अमेरिकामा पनि बाबाको सांगीतिक यात्रा पछ्याउँदै गुञ्जन
प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल तबला बाधक तुंगनाथ उपाध्यायको कान्छी छोरी गुंजन उपाध्यायले अमेरिकामा पनि आफ्नो बुबाको लय पछ्याउदै अघि बढिरहेकी छिन् । हाल स–परिवार अमेरिकामा बस्दै आएकी गुञ्जनलाई तोते बोली बोल्न जान्दै र बामै सरेर हिड्न सक्ने हुँदादेखी नै उनका बुबा तुंगनाथले गायन तथा संगीतको क्षेत्रमा डोर्याएका हुन् ।
बाबाको साथमा काठमाडौं स्थित मालिगाउँको आफ्नै घरमा उनले नेपालका प्रसिद्ध तबला बादक पं होमनाथ उपाध्यायद्धारा स्थापित प्रस्तार समुहको साधना पनि नजिकबाट अनुभव गर्ने मौका पाइन् । जसका कारणले पनि उनलाई सांगितिक क्षेत्रमा लाग्ने उर्जा मिल्यो । विद्यार्थी जिवनमा उनी ग्यालेक्सि पब्लिक स्कुल को छोरी ग्रुपमा थिइन्।
बागबजारस्थित केएमसीमा दोस्रो वर्षमा पढ्दै गर्दा उनी अमेरिका प्रस्थान गरिन् । जुन समयमा उनी चण्डी काफ्ले सित सास्त्रिय संगीत सिक्दै थिइन् भने गुरू पं होमनाथ उपाध्याय र पछि उहाँको व्यस्ततामा सन्तोष वर्मासंग तबला पनि सिक्दथिन् ।
उनले माधुरी ताई, पद्मविभुषण रामदेश पाण्डे ज्युकी श्रीमती अर्चना देशपान्डे आदि गुरूबाट पनि केही समय गायन सिकिन् । समय मिलाएर उनले काठमाडौं बाट प्रवीण बुडापिर्थी सित केही समय पियानो समेत सिकिन । गुंजनको घरमा सांगीतिक माहोल सधैं रहने गर्दछ । उनकी आमाले ललितकला क्याम्पसमा केही समय सितार सिकेकी थिईन् भने दिदी अन्तराले गुरु गोपालनाथ योगी र रुपक साथै नोर्वु छिरिड वाट भायोलिन सिक्ने गर्थिन् । तिनताका बुुबा तुँगनाथ स्कुलहरुमा र बाहिर म्युजिकल कार्यक्रमहरु गर्ने गर्दथे ।
नेपालबाट अमेरिका पुगेपछि पढाईको साथमा उनको सांगीतिक यात्राले अझै उचाई लिदैं गैरहेको छ । विभिन्न कार्यक्रमहरुमा उनका प्रस्तुतिले विशेष महत्व पाउँदै गैरहेका छन् । उनका फ्यान फलोर्यस पनि बढ्दै गैरहेका छन् । अमेरिकामा रहेको विभिन्न संघ संस्थाको कार्यक्रमहरुमा गाउँदै गर्दा सन २०१३ मा नेपालीहरुद्धारा संचालित संस्था एएनएको सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा भाग लिईन र प्रथम पनि भईन ।
ट्वान्टि हार्वस रेडियो स्टेसनको वर्ष २०१५ को ट्यालेन्ट गायन प्रतिस्पर्धामा डालासका ६० उत्कृष्ट सहभागी मध्ये हिन्दी गीतमा उनी मात्र एक नेपाली चेलिले फस्ट रनर अप हुन सफल भईन । उनले गाएका विभिन्न कभर सङपनि दर्शकले राम्रो रुचाएका छन् । हाइलाईट्स नेपाल मार्फत केहि समय अगाडि मात्र उनले आफ्नो बुबाको शब्द तथा संगीतमा ‘माया कस्तो लाएँ’ बोलको गित दर्शकमाझ प्रस्तुत गरेकी छिन् ।