मिस्टर मोडल अफ द वल्र्डमा भाग लिन नेपालको झण्डा बोकेर दिक्पाल म्यानमारतिर
प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार
भोलिदेखि सुरु हुने मिस्टर मोडल अफ द वल्र्ड २०१८ मा भाग लिन नेपालको झण्डा बोकेर चर्चित मोडल दिक्पाल कार्की म्यानमारतिर लागेका छन् । म्यानमारमा विश्वका झण्डै २ दर्जन बढी देशका मोडलहरुले भागलिने मिस्टर मोडल अफ द वल्र्ड २०१८ मा नेपालबाट दिक्पाल कार्कीले भाग लिनेछन् ।
उक्त प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायतका कैयन देशबाट मोडलहरु सहभागी हुनेछन् । दिक्पालले आफू मिस्टर मोडल अफ द वल्र्डमा भाग लिन पाउँदा निकै उत्साहित भएको बताएका छन् ।
थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका तथा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।
त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए ।
द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको हो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् । दिक्पालले
मिस्टर मोडल अफ द वल्र्डमा दिपा मल्ल ठकुरी, मिनला अग्रवाल, विनिता भट्ट, मञ्जु बञ्जारा ढकाल, मनिष राई र हिसी टेलर्सका डिजाइनहरु लगाउने भएका छन् । मिस्टर मोडल अफ द वल्र्ड २०१८ यही अगस्त २९ देखि सेप्टेम्बर ५ सम्म म्यानमारको यांगुनमा हुने भएको छ ।
सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टर समेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।