तारे होटलमा किन अनुगमन हुँदैन ?


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

सरकारले अन्यत्र अनुगमन गर्ने गरे पनि ठूला र तारे होटलमा बिरलै अनुगमन गर्ने गरेको छ । सरकारले खुद्रा पसलका साथै मध्यम खालका होटलमा भने बर्सेनि अनुगमन गर्ने गरेको पाइन्छ।

तारे होटलमा खानाको गुणस्तर, खाद्यान्न भण्डार, भान्छामा प्रयोग भएका कच्चा पदार्थ लगायत विषयमा अनुगमन भएको पाइँदैन । बर्खा र कर्मचारी सरुवाका कारण सुस्त रहेको बजार अनुगमन पछिल्लो समय सक्रिय भएको छ । तर यो खुद्रा व्यवसाय, पसलमा सीमित छ, ठूला होटलमा अनुगमन भएको छैन।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन अनुगमन भन्नेबित्तिकै आपूर्ति विभागलाई जिम्मा लगाउनु नहुने बताउँछन् । ‘बजारमा विभिन्न व्यवसाय र उद्योग छन् । व्यवसाय अनुसार अनुमति दिने फरकफरक निकाय हुन्छन्,’ महानिर्देशक गौचनले भने, ‘तर हरेक चिजको गुणस्तर र अनुगमनलाई लिएर आपूर्ति विभागमा गुनासो आउँछ । यो भ्रम हो । व्यवसायसँग सम्बन्धित निकायले अनुगमन गर्नुपर्छ।’

उनका अनुसार ठूला होटललाई लाइसेन्स दिने कम्पनी रजिस्ट्रारको कार्यालयको साथै पर्यटनसँग सम्बन्धित निकाय पर्यटन विभागले अनुगमन गर्नुपर्ने महानिर्देशक गौचनको भनाइ छ । ‘सामूहिक अनुगमनमा आपूर्ति विभाग सक्रिय सहभागी हुन्छ,’ उनले भने, ‘अहिले पनि अनुगमन गरिरहेका छौं । सम्बद्ध निकायसँग समन्वय गरेर ठूला होटलमा पनि अनुगमनको प्रयास गर्नेछौं।’

‘ठूला होटलको खानेकुरामा प्रयोग गरेको टेस्टिङ पाउडर, मसलेदार खाना र अजिनो मोटोको विषयमा आम उपभोक्ताले जानकारी पाउन सकेका छैनन् । होटलको भान्छामा प्रयोग भएका कच्चा पदार्थको स्रोतको विषयमा समेत जानकारी हुँदैन,’ मञ्चका अध्यक्ष तिमल्सिनाले भने, ‘ठूला होटलमा प्रयोग हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाद्य वस्तुको गुणस्तर परीक्षण, पानीको स्रोतको अनुगमन गर्न जरुरी छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com