अष्ट्रेलियामा पीडित विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र दिलाउन र पैसा फिर्ता गर्न एनआरएन अष्ट्रेलियाको माग
प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार
अष्ट्रेलियामा आफूहरुले पढ्ने कलेज खारेज भएपछि नेपाली विद्यार्थीहरु अलपत्र परेका छन् । कलेजले नियम मिचेर काम गरेका कारण अष्ट्रेलियाको शैक्षिक क्षेत्र नियमिनकारी निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटीले कलेजको दर्ता खारेज गरिदिएको हो ।
डिप्लोमा अफ नर्सिंगको पढाई गर्दै आएको उक्त कलेज अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजीको २६ मार्च २०१९ देखि लागू हुनेगरी दर्ता खारेज गरिएको हो । उक्त कलेजमा नेपाली विद्यार्थीहरु उल्लेख्य मात्रामा छन् । कलेजले दर्ता खारेजीको विरुद्ध अपील गर्ने जनाएता पनि विद्यार्थी माझ अन्योलको वातावरण सिर्जना भएको छ । जसले गर्दा लाखौँ खर्च गरेर अष्ट्रेलिया आइ एआईबीटी सिड्नी, ब्रिसबेन र ईटीईए भिक्टोरियामा नर्सिंग पढिरहेका नेपाली विद्यार्थीहरुको अगाडी अहिले अन्धकार छाएको छ ।
समस्याको भुमरीमा धकेलिएका नेपाली विद्यार्थीलाई गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफूहरु विद्यार्थीको साथमा रहेको बताउंदै हतास नहुन आग्रह गरेको छ । एनआरएनए अष्ट्रेलियाले विज्ञप्ति जारि गरि ती शैक्षिक संस्थामा पढेका विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिलाउन तथा उक्त प्रमाणपत्र दिन नसक्ने अवस्थामा विद्यार्थीको सम्पूर्ण रकम फिर्ता दिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
यसको साथै एनआरएनए अष्ट्रेलियाले नेपाल र अष्ट्रेलियाका सरकारी निकायहरुले यथाशिघ्र छानबिन गरि कामकारबाही अगाडी बढाउन तथा विद्यार्थीहरुलाई त्यहाँसम्म पुर्याएका एजुकेशन कन्सल्टेन्सीहरुलाई विद्यार्थीहरुसम्म पुग्न आग्रह गरेको छ । विज्ञप्तिमा यस प्रकरणमा आफूहरु सधै विद्यार्थीहरुको पक्षमा रहेको र आवश्यक सहयोगले लागि संस्था सधै तत्पर रहेको उल्लेख गरिएको छ ।
विज्ञप्ति :