स्वर्ग जाने पुल
प्रकाशित मिति : माघ २९, २०७३ शनिबार
भूपिन/मलाई मानिसहरू हिँड्ने रूखजस्ता लाग्छन्, जो नहिँड्ने पुल तरेर कहाँ-कहाँ पुग्छन् र फर्किन्छन्। केही वर्ष भो, मेरो गाउँ बलेवा र कुश्मालाई जोड्ने ‘हिँड्ने-पुल’ तारमा झुन्डिएर कालीगण्डकीमाथि वारिपारि गरिरहेको। तारमा समस्या देखिएकाले यसपालि पुल थलिएको रहेछ, त्यसैले देवेन्द्र दाइ र म कैयाको झोलुंगे पुल झर्न बाध्य भयौं। त्यो नेपालको सबैभन्दा अग्लो झोलुंगे पुल पूरै १६६ मिटर अग्लो र ३६६ मिटर लामो छ।
घरबाट हिँड्ने बेला आमा रुनुभएकाले बिथोलिएका थियौं दाजुभाइ। बिथोलिँदै ओरालो झरेर कैया आइपुग्यौं। अरू बेला गल्छीमा लमतन्न सुतिदिएर बटुवाहरू तारिदिने कालीगण्डकीको पुल यसपटक कुहिरीमण्डलले ढप्प छोपिएको थियो। बिल्कुल फरक र आकर्षक दृश्य थियो त्यो, जसले मलाई खिचिहाल्यो।मलाई मेरो क्यामेराको सम्झना भयो।
पुलमाथि र त्यस वरिपरि हुस्सुको फैलावट यति भव्य थियो कि लाग्थ्यो आज खोँचमा भ्रमणका लागि माथि पहाडबाट फुर्सद मिलाएर ओर्लिएको छ हुस्सु र त्यो उत्सव मनाउने मुडमा छ। यस्तो पनि लाग्थ्यो, आज हुस्सु ताल बनेर छचल्किनका लागि ओर्लिएको छ आकाशबाट।कलापारखीहरूलाई लाग्दो हो, पेन्ट र ब्रससहित विशेष कला गर्नका लागि आएको कुनै उत्साहित चित्रकार हो यो हुस्सु, जो बाल्टीका बाल्टी सेतो रङ खन्याउँदैछ भीरवरिपरि। खोँचभरि।
आज बाटोमा हिँड्ने पालो पनि केवल हुस्सुको हो। आज बगरमा बग्ने पालो पनि केवल हुस्सुको हो। आज खेतमा सेतो न सेतो कपास भई फुल्ने पालो पनि केवल हुस्सुको हो। प्यासी भीर पहराहरूको ओठ भिजाउन जलकणहरू बोक्दै उड्ने पालो केवल हुस्सुको हो। आज त पुलमा हिँड्ने पालो पनि केवल हुस्सुको हो।
पुलका दुई हातले जमिन पक्रिएको पश्चिमी छेउमा म उभिइरहेको थिएँ र पूर्वी छेउका दुई खुट्टाहरू गायब थिए। अर्को छेउको के कुरा, पुलको शरीर नै गायब थियो। केही कदमअघि पुलमा हिँडिरहेका मानिसहरू, शीतले भिजेका पुलका केही स्टिल पाता र कालीगण्डकीको सुसाइमात्र उपलब्ध थियो, बाँकी सबै गायब थिए।
तालकुना, हाकु अंकलको एक्लो घर, मोदीखोला र कालीगण्डकी मिसिएको दोभान गायब थिए। माथि फर्किएर हेरेँ, भर्खरै छिचोली आएको ओरालो र प्रिय सल्लेरी पनि गायब थियो। यो पुलमा आएपछि कमसेकम मोदीकालीले एकर्कोलाई बाहुपासमा बाँधेको हेर्नु मेरो उत्कट रहर हुन्छ।
धर्म, जात, सम्प्रदाय, वर्ग, रंग आदिका कारण पानीझैं मिल्न नजान्ने मानिसहरूलाई व्यंग्य गर्दै नदी र खोलाहरू यसरी आपसमा मिसिएको दृश्यले गम्भिर बनाउँछ मलाई। यही दोभानमा मोदीकालीले एकर्कोलाई धकेलाधकेल गर्छन् र एकछिनपछि प्रेमीप्रेमिकाझैं एकापसमा विलीन हुन्छन्। यही दोभान थियो, जसलाई माथि सल्लेरीबाट हेरेर मैले कविता लेखेथेँ, ‘नदीहरू मान्छेजस्ता हुँदैनन्’।
हुस्सुले ढ्याप्प ढोका लगाएर धेरै दृश्यहरूलाई ढोकाबाहिर थुनिदिएको थियो। ती दृश्यहरू सायद ढोका खुल्ने समय कुरेर बसिरहेका हुँदा हुन्। पुलबाट अघिअघिझैं कुनै सुन्दर दृश्यहरू देखिन्नथे र पनि मलाई लाग्यो, यही बेला झन् सुन्दर दृश्य देखिएको छ।
छ्यांग केही नदेखिने दृश्यको यही सौन्दर्यले मलाई लोभ्याइरह्यो। खुलेका दृश्यहरू हेर्न त सधैं पाइन्थ्यो, आज लुकेका दृश्यहरूमा मन बसिदियो। पुलमा मौसमको जादुगरी हेर्न त यसरी कालीगण्डकीको खोँचभरि अटेसमटेस हुस्सु भरिनुपर्दो रहेछ। बिहानको उज्यालोमै आकृतिहरू लुकाइदिने हुस्सुको कारिगरीले मलाई सम्मोहित पारिदिएको थियो।मलाई मेरो क्यामेराको सम्झना भयो।
पश्चिमी छेउतिर उभिएर एकछिन मैले कुहिरोको जादुगरी हेरिरहेँ। देवेन्द्र दाइ पुलमा छिर्नुभयो र एकैछिनमा उहाँ पनि विलुप्त हुन थाल्नुभयो। रामायण र महाभारत टेलिसिरियलका भगवान्हरू बादलभित्र विलुप्त भएझैं पुल वारपार गरिरहेका मानिसहरू पुलमा हराउँदै गइरहेको दृश्यले कुनै अलौकिक भ्रम दिइरहेको थियो।
मलाई मेरो क्यामेराको सम्झना भयो।हो, मलाई मेरो क्यामेराको सम्झना भयो। स्वचालित मेसिनले झैं जिन्सको अग्रभागको बायाँ पकेटमा हात घुसारेँ र मेरा औंलाहरू पर्खेर चुपचाप बसिरहेको आइफोन झिकेँ। प्रिय कुमार नगरकोटीको काव्यिक उत्कर्षमा म पुग्न सकेको भए ‘औंलाहरू’ कवितामा सायद एक पंक्ति थप्थेँ, ‘मोबाइलको स्क्रिनमा अल्झिएका औंलाहरू।’ अचेल सायद सबैभन्दा बढी यहीँ अल्झिन्छन्, मेरा औंलाहरू।
नोटमा कविता लेख्दा, एल्बम हेर्दा, गेम खेल्दा, फोन गर्दा, मेसेज लेख्दा वा मन परेका तस्बिर खिच्दा स्क्रिनमा सर्किन्छन् मेरा औंलाहरू। मैले आइफोनको स्क्रिन छोएर देवेन्द्र दाइ पुलमा हराउँदै गएका केही तस्बिरहरू लिएँ।यस्तो लाग्थ्यो, दाइ पुलको बीचतिर पुगेर कुहिरोमा खस्नुहुनेछ, बादलमा भगवान्हरू हराएझैं हराउनुहुनेछ। केही ‘सट्’ लिएपछि तस्बिरहरू हेरेँ, चित्त बुझेन। लाइट नपुगेर ती धमिला देखिए।
घना हुस्सुको अद्भुत कला जारी थियो। यस्तो ठाउँमा हुस्सु लहडी हुन्छ। कति खेर आउँछ र कति बेला हराउँछ, अनुमान गर्न गाह्रो हुन्छ। आकाशतिर नउडी जमिनतिर बरालिने अल्छी बादल नै त हो हुस्सु तर फाटिहाल्न यसलाई बढो जाँगर चल्छ।
सबै चिजहरूलाई निलिरहेको हुस्सु घामका किरणहरूले निलिएला कि भन्ने आशंकाले म पुलको पुर्वी छेउतिर हतारहतार लम्किएँ। मेरो दिमागमा एक सुन्दर कल्पनाको जन्म भइसकेको थियो। म त्यसलाई साकार बनाउन चाहन्थेँ। पूर्वीछेउ पुगेँ र पुलको पश्चिमी छेउ हेरेँ। उसरी नै गायब थियो पुल, जसरी पश्चिमतिरबाट हेर्दा त्यसको पूर्वी छेउ गायब देखिएको थियो। म ढुक्क भएँ र मेरो कल्पनाअनुसारको दृश्य पर्खिन थालेँ।
प्रकृतिको भव्यताप्रति म सधैं नतमस्तक हुन्छु। दृश्य त उपलब्ध थियो नै। तर, मलाई हुस्सु नफाट्दै कोही बटुवा हिँडिरहेको पुल चाहिएको थियो। मानिस नहिँड्ने पुल पनि सुन्दर हुन्छ तर मानिसको उपस्थितिमा त्यो झनै सुन्दर बनिदिन्छ।
मेरो कल्पनाको पुलमा मानिसको उपस्थिति जरुरी थियो। केही समयमै एक महिला झोला बोकेर हतारहतार पुलमा पसिन्। अब उनी पनि भगवान् हराएझैं हुस्सुको राज्यभित्र हराउनेछिन्। स्क्रिनको बीचमा हुस्सुमा हराइरहेको पुल र पुलको बीचमा ती महिलालाई पारेर फटाफट केही ‘सट्’ लिएँ। मलाई थाहा थिएन, एल्बममा कस्तो तस्बिर बस्यो ? मैले कल्पना गरेकोजस्तै कि झुर ?
बडागाउँको सल्लेरीभित्र गायब भइसकेको थियो हुस्सु। एल्बम हेरेँ। तस्बिरमा झोला बोकेर पारि तरिरहेकी महिला र अलिक पर केही धमिला मानव आकृतिहरू देखिए। हुस्सुको गर्तमा हराएको पुल देखेपछि म खुसी भएँ। त्यो पुल स्वर्ग पुग्ने पुलजस्तै देखिएको थियो, ठ्याक्कै मेरो कल्पनाजस्तो।
लेननले ‘इम्याजिन’मा गाएजस्तै मेरो लागि स्वर्ग आकाशमा थिएन, यही धरामै थियो। मेरो लागि स्वर्ग मेरो जन्मस्थल बलेवा, जो यो हुस्सुमा हराएको पुल तरेपछि पुगिन्छ। मेरो कल्पना साकार भएर मोबाइलको एल्बममा मुस्कुराइरहेको थियो।
मेरो अनुभव छ, सुन्दर फोटोग्राफी कविताजस्तै कल्पनाशीलता, धैर्य र टाइमिङको उत्पादन हो। जीवनमा विरलै मिल्ने यस्तो अवसर हात लागेको थियो। हृदयका किनारालाई खुसीका लहरहरूले बिस्तारै हिर्काउन थालेको महसुस गरेँ।
…
फोटो मौन आकृतिहरूले बनेको कविता हो जसले मानिसलाई सामान्य स्थितिबाट थुतेर असामान्य स्थितिमा फ्याँकिदिन्छ। बिथोलिदिन्छ। यसले मानिसलाई गहिरो आनन्दमात्र दिँदैन रुवाउँछ, हँसाउँछ, लज्जित पार्छ, आक्रोशित बनाउँछ र गम्भीर पारिदिन्छ। म पनि केही तस्बिरले आनन्दित र केहीले विचलित भएको छु। पछिल्लो समय सिरियाका मानिसहरूले भोगेका युद्ध आतंकका तस्बिरहरू भाइरल बनिरहेछन्।
पाँचवर्षे बालक ओमरान दासनिक हवाई हमलाका कारण घरमा पुरियो। धुलैधुलोले पुरिएको ओमरानलाई घरबाट निकालेर एम्बुलेन्समा राखेको तस्बिर देखेपछि मन विचलित भएको सम्झन्छु। अमेरिकी राष्ट्रपति बाराक ओबामाले शरणार्थीका लागि आयोजित संयुक्त राष्ट्र सम्मेलनमा ६ वर्षे अमेरिकी बालक एलेक्सको पत्र पढेर सुनाएका थिए।
एलेक्सले लेखेको थियो- ‘प्रिय राष्ट्रपति ओबामा,के तपाईंलाई सिरियाको त्यो बच्चा याद छ, जो एम्बुलेन्समा थियो ? के तपाईं कृपा गरेर उसलाई हाम्रो घर ल्याउन सक्नुहुन्छ ? हामी उसलाई आफ्नो परिवार दिनेछौं र ऊ हाम्रो भाइ बन्नेछ।
कहिलेकाहीँ सोच्छु, मानवता केवल बच्चाहरूको छातीभित्र सुरक्षित छ। तर तिनै बच्चाहरू क्यामेरा देखे पनि आत्मसमर्पणमा हात उचाल्न अभिशप्त छन्। पत्रकार ओस्मानले खिचेको चार वर्षीया बालिका हुडाको यस्तै तस्बिर हेरेपछि म विघटित भएको थिएँ।
टर्कीको समुद्री तटमा घोप्टो अवस्थामा भेटिएको तीन वर्षीय बालक ओलान कुर्दीको तस्बिरले अभिव्यक्त गर्ने शोकको कथा लेख्न शब्दहरू कमजोर छन्। डुंगा पल्टिएर सर्वस्व गुमाएका ओलानका पिता अब्दुल्लाले भनेका थिए, ‘मेरो बच्चा दुनियाँको सबैभन्दा सुन्दर बच्चा थियो।
के कोही यस्तो मानिस छ, जसको लागि आफ्नो बच्चा सबैभन्दा सुन्दर नलागोस् ? ‘ सिरियाबाहिर पनि आतंकको टर्नेडो फन्फनी घुमिरहेछ। तर, प्रकृति यति भव्य छ कि हाम्रै वरिपरि यस्ता ‘स्वर्ग जाने पुल’ भेटिन्छन्। अन्नपूर्ण पाेष्ट