आइसल्याण्डविरुद्ध नाइजेरियाको २ गोल, फाइदा भने अर्जेन्टिनालाई
प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार
विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ ।
यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइसल्याण्डको नतिजामा पनि भर पर्नुपर्छ ।
क्रोएसियाले आइसल्याण्डलाई हराएमा वा बराबरी खेलेमा अर्जेन्टिना अर्को चरणमा पुग्नेछ ।२ खेलबाट ६ अंक जोडेको क्रोएसिया समूहको शीर्ष स्थानमा रहँदा आजको जितसँगै नाइजेरिया ३ अंकसहित दोस्रो तथा एक एक अंक जोडेका आइसल्याण्ड र अर्जेन्टिना क्रमसः तेस्रो र चौथो स्थानमा छन् ।शुक्रबारको खेलमा आइसल्याण्डले पहिलो हाफ गोलरहित बराबरीमै रोकेको थियो ।
तर, दोस्रो हाफमा भने बढी आक्रामद देखिएको नाइजेरियाले २ गोल गर्न सफल भयो बलियो रक्षापंक्तिलाई चिर्दै दुवै गोल अहमद मुसाले गरेका थिए ।४९औं मिनेटमा मुसाले हाफ भली गोलमार्फत अग्रता दिलाएका थिए भने ७५औं मिनेटमा किपरसमेत बिट भइसकेको अवस्थामा सहज गोल गरेका थिए ।
८२औं मिनेटमा आइसल्याण्डले पाएको पेनाल्टी अवसरमा स्ट्राइकर जिल्फी सिगर्डसन चुकेपछि उसको २–० को हार निश्चित भयो ।