यातायात व्यवस्था विभाग रहस्यमय रुपमा मौन,सडकमा पाँच हजार नक्कली स्मार्ट लाइसेन्सधारी
प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार
काठमाडौंका व्यस्त सडकदेखि देशका डरलाग्दा भिरपाखामा यात्रु बोकेर जोखिमपूर्ण यात्रा गर्ने चालकको लाइसेन्स नक्कली भए दुर्घटनाको जिम्मेबारी कसले लिने?
उमेरले ३० ननाघेका ती चालक नक्कली स्मार्ट लाईसेन्सका भरमा संयौं यात्रु बोकेर गन्तब्य तय गरिरहेका छन्। अनुभव र क्षमता न्यून भएका त्यस्ता ५ हजार चालक यतिबेला ठुला सवारीसाधनको ‘स्टेरिङ’ समातेर सवारीसाधन हुँइकाइरहेका हुन्।
यातायात व्यवस्था विभागले पाँच हजारभन्दा बढी नक्कली स्मार्ट लाइसेन्स बाहिरिएको आशंकासहित गोप्य अनुसन्धान गरिरहेको छ। विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले गत वैशाखमा स्मार्ट लाईसेन्स छाप्ने मद्रास सेक्युरिटी प्रिन्टर्स प्रालि (एमएसपी) का उच्च अधिकारीसँगको सहकार्यमा अनुसन्धान सुरु गरेका थिए। तर मन्त्री रघुवीर महासेठले उनलार्इ फाजिलमा सरूवा गरिदिएका छन्। नक्कली स्मार्ट लाइसेन्सकाे छानवीन यातायात व्यवस्था विभाग रहस्यमय रूपमा माैन देखिएकाे छ।
भट्टरार्इ विभागमा रहँदा २०७४ को साउनदेखि पुसबीचमा पाँचहजार नक्कली स्मार्ट लाइसेन्सको अनुसन्धान थालेका थिए। नेपाल सरकार र एमएसपीको रेर्कड फरक देखिएपछि अनुसन्धान सुरू भएकाे थियाे। अनुसन्धान जारी रहेकै बेला मन्त्री रघुवीर महासेठले उनलार्इ जिम्मेवारीबाट हटाएका थिए।
असारको अन्तिम सातापछि प्रहरीले ५ नक्कली स्मार्ट लाइसेन्स काठमाडौंबाट बरामद गरेपछि नक्कली स्मार्ट लाइसेन्सकाे धन्दाको आशंकालाई बल पुगेको हो। ‘हामीले कार्यालय, विभाग र लाइसेन्स छाप्ने एमएसपीको रेर्कड भिडाउँदा पाँच हजार फरक अंक पाएका थियौं। मैले अनुसन्धान सुरु गरेको थिएँ। म बाहिरिएपछि के भयो थाह छैन,’ यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयमा फाजिल राखिएका सहसचिव भट्टराईले नेपालखबरसँग भने।
विभाग स्रोतका अनुसार ट्रायल नै नदिएका चालकलाई लाइसेन्स वितरण र नक्कली स्मार्ट लाइसेन्सका विषयमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार भएको छ। आयोगले ट्रायल नदिई लाईसेन्स वितरण प्रकरणमा महाशाखाका सई श्रीराम तिवारीसहित बिचौलिया र यातायात कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ‘डिजी सरले आयोगमा घिमिरे (कामू प्रमुख आयुक्त नविन घिमिरे) सरलाई नै फाइल दिनु भएको हो। विभागमा त्यसपछि सो विषयमा केही सोधखोज भएको छैन,’ स्रोतले भन्यो।
एमएसपी जोगाउन चलखेल
भारतमा बदमासी गरेका कारण त्यहाँको सरकारले प्रतिबन्ध लगाएको मद्रास सेक्युरिटी प्रिन्टर्सलाई नक्कली स्मार्ट लाइसेन्स प्रकरणमा जोगाउन चलखेल भइरहेको स्रोतले जनाएको छ। एमएसपीले विशेष चिप्स भएको र नक्कली छाप्न असम्भव रहेको दाबीसहित ठेक्का हात पारेको थियो। तर प्रहरीले एमएसपीकै छपाइको हुबहु चिप्ससहितका लाइसेन्स बरामद गरेपछि अप्ठेरोमा परेको थियो।
विभागले नै आफ्ना चारजना अधिकारी र एमएसपीका नेपाली तथा भारतीय अधिकारीलाई शंकाको घेरामा राखेर अनुसन्धान थालेको थियो। यस प्रकरणमा एमएसपीको केन्द्रीय कार्यालयका अधिकारीसँग विभागले समन्वयन गरिरहेका बेला यातायात तथा भौतिक निर्माण मन्त्री रघुवीर महासेठले महानिर्देशक भट्टराईलाई फिर्ता बोलाउनु उनले गरिरहेको अनुसन्धान समेत एउटा कारण भएको स्रोतले बतायो।
विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहसँग यस बिषयमा बुझ्नका लागि पटक–पटक फोन र एसएमएस गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्। भारतीय कम्पनी एमएसपीले मंसिर २०७२ देखि स्मार्ट लाईसेन्स छापिरहेको हो।
प्रहरीले नक्कली स्मार्ट लाइसेन्स बोकेर चक्रपथमा गुडने बा ५ ख २८५४ नम्बरको बस हाकिरहेका चक्र नेपालीलाई असार २९ मा नियन्त्रणमा लिएको थियो। ललितपुर ट्राफिकले इमाडोलबाट नियन्त्रणमा लिएका नेपालीले बोकेको स्मार्ट लाइसेन्स नक्कली भएको खुट्टयाउन कठिन छ। ट्राफिक प्रहरीले अवधि नपुग्दै ठुलो सवारीसाधन हाँकेको आधारमा नियन्त्रणमा लिएका नेपालीले बोकेको लाइसेन्स नम्बरमै अर्को लाईसेन्स जारी भएको भेटेपछि प्रहरीले कारवाही थालेको थियो।
वृत्त सातदोबाटोको हिरासतमा रहेका नेपालीले बोकेको नक्कली लाइसेन्समा उनलाई मोटरसाईकल, कार र ट्रक, बस र लहरी चलाउन अनुमति दिइएको छ। कालिकोटबाट नागरिकता लिएका उनी भर्खर २५ वर्ष छन्। उनीसँग ए, बि र जी क्याटोगरीमा राखिएका सवारीसाधन हाक्ने अनुमति पत्र थियो।
नेपालीले प्रहरीमा दिएको बयानमा स्वयम्भू ठूलो ङ बस्ने एक ब्यक्तिसँग ८० हजार रुपैयाँमा खरिद गरेको बताएका छन्। उनले सबै विवरण र फोटो दिएको एक सातामा चिप्ससहितको नक्कली स्मार्ट लाइसेन्स प्राप्त गरेका थिए। अनुसन्धानमा उनको लाईसेन्स नम्बर ०१–०६–००२६१५७४ मा पहिले नै बिष्णु महर्जनका नाममा लाइसेन्स जारी भइसकेको भेटिएको हो।
ललितपुर ट्राफिकले असार ३१ मा सातदोबाटोबाट नियन्त्रणमा लिएका २२ वर्षे प्रविन स्याङतान मालबाहक मिनी ट्रक चलाइरहँदा समातिएका थिए। प्रहरीले बा ४ ख ७१२९ नम्बरको मिनी ट्रक चालक स्याङतानले कार जीप र बस, ट्रक र लहरी (बि र जी) हाँक्ने अनुमति पाएका थिए। सरकारी छाप किर्ते दस्तखतमा म्याद लिएर नेपालीसँगै हिरासतमा रहेका स्याङतानले पनि विवरण दिएको एक सातामा नक्कली स्मार्ट लाईसेन्स हात पारेका हुन्।
उनले बोकेको ०१–०६–००२८४२२९ नम्बरको लाईसेन्स सम्झना डंगोलका नाममा यातायात व्यवस्था कार्यालय बाग्मतीले जारी गरेको भेटिएको हो। यस्तै ललितपुरबाटै ट्राफिक नियम उलंघन गरेपछि नियन्त्रणमा लिएको बुद्ध बहादुर कामीको स्मार्ट लाइसेन्स समेत नक्कली भेटिएको छ। लाईसेन्स लिन नआएका उनको प्रहरीले खोजी गरिरहेको छ। लाईसेन्स नम्बर ०१–०६–००२४८७५९ रहेको सो लाईसेन्समा बि, एफ र जी क्याटोगरीका सवारी हाक्न अनुमति दिईएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बरामद गरेका थप दुई स्मार्ट लाइसेन्सका बिषयमा यतिबेला महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।
ललितपुर प्रहरीले बरामद गरेका तीनवटै नक्कली स्मार्ट लाइसेन्समा जारीगर्ने ब्यक्तिको हस्ताक्षर एउटै रहेको छ। यस्तै तीनवटै लाईसेन्स नयाँ हुन्। तर प्रविन स्याङतानको जारी मिति एमएसपीले छपाई थाल्नु अघिको राखिएको छ।
‘सुरुमा छापेका लाइसेन्समा पछिल्लो भागमा क्याटोगरी थिएन, बरामद तीनवटै लाइसेन्स नयाँ हुन्’, अनुसन्धान गरिरहेका एक अधिकारीले भने।
उपकरण नै दिएन भारतीय कम्पनीले
एमएसपीले पूर्व शर्त अनुसार लाइसेन्स छापेको तीनवर्ष बढी भैसक्दा समेत प्रहरीलाई आवश्यक उपकरण उपलब्ध गराएको छैन। सम्झौताअनुसार स्मार्ट लाइसेन्स रिड गर्ने मेसिन प्रहरीलाई उपलब्ध नभएको हो।
सडकमा लाइसेन्स चेकजाँचका लागि खटिने प्रहरीले स्मार्ट लाइसेन्स कुन नक्कली कुन सक्कली खुट्याउन कठिन छ।
‘हामीले शंका लागेमा लाइसेन्सका विषयमा यातायात कार्यालय र विभागमा सोधखोज गछौं,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले नेपालखबरसँग भने। उनका अनुसार मेसिन भए स्मार्ट लाइसेन्समा भएको चिप्सका आधारमा लाइसेन्सधारीका विषयमा विस्तृत विवरण आउछ।
ट्राफिक जाँचमा कडाई
एकपछि अर्को नक्कली स्मार्ट लाईसेन्स भेटिन थालेपछि ट्राफिक महाशाखाले चेकजाँचमा कडाई गर्न थालेको छ। नक्कली स्मार्ट लाईसेन्सका बिषयमा अनुसन्धान गरिरहेको महाशाखाले समेत बिक्री वितरणमा संलग्नको खोजी गरिरहेको हो।
महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले काठमाडौं उपत्यकामा स्मार्ट लाइसेन्स समेत नक्कली फेला परेकाले अपराध महाशाखा समेतको सहयोगमा अनुसन्धान गरिरहेको बताए।
‘नक्कली स्मार्ट लाइसेन्स भेटिएपछि विक्री वितरणमा संलग्नहरुको खोजी गरिरहेका छौं, दुई थान लाइसेन्स र पक्राउ ब्यक्तिलाई अपराध महाशाखामा बुझाएका हौं,’ एसएसपी पन्तले भने।