भारतको गुजरातमा विद्यार्थीहरुले हाजिरी गर्दा ‘यस सर’ को साटो ‘जय हिन्द–जय भारत’ भन्नुपर्ने


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

भारतको पश्चिमी राज्य गुजरातका विद्यालयका विद्यार्थीहरुले जनवरी १ देखि हाजिरीको समयमा ‘एस सर’ वा ‘प्रजेन्ट सर’ को साटो ‘जय हिन्द’ वा ‘जय भारत’ भन्नुपर्ने व्यवस्था गरिएको छ । अघिल्लो सोमबार राज्य सरकारले यससम्बन्धि एक सूचना जारी गरेको थियो ।

प्राथमिक शिक्षा निर्देशनालय र गुजरात माध्यमिक एवम् उच्च माध्यामिक शिक्षा बोर्डद्वारा जारी गरिएको एक सूचना अनुसार सरकारी, अनुदान प्राप्त र स्व–वित्तपोषित विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई जनवरी १ देखि हाजिरी गर्दा ‘जय हिन्द’ या ‘जय भारत’ भन्नुपर्नेछ ।

सूचनामा यस कदमको उदेश्य विद्यार्थीहरुमा सानैदेखि देशभक्तिको भावना बढाउनु हो भनिएको छ । सूचनाका प्रतिहरु जिल्ला शिक्षा अधिकारीहरुलाई पठाइसकेको बताइएको छ ।  सूचनाका अनुसार सोमबार भएको एक समीक्षा बैठकमा राज्यका शिक्षामन्त्री भूपेन्द्र सिंह चूडास्माले यो फैसला गरेका हुन् ।

खबरका अनुसार चूडास्माले प्रदेशको जालोर जिल्लामा इतिहास पढाउने सन्दीप जोशीबाट प्रभावित भएर यो फैसला लिएका हुन् । जोशीले आफ्ना विद्यार्थीहरुको हाजिरी गर्दा ‘जय हिन्द’ र ‘जय भारत’ भन्ने नियम लागू गरेका थिए ।

यो कुरालाई लिएर हालै भाजपाको मातृपार्टी राष्ट्रिय स्वयंसेवक संघको विद्यार्थी इकाई अखिल भारतीय विद्यार्थी परिषदद्वारा सन्दीपको कामको प्रशंसा गरेको थियो ।  चूडास्माले भने, ‘यति राम्रो पहलबाट प्रेरित हुनु नराम्रो होइन । दशकौं पहिले गुजरातमा यस्तो चलन थियो जुन पछि बिर्सिइयो ।’ गुजरात प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य समेत हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com