७ नम्बर प्रदेशको बजेट २५ अर्ब रुपैयाँ ल्याउने तयारी
प्रकाशित मिति : असार १, २०७५ शुक्रबार
७ नम्बर प्रदेशमा आगामि आर्थिक वर्ष २०७५–२०७६ का लागि प्रदेश सरकारले २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी छ । केन्द्रीय सरकारबाट मात्र प्रदेशका लागि २१ अर्ब १ करोड ९२ लाख बराबरको सिलिंग आएको छ ।
यसमा प्रदेश सरकारको राजश्व र केन्द्र सरकारको शोधभर्ना समेत गरि प्रदेशको बजेट २५ अर्बको हाराहारीमा पुग्ने देखिएको हो ।
बजेटको पूर्व सन्ध्यामा विहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री वोहोराले आगामि बजेटले समृद्धिको आधार तय गर्ने बताउनुभयो । देश संघीयता पछि पहिलो पटक प्रदेशस्तरमा आउने बजेटमा पूर्वाधार निमार्ण र कृषि पहिलो प्राथमिकता पर्ने जनाइएको छ ।
उहाँले प्रदेश सरकारले ल्याउने बजेट महत्वकांक्षी नहुने कुरामा जनतालाई विश्वस्त हुन आग्रह समेत गर्नुभयो । मानव विकास सूचकांकमा पछाडि परेका यस प्रदेशका पाँच जिल्ला तथा खाद्यान्न समस्या सामाधान र उपभोग्य खाद्य सामग्री सहुलियत दरमा उपलब्ध गराउने जस्ता कार्यक्रमहरु बजेटले समेट्ने जनाएको छ ।
बजेटले प्रदेशका युवाको खेलकुद आकर्षण र मोहलाई पनि सम्बोधन गर्ने जनाइएको छ । प्रदेश अर्थमन्त्री वोहराका अनुसार प्रदेश सरकारले खेलकुद, खेलाडी र खेल रंगशालाको विकासमा जोड दिने छ । प्रदेश सरकारले भने जनअपेक्षा सम्बोधन गर्न बजेट पूर्ण सफल हुने दावी गरेको छ ।