिन-नौबिसे सडकमा बढी पर्ने छ । सो सडक पनि स्तरोन्नति गर्दा राजधानी काठमाडौँ जाने आउने सवारीलाई सहज हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com