जापानमा ३० वर्षभित्र शक्तिशाली भूकम्प आउन सक्ने दावी


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

जापानमा आगामी ३० वर्षभित्र ठूलो भूकम्प आउन सक्ने सम्भावना रहेको सरकारी प्यानलले बताएको छ । उत्तरपूर्वी जापानमा ७ देखि ८ म्याग्निच्युडको भूकम्प आउने जोखिम रहेको देखिएको छ ।

सन् २०११ को मार्चमा पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प आएको थियो । सोही स्थानमा फेरी शक्तिशाली भूकम्प जाने सम्भावना करीब शून्य नै भएको तर अर्को क्षेत्रमा भने नजाला भन्न सक्ने अवस्था नरहेको बताइएको छ । भूकम्प अनुसन्धान समितिले अन्य ठाउँमा ठूलो झट्का महसुस हुन सक्ने खतरा रहेको अनुमान गरेको हो ।

पछिल्लो अनुमानमा प्यानलले फुकुशिमा ७ देखि साढे ७ म्याग्निच्यूडसम्मको भूकम्प जाने सम्भावना ५० प्रतिशत रहेको बताएको हो । त्यस्तै सो सम्भावना आओमोरी केन तथा मियागी केनमा ९० प्रतिशतभन्दा बढि रहेको अनुमान गरिएको छ ।

पछिल्ला केही वर्षमा जापानमा शक्तिशाली भूकम्प गएका कारण मानिसहरुले फेरी अर्को ठूलो भुइँचालो त जाँदैन होला भन्ने मानेर ढुक्कले बस्नु भने नहुने समितिका अध्यक्ष नाओशि हिराताले बताएका छन् । प्यानलले सन् २०११ को झट्कालाई सम्झिँदै अर्को भूकम्पका लागि तयार रहन आवश्यक रहेको बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com