टोकियोमा सुरक्षा व्यवस्थामा कडाई गरिंदै
प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार
सेण्ट्रल टोकियोको सुरक्षाका लागि हजारौंको संख्यामा प्रहरी परिचालन गरिने भएको छ । मे १ मा नयाँ युगको शुरुआत भएसँगै इम्पेरियल प्यालेस अगाडि मानिसहरुको भीड लाग्न सक्ने देखिएकाले सुरक्षा व्यवस्था कडा पार्नु परेको हो । सम्भावित खतरा र दुर्घटनाको सामना गर्न अतिरिक्त सुरक्षाका उपायहरु पनि कार्यान्वयनमा ल्याइने योजना बनाइएको जापानी संचारमाध्यमहरुमा खबर छ । अप्रिल ३० मा सम्राट अकिहितोको राजगद्धि त्यागसँगै मे १ मा युवराज नारुहितोले राज्यारोहण गर्नेछन् ।
यस कार्यक्रमलाई शान्तिपूर्वक सम्पन्न गर्न टोकियो महानगरिय प्रहरी सजग रहने टोकियो महानगर प्रहरी प्रमुख मासामिचु मिउरााले बताएका छन् । कुनै पनि दुर्घटनाका कारण कार्यक्रम विथोल्न नदिइने योजना रहेको बताइएको छ । नयाँ युगको नाम सार्वजनिक भएदेखिनै परिवर्तनको उत्सव मनाउन रेष्टुराँ, सपिङ सेण्टर, मनोरञ्जन क्षेत्र लगायतका सबैले तयारी शुरु गरिसकेका छन् । नयाँ युग रेइवा ३० वर्षअघि सुरु भएको हेइसेई युगभन्दा केही अलग हुने अपेक्षा गरिएको छ ।