कुष्ठरोगीको पीडा
प्रकाशित मिति : माघ १९, २०७३ बुधबार
उपचारपछि निकोहुने भएपनि कुष्ठरोगप्रति रहेको अन्धविश्वासका कारण अहिले पनि उपचारबाट निको रहेका व्यक्तिलाई परिवारले स्वीकार नगर्दा अर्कैको आश्रयमा बाँच्न वाध्य छन् ।
इन्दिरा खनाल / शरीरमा फुर्सा र सेता दाग देखिंदा बाबु–आमाले धामीझाक्रीको सट्टा अस्पताल पु¥याएको भए ६२ वर्षीय खगीसरा गुरुङ्ग जिन्दगीभर अपाङ्ग भएर बाँच्नुपर्ने थिएन । परिवारले गरेको त्यही सानो गल्तीले उनको जिन्दगीको सुख खोसियो । जिवनभर अर्काको सहारामा बाँच्न वाध्य बनायो । पाल्पा रामपुरकी उनी अहिले वुटवल १५ स्थित कुष्ठरोगीहरुको क्षेत्रमा काम गर्ने कल्याड नेपालको आश्रयमा छिन् । “धामी झाँक्रिले कहिले वोक्सी लागेको भन्थे, कहिले नाग,”विगत सम्झदै उनी भन्छिन् “ निको हुनुको सट्टा रोग झन बढ्यो, हात र खुट्टाका औला झरे ।”
शरीरमा सेतो फुर्सो दाग देखिनु र उक्त दागमा चिमोट्दा नदुख्नु कुष्ठरोगको लक्षण हो । समयमै औषधी उपचार गरे कुष्ठरोग निको हुन्छ । तर, उपचार हुन्छ भन्ने थाहा नहुँदा र अन्धविश्वासमा धामी झाँक्रिको भरमा पर्ने धेरै व्यक्ति कुष्ट रोगकै कारण अपाङ्ग भएका छन् । ती मध्येकी एक हुन, कालीकोट बडागाउँकी कली सुनार ९६४० । चार वर्षहुँदा लागेको रोग, कुष्ठरोग रोग हो भन्ने २६ वर्ष हुँदा मात्र थाहा पाइन् । २१ वर्षसम्म उनका परिवार धामीझाँक्रिमै भर परे ।
पटक पटक घरमा बोलाइने धामीले कहिले बोक्सी त कहिले नाग लागेको बताउँथे । निको हुनुको सट्टा रोग बढ्दै गयो । “दाङ्गबाट गएका हुलाकीले कुष्ठरोग हो, अस्पताल गए सन्चो हुन्छ भनेर अस्पताल गएपछि पत्ता लाग्यो,” कली भन्छिन् “त्यतिवेलासम्म उपचार निकै ढिला भइसकेको थियो ।” कलीपनि गुरुङ्गसँगै एउटै आश्रममा छिन् । बोक्सी र देउता लागेको बहानामा धेरै कुखुरा काटिएको उनी बताउँछिन् । भनिन्छ, रोगीलाई हेला होइन मायाँ गर्नुपर्छ । त्यसले रोग निको हुन सहयोग पुग्छ । तर, कुष्ठरोगी पीडितहरुले भने परिवारबाट मायाँ पाउन सकेनन् । परिवारबाटै बहिस्कृत भएर निकालिएका उनीहरु अर्काको सहारामा बाच्न वाध्य छन् । तनहुँका ६३ बर्षीय पदम बहादुर बस्नेतलाई १७ वर्षको उमेरमा कुष्ठरोगको लक्षण देखियो । २५ वर्षको पुग्दा पोखराको आइ।एन। एफद्धारा संचालित कुष्ठरोग अस्पतालमा जचाउन गए । २०३५ सालमा पोखरा चेक जाँच गर्दा रोग लागेको पुष्टिभयो ।
तर, अस्पतालबाट घर नफर्किदै परिवारले उनलाई टाढा गराइसकेको थियो । अस्पतालबाट घर फर्किदा आमालाई लिएर उनका भाई तनहु जिल्लाको अर्कै ठाउँमा बस्न गएको उनले भने । जन्म दिएकी आमाले नै नहेरेपछि वस्नेत घर छोडेर पोखरा लागे । अहिले उनीपनि आश्रममै छन् । कली सुनार कालीकोटबाट दाङ्ग आएर चेकजाँच गरेपछि कुष्ठरोग लागेको पत्ता लाग्यो । तर, त्यसपछि गाउँमा बस्न सक्ने वातावरण भएन । सवैको छि छि र हेला भइन् । “जंगल पठाउनुपर्छ, गाउँमा राख्यो भने अरुलाई पनि रोग सर्छ, मरेपछि उतै दाहसंस्कार गरौला,” कलिलाई यसै भनेर मानिसहरु होच्चाउँथे । अति भएपछि उनले घर छोडिन् ।
पाल्पाकी खगीसराको त्यही पाल्पाकै गाल्डो गाउका दलबहादुर लम्का संग २२ वर्षको उमेरमा विबाह भयो । विवाहपछि उनको रोगबारे घरपट्टिकाले पनि पत्तोपाए । त्यसपछि परिवार र समाजको उनलाई हेर्ने दृष्टिकोणमै फरक भयो । उनलाई निकाला गर्न गाउँले र परिवारका अरु सदस्यले श्रीमानलाई दवाव दिए । श्रीमती लिएर दुवै निस्किए । महिनौसम्म जंगलमा गिठा भ्याकुर खाएर निर्वाह गरेका उनीहरुको सम्वन्ध लामो समय टिक्न सकेन । श्रीमानले छोडेपछि उनी एक्ली भइन् । नवलपरासी हुँदै रुपन्देही आएकी उनको उपचारपछि कुष्ठरोग त निको भयो । तर, परिवारबाट टाढा भइन ।
कुष्ठरोग उपचारपछि निको हुने भएपनि एकपटक कुष्ठरोग लागिसकेपछि कहिल्यै निको हुन्न भन्ने अन्धविश्वास अझै पनि कायम छ । घर परिवारले घरमा लैजान नमानेका १५ जना व्यक्ति अहिले पनि जितगढी स्थित् आश्रय स्थलमा साहारा लिइरहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १०९ जना कुष्ठरोगी भेटिएका छन् । गतवर्ष मात्रै ६६ जना नयाँ रोगी भेटिएका थिए । विभिन्न जिल्लाबाट बसाई सराई र खुल्ला सीमानाका कारण रुपन्देहीमा नयाँ रोगी भेटिएको जनस्वास्थ्य प्रशासक चुरामणी भण्डारी बताउँछन् । १०९ जना कुष्टरोगी मध्ये ३३ जना महिला भएको जिल्ला जनस्वास्य कार्यालयका कुष्ठरोग तथा क्षयरोग निरिक्षक टिकाराम घिमिरेको भनाई छ ।