डाक्टर देवकोटाकी अन्तिम बिरामी भन्छिन् : मसहित धेरैलाई बचाउनुभयो, उहाँलाई बचाउने कोही भएन


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

आफ्नो चिकित्सा पेशाको क्रममा स्नायु शल्यचिकित्सक डाक्टर उपेन्द्र देवकोटाले लाखौं बिरामी जाँच्नुभयो । डाक्टर देवकोटा आफूले झण्डै ७ लाख बिरामीको उपचार गरेको बताउनु भएको थियो । ३४ हजार बढीको त उहाँले शल्यक्रिया नै गर्नुभयो ।

एसियाकै अब्बल मानिने डाक्टर देवकोटा बिरामी जाँच र उपचारका सिलसिलामा विश्वका धेरै अस्पताल पुग्नुभयो । तर संयोग, उहाँको ४ दशक लामो चिकित्सा पेशाको अन्तिम बिरामी भने आफ्नै पुख्र्यौली थलो गोरखा पालुङटारकी १३ वर्षीया राधिका बस्नेत भइन् । पालुङटारकै भवानी माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्ने राधिका कात्तिकमा बेहोश भएर बाथरुममै ढलिन् ।

यसअघि पनि टाउको पोल्यो भन्दै टाउकोमा पानी छम्किरहने गरेकाले परिवार आत्तिए । नजिकको मेडिकलमा जचाउँदा उनलाई न्यूरो सम्बन्धी समस्या भएको हुन सक्ने अनुमान गरियो । न्यूरो भन्नासाथ देशभरका बिरामी र तिनका आफन्तले सबैभन्दा पहिले सम्झिने नाम एउटै थियो, उपेन्द्र देवकोटा । त्यसमाथि एउटै नगरपालिकाको बासिन्दा मात्रै होइन, उपेन्द्रको पुख्र्यौली थलो बोहोरागाउँ र राधिकाको घर ठाँटीपोखरी आधा घण्टाको दूरीमा मात्रै पर्छ । राधिकाका बुवा इश्वर बस्नेतले छिमेकीहरुबाट देवकोटाको नम्बर पत्ता लगाएर फोन गर्नुभयो । भेट्ने सल्लाह भयो, छोरीलाई लिएर काठमाडौं हान्निनुभयो । ‘

उहाँ आफैं बिरामी भएर घरमा आराम गरिरहनु भएको रहेछ’, चितवनबाट देवकोटालाई श्रद्धाञ्जली दिन काठमाडौं जाँदै गरेका इश्वरले भन्नुभयो । इश्वरले टेलिफोनमा उज्यालोसँग भन्नुभयो, ‘एक दुई दिन आराम गर्छु, अनि मेरै हातले नानीको अप्रेशन गर्छु भन्नुभयो ।’ यसो भनिरहँदा इश्वरको गला अवरुद्ध भएको उहाँको आवाजबाटै महसुस हुन्थ्यो । मंसिर एक गते उपेन्द्रले सञ्चालन गरेको न्यूरो अस्पतालमा राधिकाको ब्रेन ट्युमरको शल्यक्रिया भयो । लगत्तै उपेन्द्र चुनाव प्रचारका सिलसिलामा गोरखा आउनुभयो । वाम गठवन्धनका उम्मेद्वारको पक्षमा भोट माग्दै निर्वाचन क्षेत्र नम्वर २ का केही चुनावीसभामा सम्बोधन पनि गर्नुभयो । त्यसपछि काठमाडौं फर्किएका उहाँ बिरामी पर्नुभयो, लगत्तै उपचारका लागि बेलायत जानुभयो ।

सञ्चारमाध्यमहरुमा उहाँलाई पित्तथैलीको क्यान्सर भएको चर्चा आउन थालिसकेको थियो । निको नहुने रोग लागेका उपेन्द्र जीवनका अन्तिम क्षणहरु स्वदेशमै बिताउने अठोटसहित काठमाडौं फर्किनुभयो । इश्वर छोरी राधिकालाई लिएर न्यूरो अस्पताल जानुभयो, उपेन्द्रलाई भेट्नुभयो । धेरैजसोले हठी र घमण्डी भनेर टिप्पणी गर्ने उपेन्द्रले छोरीप्रति देखाएको स्नेहभाव सम्झँदै इश्वर टेलिफोनमै फेरि भक्कानिनुभयो ।

‘आफू बिरामी हुँदा पनि…’ एकछिन गला अवरुद्ध पार्दै इश्वरले भन्नुभयो, ‘आफू जीवन मरणको दोसाँधमा हुँदा पनि मेरो छोरीलाई अहिले तिमीलाई कस्तो छ भनेर सोध्नुभयो ।’ त्यो भेटपछि बस्नेत परिवार दोस्रो पटक पनि देवकोटालाई भेट्न अस्पताल पुग्यो, तर उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । पुख्र्यौली थलो पालुङटार बोहोरागाउँ पुग्ने र घरछेउको सिस्नेपानी धाराको पानी पिउने इच्छा अनुसार जेठ २६ गते गोरखा ल्याइयो । त्यतिबेला पनि देवकोटालाई भेट्न राधिका र इश्वर हेलिप्याडसम्मै पुगेका थिए ।

देवकोटासँगको कुराकानी राधिकाले यसरी सम्झिन्छिन्, ‘राम्रोसँग पढ, अनि मजस्तै डाक्टर बन्नुपर्छ है भन्नुभयो ।’

सोमबार साँझ उपेन्द्रको निधन भएको खबर सुनेयता राधिकाका आँखा ओभाएका छैनन् । बिहान जसोतसो विद्यालय पुग्दा त्यहाँ पनि शोकको अवस्था थियो । २०२६ सालमा प्रवेशिका परीक्षा दिएपछिको फर्सदिलो समयमा झण्डै ४ महिना उपेन्द्रले अहिले मावि बनेको भवानी प्राथमिक विद्यालयमा ४ महिनासम्म पढाउनुभएको रहेछ । ‘विद्यालयको आजको प्रार्थना नै शोकसभामा बदलियो, अनि एक दिनका लागि बिदा गर्‍यौँ’, शिक्षक चेतनाथ पन्तले भन्नुभयो, ‘राधिका पनि आएकी थिइन् रे, शोकसभा चल्दाचल्दै रुँदै घर फर्किइन् भन्ने पछि थाहा भयो ।’

गएकाे वर्ष ब्रेन ट्युमरको बिरामी भएका कारण यस वर्ष दोहोर्‍याएर ७ कक्षामै पढ्दै गरेकी राधिकालाई जीवनमा जन्मेपछि एक दिन मर्नुपर्छ भन्ने थाहा छ । सायद भगवानसँग हुनुपर्छ, उनको एउटै गुनासो छ, ‘मसहित कैयौंलाई उहाँले बचाउनुभयो, तर उहाँलाई बचाउने कोही भएन ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com