काँग्रेसले सरकारविरुद्ध भोलिदेखि देश भर प्रर्दशन गर्ने
प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँके शाखाले मंगलवार नेपालगन्जमा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयको साउन १५ गते सबै जिल्ला सदरमुकामहरुमा सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय अनुसार बाँकेको नेपालगन्जमा पनि विरोध प्रदर्शन गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कार्य समिति बाँकेले जनाएको छ ।
जिल्ला कार्यसमिति बाँकेले सोमवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि आफ््नो विरोध कार्यक्रम बारे जानकारी गराएका थिए । सरकार अधिनायकबादतर्फ उन्मुख भएकाले आफूहरुले आन्दोलन थालेको बाँके शाखाका सभापति किरण कोइरालाले बताउनुभयो ।
लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अघि बढ्नुको साटो कानुनी शासनको खिल्ली उडाउँदै सरकार मनोमानी ढंगले चलेको कोइरालाले आरोप लागउनु भयो ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा सरकार अधिनायकबादी एवम् जनविरोधी क्रियाकलापहरुमा अग्रसर भएको, मूल्यबृद्धि आकासिएको, जनतामाथि कर थोपर्ने काम भएको, मन्त्रीहरुले गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिँदै हिँडेको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने लगायतका क्रियाकलापमा अग्रसर भएर लोकतन्त्रको अपमान गरेकाले लोकतन्त्र र जनताको पक्षमा आन्दोलन थालेको उल्लेख गरिएको थियो ।
कांग्रेस सभापति शेर बहादुर देउबा नेतृत्वको पूर्ववर्ति सरकारले गरेका निर्णयहरु वर्तमान सरकारले उल्टाएकाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।