मलेसियाको जेलभित्र सयौ नेपाली भन्छन् : ‘मर्ने डर हैन, एउटा टिकटको अभावमा अर्काको देशमा ज्यान जाला भन्ने चिन्ता भयो
प्रकाशित मिति : आश्विन ३१, २०७५ बुधबार
यो पेनाङ्गको जोरु क्याम्प हो । क्याम्प अर्थात् एकखालको जेल । यस्ता क्याम्प यो देशमा सयौंको संख्यामा छन् । दण्ड, जरिमाना, कैद भुक्तान गरिसकेपछि आरोपीलाई यहाँ ल्याईन्छ । यहाँको केही प्रकृया पुरा गरेर उनिहरु आफ्नो देश फकाईन्छन् । टिकट आफैंले किन्नुपर्छ, नसक्नेहरु त्यहीं सडिन्छन् ।
क्याम्पभित्रै पुगेर उनिहरुको भेट्ने ईच्छा थियो, केशु थापाजीले हिजो पुरा गरे । बागलुङ्गका केशु थापा पेनाङ्गमा सानोतिनो ब्यापार गर्छन् । ‘जनउद्धार केन्द्र‘का अध्यक्ष छन् । शेर बहादुर श्रेष्ठ, झपेन्द्र अर्याल, रुद्र सापकोटा लगायतका थुप्रै साथीहरु मिलेर टिसर्ट बेच्छन् । त्यसबाट प्राप्त थोरै पैसाबाट जेल परेका नेपालीको उद्धार । अहिलेसम्म संस्थाकै पहलमा ५० को हाराहारीमा नेपालीहरु स्वदेश फर्किकाछन् । उनलाई पेनाङ्गको अघोसित नेपाली दुत भनेपनि हुन्छ ।
मेरा साना ईच्छाले जोरु क्याम्प पस्न पाएको हैन । केशुको प्रशासनिक संबन्ध, भाषाको ज्ञान र सरकारी कार्यशैलीको जानकारीका कारण भित्र पस्न मिल्यो । भित्र पसेर बाहिर निस्किँदा कस्ता कस्ता ‘हात सफाई गर्नु पऱ्यो, अहिले नभनौं । बिद्धान पाठकले आफैं बुझ्छन् ।
क्याम्पमा यहाँ सयको हाराहारीमा नेपाली थुनिएकाछन् । ती मध्ये १८ जना कानुनी प्रकृया सकेर स्वदेश फर्कने तयारीमा छन् । समस्या एउटै छ, हवाई टिकटको । के कारणले जेल परे ? कस्तो मनस्थिति बोकेर देश फर्कंदैछन् ? देश फर्किएर के गर्छन् ? यी तपसिलका प्रश्न हुन् । मूल प्रश्न, एउटा टिकटको अभावमा कुनै नेपाली बिदेशी जेलमा सडि रहेको सुन्दा तपाईंलाई राम्रो लाग्छ त ? धरोधर्म, म त धुरुधुरु रोएँ ।
यदि हामीले केही सहयोग गर्न सक्यौं भने उनिहरु चाँडै स्वदेश फर्कन सक्छन् । आफ्ना र आफन्तसँग अङ्गालो मार्न सक्छन् । कमी कमजोरी सुधार्दै, सुध्रिदै बैकल्पिक रोजगारी खोज्छन् । लौ न, यी बन्धुहरुकोको उद्धार गरौं ।
कमल मगर, राजकुमार तामाङ, निरबहादुर खड्का, जीतेन्द्र शाह, जनक वली, हरिचरण श्रेष्ठ, हरिबहादुर लिम्बु, किशोर राना, डिल्लीराम न्यौपाने, नवराज राई, कमल बहादुर गुरुङ, भुपेन्द्र पुन, दोर्जे घिसिङ्, दोर्जे आले र पुर्खधन गुरुङ ।
सबैको उद्धार जरुरी छ । सक्नेका परिवारले उद्धार गर्नोस् । केहीलाई जनउद्धारले गर्छ । बाँकीलाई तपाईं हामीले गर्नुपर्छ । यी १८ भाइमध्ये सबैभन्दा समस्या कास्कीका पुर्खधन गुरुङको छ । दुबै खुट्टा चल्दैनन् । बोकेर यताउता गर्नुपर्छ । दिसा पिसाबको टुंगो छैन । औषधी खान पाए निको हुने उनको आशा छ । भन्छन्, ‘मर्ने डर हैन सर, अर्काको देशमा ज्यान जाला भन्ने पिर भो ।’
यो कुरा मैले धेरै साथीलाई शेयर गरें, ‘केही गर्न सकिन्छ ?’ केहीले भने, ‘यस्तो दुख पाउने हजारौं छन्, एकजनालाई उद्धार गरेर दुनियाँलाई के फरक पर्छ र ?’ म भन्छु- ‘साथी, दुनियाँलाई केही फरक नपर्ला तर जसको उद्धार हुन्छ, उसलाई ठूलो फरक पर्छ, सकिन्छ केही गर्न ??