विश्वलाई नेपाल चिनाउने मौका केही दिनमात्र बाँकी, श्रृंखलालाई छिटो छिटो भोट गरौं
प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार
नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ । यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् । उनी मिस वल्र्ड– २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ । अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् । कात्तिक २३ गते शुक्रबार मिस वल्र्ड– २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् । उक्त तस्विरले धेरैको मन जितिरहेको छ । तस्बिरसँगै उनले लेखेकी थिइन् नेपाल, म तिमीलाई गौरवान्वित बनाउनेछु, यो मेरो वाचा भयो अर्थात् नेपाल, आई विल डू यू प्राउड, प्रमिस । स्टाटससँगै श्रृंखलाले आफ्नो मिस वल्र्डको यात्रा प्रारम्भ भएको जानकारीसमेत गराएकी छिन् । ‘नेपालको प्रतिनिधित्व हुने महत्वपूर्ण प्रतियोगिताको तयारी थालिसकेकी छु । त्यसका लागि रिसर्च गर्दैछु । ब्युटी विद पर्पसका लागि भूकम्पपछिको पुनर्निर्माणलाई मुख्य विषय बनाएकी छु ।’ मिस नेपाल वल्र्ड–२०१८ को उपाधि जितेको केही समयपछि साप्ताहिकसँगको अन्तर्वार्तामा श्रृंखला खतिवडाले भनेकी थिइन्— ‘मिस वल्र्डमा यसअघि पनि हामीले ब्युटी विद पर्पसमा सफलता पाइसकेका छौं । म पनि आफ्ना तर्फबाट शतप्रतिशत राम्रो गर्ने प्रयास गर्नेछु ।’
श्रृंखलाले पूर्वयोजनाअनुसार नै मिस वल्र्ड–२०१८ को ब्यूटी विद पर्पस विधाका लागि प्रशस्त मेहनत गरेकी छिन् । उक्त विधाका लागि श्रृंखलाले मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुर्याएको अभियानलाई समेटेकी छिन् । श्रृंखलाले प्रशस्त मेहनत गरेको उक्त प्रोजेक्टले रंग देखाउन थालिसकेको छ । यही मंसिर २२ गते शनिवार ९डिसेम्बर ८० का दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीन पुगिसकेकी श्रृंखला अहिले आफ्नो त्यही प्रोजेक्टका कारण चर्चामा छिन् । त्यसबाहेक विभिन्न युट्युब च्यानलले गरेको अनुमानमा श्रृंखला मिस वल्र्ड–२०१८ का सम्भावित विजेताहरूको सूचीको अग्रस्थानमा छिन् ।
मिस वल्र्ड–२०१८ को निर्णायक प्रतियोगिताअघि विभिन्न युट्युब च्यानलले यो वर्षको सम्भावित विजेताका बारेमा अनुमान लगाउन थालिसकेका छन् । मिस वल्र्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वल्र्डको उपाधि नै जित्न सक्ने अनुमान गरेका हुन् । युट्युबमा गोपेजेन्ट च्यानलले एउटा सर्वेक्षणको रिपोर्ट प्रस्तुत गर्दै श्रृंखलालाई उत्कृष्ट पाँचभित्र पर्न सक्ने सम्भावना बोकेकी सुन्दरीका रूपमा प्रस्तुत गरेको छ । उक्त च्यानलले मिस वल्र्ड–२०१८ का प्रबल दावेदारहरूको सूचीमा श्रृंखला खतिवडालाई चौथो नम्बरमा राखेको छ । उत्कृष्ट पाँचको सूचीमा नेपालसहित भारत, चीन, फिलिपिन्स आदि देशका सुन्दरी छन् । उक्त च्यानलले श्रृंखलाको सौन्दर्य, सामाजिक व्यवहार तथा विद्वताले उनलाई बलियो प्रतिस्पर्धी सावित गरेको कुरा उल्लेख गरेको छ । ब्युटी विद द पर्पसमा श्रृंखलाले तयार पारेको प्रोजेक्ट समेत उत्कृष्ट रहेको उक्त भिडियोमा बताइएको छ । त्यसअघि गोपेजेन्टकै अर्को भिडियोमा भने उत्कृष्ट १५ प्रतिस्पर्धीमध्ये श्रृंखलालाई पहिलो नम्बरमा राखिएको थियो ।
त्यस्तै अर्को युट्युब च्यानल भ्यानल युनिभर्सले श्रृंखलालाई मिस वल्र्ड विजेताको सम्भावित सूचीको पहिलो नम्बरमा राखेको छ । उक्त सूचीमा पाँच देशका सून्दरी समेटिएका छन् ।
कसरी गर्ने भोट ?
श्रृंखलाले आफ्नो फेसबुक पेजमार्फत आफूलाई अनलाइन भोट गर्न सम्पूर्ण नेपालीहरूसमक्ष आग्रहसमेत गरेकी छिन् । त्यसका लागि मोबाइलमा मोबस्टारको एप डाउनलोड गरेर श्रृंखला खतिवडाको पेजमा गै उनलाई फलो गर्नुपर्नेछ । त्यसपछि उनको पोस्टमा गएर मोबाइलको स्क्रिनलाई देब्रेबाट दाहिनेतर्फ स्विप गर्नुपर्छ । त्यसो गर्नेबित्तिकै ‘यस’ लेखिएको देखिने छ । उक्त शब्द देखिनु भनेकै श्रृंखलाले एकमत प्राप्त गर्नु हो । त्यसका लागि प्रत्येक दिन उक्त एपमा गएर उनका हरेक पोस्टमा कमेन्ट समेत गर्नुपर्नेछ । यसरी भोट गर्दा सबैभन्दा बढी मत पाउने सुन्दरीले मिस वल्र्डको एउटा महत्वपूर्ण विधा मल्टिमिडियाको उपाधि जित्नेछिन् ।
चीनबाट के भन्छिन् श्रृंखला ?
चीनतर्फ प्रस्थान गरे लगत्तै श्रृंखलाले फेसबुक पेजमार्फत एउटा प्रेस विज्ञप्ती शैलीको सन्देश जारी गरेकी छिन् । ‘धन्यवाद नेपाल’ भन्दै श्रृंखलाले आफ्ना मनका भावनाहरू व्यक्त गरेकी छिन् । जसमा भनिएको छ, ‘मिस नेपाल वल्र्डको उपाधिसँगै हाम्रो प्यारो झन्डालाई आफैंसँग लिएर जान पाउँदा म अत्यन्त भावुक भएकी छु । मेरो यात्रा भरखरै प्रारम्भ भएको छ, त्यसैले यसको थालनी र अन्त्य कसरी गरौं भन्ने कुराबाट अनभिज्ञ छु । मैले मिस नेपालको उपाधि जितेको सात महिनाभन्दा बढी भैसकेको छ ।
यो मेरो जीवनकै सबैभन्दा उत्कृष्ट समय हो भन्दा फरक पर्दैन । सबैभन्दा ठूलो कुरा, यो अवधिमा मैले मान्छे कमाएँ । तपाईंहरूकै प्रेरणाले म यहाँसम्म आइपुगेकी हुँ । तपाईंहरूले मप्रति दर्साउनुभएको प्रेम, सद्भाव तथा विश्वास नै मेरो ऊर्जा भएको छ । मेरो यात्रा नेपालकै लागि हो । अब विश्वलाई हामीले नेपालीहरू मसँगै छन् भन्ने देखाउनुपर्नेछ । हाम्रो मानवता, हाम्रो समर्पण, हाम्रो शालिनता, हाम्रो प्रेम विश्वलाई देखाउने बेला आएको छ । म अझै पनि सबै कुराका लागि पर्फेक्ट भैसकेकी छैन, मलाई लाग्छ कोही पनि हुँदैन । म आफ्नो शक्तिलाई आफैंसँग लिएर जाँदैछु । मैले ती सबै कुरा गरिसकेकी छु जसबाट नेपाललाई विश्वसामु उत्कृष्ट रूपमा प्रतिनिधित्व गर्न सकियोस् । मप्रति देखाउनुभएको सद्भाव र विश्वासप्रति हार्दिक धन्यवाद । तपाईंहरूको माया र सहयोगका कारण नै ममा अहिले प्रशस्त आत्मविश्वास भरिएको छ । मलाई लाग्छ, म तपाईंहरू सबैलाई गौरवशाली बनाउन सक्नेछु । नेपाल फर्कंदा ताज लिएर फर्कन पाउँ, नेपाल र नेपालीलाई विश्वभर चिनाएर आउन पाउँ ।’
सान्यामा श्रृंखलाका गतिविधि
गत कात्तिक २४ गते शनिबार चीनको सान्या पुगेलगत्तै नेपाली सुन्दरी श्रृंखला खतिवडा मिस वल्र्ड–२०१८ अन्तर्गतका विभिन्न गतिविधिहरूमा सहभागी हुन थालेकी छिन् । सान्या पुगेकै दिन ‘डे टु एट सान्या’ शीर्षकमा श्रृंखलाले केही तस्बिरसहितको स्टाटस अपलोड गरेकी छिन् । श्रृंखलाका अनुसार सान्या पुगेलगत्तै उनी मिस वल्र्डका लागि आफ्नै परिचयात्मक भिडियोको छायांकनमा व्यस्त भइन् । त्यसपछि उनले डान्स अफ द वल्र्डका लागि अडिसन दिइन् । अडिसन लगत्तै उनले एउटा अन्तर्वार्ता दिइन् । त्यसपछि मात्र उनले आफ्नो रुममेटलाई भेटिन्– मिस बंगलादेश । सान्या पुगेकै दिन आफूले मिस वल्र्ड–२०१८ का अधिकांश प्रतिस्पर्धीसँग भेटेको समेत उल्लेख गरेकी छिन् । विश्वका प्रत्येक देशको प्रतिनिधित्व गर्दै सान्या पुगेका सुन्दरीहरूसँगको भेट तथा उनीहरूका आ–आफ्नै कथा रोचक रहेको पनि श्रृंखलाले उल्लेख गरेकी छिन् ।
सान्या पुगेको तेस्रो दिन श्रृंखला अन्य प्रतिस्पर्धीहरूसँगै होटलमै आयोजित परेडमा सहभागी भइन् । त्यसक्रममा हरेक देशका सुन्दरीले आ–आफ्नो राष्ट्रिय पहिरन लगाएका थिए । ६८ औं संस्करणको मिस वल्र्डको औपचारिक उद्घाटन समारोह वास्तवमै उत्कृष्ट रहेको श्रृंखलाको अनुभव छ । हरेक देशका सुन्दरीले झैं श्रृंखलाले पनि त्यस अवसरमा नेपाली कला, संस्कृति तथा वेशभूषा प्रस्तुत गरेको बताएकी छिन् । त्यसक्रममा श्रृंखलाले वुमन्स प्लानेट, नेपालले तयार पारेको पहिरन लगाएकी थिइन् । उद्घाटन समारोहकै क्रममा उनीहरूले आ–आफ्नो रोजाइका गीतसमेत गाएका थिए ।
सान्या पुगेको तेस्रो दिनसम्म पनि श्रृंखलालाई त्यहाँको खानाका बारेमा राम्रो जानकारी भैसकेको थिएन भने ती खाना खानु चुनौतीझैं भएको थियो । तेस्रो दिनपछि बल्ल ती खानामा आफू अभ्यस्त भएको श्रृंखलाको भनाइ छ ।
चौथो दिनदेखि अन्य सुन्दरीहरूझैं श्रृंखलाको पनि व्यस्तता बढ्यो । प्रारम्भमा उनी पत्रकार सम्मेलनमा सहभागि भइन् । लगत्तै उनी मोबस्टारमा आबद्ध भइन् र त्यसपछि ट्यालेन्ट कम्पिटिसनमा सहभागी भइन् । यो दौडधूपबीच व्यक्तिगत तस्बिर खिच्न समय नै नपाएको श्रृंखलाको गुनासो छ । ट्यालेन्ट कम्पिटिसनको अडिसनमा सहभागिता जनाउने क्रममा श्रृंखलाले म्युजिकल पोयट्री प्रस्तुत गर्ने योजना बनाएकी थिइन् । यद्यपि, ट्यालेन्ट शोमा नृत्य, गायन अथवा बाद्य यन्त्र बजाउनेमध्ये एउटा छनौट गर्नुपर्ने भएकाले आफूले केही नयाँ सिक्ने योजना बनाएको उनको भनाइ छ ।
एक महिनाको अवधि बाँकी रहेकाले श्रृंखलाले जोन लेननको इम्याजिनमा आधारित सांगीतिक प्रस्तुत दिने निर्णय गरेकी छिन् । पाँचौं दिन श्रृंखलाले यानोडा रेनफरेस्ट तथा सान्याकै एउटा प्राचिन गाउँको भ्रमण गर्ने मौका पाइन् । उनको उक्त दिनको सुरुवात एड्भेन्चरबाट भएको थियो । जंगलको यात्रा रोमाञ्चक रहेको उनले उल्लेख गरेकी छिन् । त्यसक्रममा श्रृंखलाले ट्यालेन्ट राउन्डको सेमिफाइनलमा स्थान बनाउन सफल भएको जानकारी समेत पाइन् । त्यसपछिको एउटा महत्वपूर्ण दिन हेड टु हेड च्यालेञ्जको थियो । त्यसक्रममा उनीहरूलाई विभिन्न समुहमा विभाजन गरिएको थियो । गत मंगलबारको पछिल्लो स्टाटसमा श्रृंखलाले आफ्नो परिचयात्मक भिडियोले १० लाख भ्युअर्स पाएकोमा खुसी व्यक्त गरेकी छिन् ।
को हुन् श्रृंखला
२२ वर्षअघि हेटौंडामा जन्मिएकी श्रृंखला खतिवडाले हेटौंडाबाट एसएलसी उत्तिर्ण गरेकी हुन् । एसएलसीपछि काठमाडौं आएकी श्रृंखलाले प्लस टु तथा स्नातक तहको अध्ययन पूरा गरेकी छिन् । ५ फिट ७ इन्चकी यी सुन्दरी एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् भने श्रृंखलाकी आमा मुनु सिग्देल पनि राजनीतिककर्मी हुन् । आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी श्रृंखला आफुलाई साधारण स्वभाव भएकी आत्मिय युवतीका रूपमा चित्रण गर्छिन् । उनी हरेक कुरालाई सकारात्मक रुपले ग्रहण गर्न रुचाउँछिन् । उनी सबैसँग सहजै घुलमिल हुन सक्ने स्वभावकी अर्थात् मिलनसार छिन् । उनी साथीहरूको सानो सर्कलमा रमाउने मान्छे हुन् । श्रृंखला धेरै ठूल्ठूला कुराको सौखिन छैनन् । ग्याजेटदेखि पहिरनसम्म सबै कुरा उनलाई साधारण नै मन पर्छ । सबैसमक्ष पुर्याउन म्यासेजबक्स, फेसबुक लगायत सबै सामाजिक सञ्जालमा सेयर गर्नुहोस् । तपाईको एक सेयरले नेपालको नाम विश्वभरी गुञ्जायस हुन सहयोग पुग्नेछ कान्तिपुर दैनिक