फेसबुकमार्फत हङकङमा रहेकी युवती ठगी गर्ने पक्राउ
प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार
प्रहरीले फेसबुकमार्फत साथी बनाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका रोजन छन्त्याल रहेका छन् ।
महानगरीय प्रहरी वृत, महाराजगञ्जका प्रमुख डिएसपी फडिन्द्र प्रसाईंका अनुसार छन्त्याललाई नयाँ बसपार्क क्षेत्रबाट गत असोज ११ गते पक्राउ गरिएको हो ।
अस्ट्रेलिया छु भन्दै हङकङमा रहेकी एक नेपाली युवती सिता (नाम परिवर्तन) लाई छन्त्यालले फेसबुकमा साथी बनाई ४ लाख ९० हजार ठगेको डिएसपी प्रसाईले रातोपाटीलाई जानकारी दिए ।
फेसबुकमा पटक–पटक कुराकानी हुने थालेपछि छन्त्यालले सिताको मन जित्ने काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । छन्त्यालले सितालाई छिटै नै बिहे गर्ने आश्वासन पनि दिएको डिएसपी प्रसाईंले बताए ।
छन्त्यालले ठगी गरेको थाहा पाएपछि सिताले परिवारको सहयोगमार्फत हङकङबाटै निवेदन जाहेरी दिएको उनले बताए । निवेदन जारी दिएसँगै प्रहरीले छन्त्यालको खोजीकार्य तिब्र पारेको थियो ।
यस्तै छन्त्यालले अर्की एक महिलाको १ लाख रुपैयाँ पनि ठगी गरेको पाइएको उनले बताए । छन्त्याललाई ठगी मुद्दा चलाइएको छ ।
छन्त्याल एक महिनाअघि लागुऔषध कारोबारमा पक्राउ परेको र अदालतबाट १ लाख धरौटीमा छुटेका व्यक्ति हुन् । प्रहरीको अनुसन्धानबाट छन्त्याल विभिन्न गैरकानुनी धन्दामा संलग्न रहेको खुलेको छ ।