मिलेर राष्ट्रलाई निकास दिनोस् : राष्ट्रपति
प्रकाशित मिति : मंसिर २०, २०७३ सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग दलहरू मिलेर राष्ट्रका समस्यालाई निकास दिन आग्रह गरेकी छन् । आइतबार राष्ट्रपति भवन, शीतल निवासमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् ।
सो अवसरमा नेपालको संविधान कार्यान्वयनमा देखा परेका चुनौती तथा समसामयिक राजनीतिक विषय, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, संसद्को निर्वाचनलगायतका विषयमा छलफल केन्द्रित भएको थियो ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्ती, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूको सहभागिता थियो ।
छलफलमा सत्तारूढ दलका नेताहरूले संविधान संशोधनको प्रस्तावलाई पारित गरेर निर्वाचनमा जानका लागि आग्रह गरेका थिए भने मधेसी दलका नेताहरूले यथास्थितिमा संविधान संशोधनको प्रस्तावले समस्या समाधान हुँदैन भन्दै परिमार्जनको आवश्यकता औँल्याए ।