योकोहामा लगातार दोस्रो वर्ष बन्यो बस्न लायक शहर
प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार
जापानको कान्तो क्षेत्र सेण्ट्रल जापानको सातओटा प्रिफेक्चर मिलेर बनेको छ र यसमा सबैभन्दा प्रमुख होटोकियो । कानागावा, चिबा, र टोकियो जापानीहरुका लागि बस्नका लागि सबैभन्दा उत्कृष्ट स्थान हो । तर यी क्षेत्रका पनि सबैभन्दा लोकप्रिय बस्न लायक क्षेत्र चाहिँ कता हो त? हालै रियल इष्टेट सूचना साइट सुमोले गरेको सर्वेक्षणअनुसार योकोहामा बस्नका लागि सबैभन्दा उत्कृष्ट शहर हो । ७ हजार महिला र पुरुषमाझ गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।
योकोहामा बस्नका लागि सबैभन्दा उत्कृष्ट शहर बनेको यो लगातार दोस्रो पटक हो । सर्वेक्षणअनुसार किनमेल, स्वादिष्ट परिकार खाने प्रशस्त ठाउँ, संग्रंहालयजस्ता कुराले यस ठाउँलाई बस्न लायक ठाउँ बनाएको हो । विशेषगरी २० वर्षका युवामाझ लागि योकोहामा बढी लोकप्रिय छ । योकोहामाका अधिकांश स्थानबाट ३०–४० मिनेट रेल चढेपछि टोकियो पुग्न सकिन्छ । यद्यपि ती रेल धेरै नै भीडभाडयुक्त हुन्छन् । त्यस्तै टोकियोभन्दा यहाँका घरको मूल्य केही सस्तो हुन्छ जसकारण यहाँको लोकप्रियतामा वृद्घि भएको मान्न सकिन्छ ।
योकोहामा स्टेशनलाई रिमोडलिङ गरेर थप परिवार मैत्री बनाइएको छ । यसकारण पनि यो शहर २०, ३० र ४० वर्षका मानिसमाझ बढी लोकप्रिय बनेको हो ।
त्यस्तै सूचीको दोस्रो स्थानमा टोकियोको एबिसु परेको छ । यो पनि बस्नका लागि सुविधासम्पन्न स्थान हो । तर यहाँको बसाइ भने हल्का महङ्गो छ । तेस्रो स्थानमा किनमेलका लागि स्वर्ग भनेर चिनिने किचिजोजी आएको छ । यो क्षेत्र, रेष्टुराँ र पसलका लागि लोकप्रिय छ । यो एबिसुको तुलनामा केही सस्तो छ । यसले सेण्ट्रल टोकियोलाई पनि राम्रैसँग जोड्छ ।
सर्वेक्षण अनुसार यि हुन् शीर्ष १० बस्न लायक स्थानहरु
१.योकोहामा
२.एबिसु
३.किचिजोजी
४.ओमिया
५.सिन्ज्युकु
६.सिनागावा
७.मेगुरो
८.उरावा
९.मुशाशी कोसुगी
१०.कामाकुरा