विदेशी कामदारमाथिको दलाली नियन्त्रण गर्ने तयारीमा जापान
प्रकाशित मिति : माघ १९, २०७५ शनिबार
विदेशी कामदार माथिको दलाली नियन्त्रण गर्न जापान सरकारले कडा नियम ल्याउने भएको छ । जापानमा जागिरको खोजीमा रहेका विदेशीहरुलाई काममा लगाइदिन्छु भन्दै मोटो रकम असुल्ने त्यस्ता दलालमाथिको नियमन कडा पार्ने सरकारी योजना रहेको अधिकारीहरुलाई उधृत गर्दै जापानटाइम्स अनलाइनले आफ्नो समाचारमा लेखेको छ ।
यहि आउँदो अप्रिलदेखि जापानले विदेशी कामदारको संख्या बढाउने तयारी गरिरहँदा यस्तो नियमन गर्न लागेको हो । विदेशी दलालसँग काम गर्ने जापानी प्लेसमेण्ट एसेन्सीका लागि कडा मापदण्ड ल्याएर विदेशी कामदारको संरक्षण गर्न योजना रहेको श्रम मन्त्रालयले पेश गरेको प्रस्तावमा उल्लेख छ । सरकारी प्रयोजनमा रहेको प्राविधिक इन्टर्न कार्यक्रममा आउने विदेशी कामदारले दलालहरुबाट निकै कष्ट झेल्नुपरेको छ । यसैलाई कम गर्ने प्रयासस्वरुप सरकारले यस्तो योजना ल्याएको हो ।
उनीहरुले दलाललाई मोटो रकम दिनुपर्छ । प्रस्तावअनुसार प्लेशमेण्टल कम्पनीसँग सम्बन्धित विदेशी दलालहरुले कामदारबाट रकम असुल गरेको पाइएमा त्यस्ता कम्पनीको सम्बन्धन रद्ध गरिनेछ । जापान सरकारले त्यहाँको चरम श्रमिक अभाव कम गर्न केही विशेष क्षेत्रमा थप विदेशी कामदार भित्रयाउने तयारी गरिरहेको छ । यो योजना अप्रिलबाट लागू हुने छ ।
यहाँको श्रम मन्त्रालयका अनुसार गत अक्टुबर मसान्त सम्म जापानमा कार्यरत विदेशी कामदारहरुको संख्या १४ लाख ६० हजार रहेको जनाईएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १ लाख ८० हजार अर्थात १४ प्रतिशतले बढि हो ।