‘गड अफ लाइट’ : डा.सन्दुक रूइत


प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार

sanduk

– अस्मीता खड्का

‘ए मैले त देखेँ’ ! मकवानपुरकी आङडोमा तामाङले जब आँखा खोलिन् उनी निकै खुशी र उत्साहका साथ चिच्याइन् । उनको आँखाको ज्योति फर्किएको खुशी साट्दै उनले भनिन् ‘सुतेर उठे जस्तो भयो’ ।

मोतिबन्दुले बर्षौदेखि दुबै आँखाको ज्योती गुमाएकी मकवानपुरकी आङडोमा तामाङले बाहिरी संसार देख्ने आशा छोडिसकेकी थिईन् । बाँचुन्जेल अर्कोको सहारा लिनुपर्ने चिन्ताले पिरोलीरहेकी तामाङको जिन्दगीमा फेरि उज्याले आउने आशा पनि थिएन, किनकी उनी उपचार गर्नका लागि काठमाडौँ आउने पैसा थिएन । तर उनको लागि भगवान बने डाक्टर सन्दुक रुइत ।

उपचारको लागि गाउँगाउँ डुल्ने रुइतले सञ्चालन गरेको आँखा शिबिरमा भेटिएकी तामाङले अहिले दुबै आँखा देख्छिन् । उपचारपछि आँखा खोल्नासाथ डाक्टरलाई अगाडि देख्नवितिकै उनले पटक पटक धन्यवाद दिँदै, दुबै हात जोडिन् ।

यो उनको सबैभन्दा ठूलो खुशी थियो । आफ्नै खुट्टामा हिड्ने हिम्मत थियो । बाँच्ने आशा उनको आँखामा छचल्कीएको थियो । आङ डोमाले बर्षौपछि संसार देख्दा दिएको अभिब्यक्तिले विश्वको ध्यान तानेको थियो ।
त्यस्तै केही समय अगाडि हेटौँडामा १३ वर्षिय रोशन थिङको रोशनी फर्कदा उनले डाक्टर रुइतलाई दिएको धन्यवादको भिडियो छिन् भरमा विश्वभर भाइरल बनेको थियो ।

हेटौँडा सामुदायिक आँखा अस्पतालमा आयोजित तीन दिने आँखा शिविरको पहिलो दिन डा. सन्दुक रूइतको टिमले झण्डै ७० जना मोतियाबिन्दुका रोगीको शल्यक्रिया गरेको थियो ।

‘गड अफ लाइट’

डाक्टर सन्दुक रुइतको नाम लिने वित्तिकै मानिसहरु श्रद्धाले उनलाई ‘गड अफ लाइट’ भन्दै पुकार्छन् । उनलाई शहरमा भेट्न निकै कठिन हुन्छ । तर, दुरदराजका गाउँबस्तीहरुमा झोला बोकेर उकाली ओरालीगर्दै हिँडेको सजिलै भेट्न सकिन्छ, आँखाको ज्योति फर्काउदै गरेको अवस्थामा ।

हुने खानीहरु  त विश्वका जुनकुनै ठाउँमा रहेका हस्पिटलमा उपचार गर्नसक्छन् तर, एक छाक खान विहानसाँझ हाडछाला घोट्नेहरुले के गर्नु ? शायद त्यही भएर होला डाक्टर रुइतलाई ‘गरिवका ज्योति’ पनि भनिन्छ ।

अन्धोपन बेहोरिरहेका मानिसले संसार देख्न सक्नुजतिको ठूलो खुसी अरू केही हुन सक्दैन । अरूको आँखामा प्रकाश दिएर रंगीन दुनियाँको मनोरम दृश्य देखाउने डा.रुइत नेपालका गाउँबस्तीमा मात्र होइन विश्वका ७० मुलुकमा कतै आफै त, कत्तै आफूले आविस्कार गरेको सजिलो र सस्तो प्रविधि मार्फत पुगेका छन् ।

सस्तो मूल्यमा गुणस्तरीय ‘आइओएल लेन्स’का आविस्कारक उनी नै हुन् । उनी आफैले अहिलेसम्म एक लाखभन्दा बढी मोतिबिन्दु भएका मानिसको शल्यक्रिया गरिसकेका छन् । पाँच मिनेटमा एक जनाको अप्रेसन सजिलै गर्छन् ।

मोतिबिन्दुबाट हुने अन्धोपन निवारणमा अतुलनीय भूमिका निर्वाह गरेका डा. रुइत नेतृत्वको तिलगंगा आँखा हस्पिटल विश्वकै नमुना मानिन्छ । तिलगंगाका कार्यकारी निर्देशक डा. रुइत लाखौं गरिब परिवारका आँखाका नानी बनेका छन् ।

को हुन् सन्दुक रुइत ?

सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने विश्वप्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन् रुइत । उनी पद्यश्री अवार्डबाट पनि सम्मानित भएका छन् ।

डा.रुइतको जन्म ताप्लेजुङको तमोरखोलाको शिरमा रहेको ओलाङचुङगोलामा भएको थियो ।

उनी जन्मे हुर्किएको गाउँ पुग्नु अहिले पनि जिल्ला सदरमुकामदेखि चार दिन लाग्छ । बुबा व्यापारी । बुबा सोनामले, नेपाल तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्थे ।
डाक्टर बन्ने सपना बोकेर रुइत ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुगेका थिए ।

सन् १९६२ मा चीन भारतबीच सीमा युद्ध भयो । त्यही युद्धसँगै दार्जलिङका स्कूल बन्द भए । उनलाई बुबाले काठमाडौं ल्याए र सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिए ।

सन् १९७० मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास गरे । त्यसपछि त्रिचन्द्रमा भर्ना भए । त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्तिमा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे ।

एमबिबिएस पास गर लगत्तै नेपाल आएर वीर अस्पतालमा,जनरल फिजिसियनका रूपमा तीन वर्ष काम गरे । फेरि, भारत गएर, अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाले ।

तीन वर्ष एम्समा पढेपछि १९८४मा नेपाल फर्किएर डाक्टर रुइतले त्रिपुरेश्वर आँखा अस्पतालमा काम गर्नु थाले ।

त्रिपुरेश्वर आँखा अस्पतालमा आठवर्ष काम गरेपछि १९८७ मा एकवर्षे अध्ययन गर्नका लागि अस्ट्रेलिया गए । अस्ट्रेलिया अध्यायनक समयमा उनको क्षमता,कामप्रतिको लगनशिलता देखेर अमेरिका, युरोप, अस्ट्रेलियाबाट कामका लागि प्रस्ताव आयो तर, उनी आफ्नो देशमै सेवा गर्ने भित्रि इच्छा थियो, त्यहाँको अध्ययन सकेर उनी नेपाल नै फर्किए ।

आफ्नो देशमा गरिबले पनि उपचार गर्नसक्ने एउटा आँखा अस्पतालको सपना बुन्दै आएका थिए । उनले त्यो सपना र योजनालाई अस्ट्रेलियाका डाक्टर हलोजले हात र साथ दिए ।

अस्पताल बनाउनका लागि अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण, हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डाक्टर रीता गुरुङलगायतले डाक्टर रुइतलाई बलियो साथ दिए ।

साथ पाएपछि १९९४ डाक्टर रुइतले तिलगंगा आँखा केन्द्र स्थापना गरे । जुन अहिले मानव संसाधन तालीम केन्द्र बनेको छ । यस हस्पिटलको उनी कार्यकारी निर्देशक हुन् ।

उनले नेपालका गाउँबस्ती पुगेर मात्र होइन, अमेरिका, उत्तर कोरिया लगायतका देशका जनताको आँखाको ज्योति फर्काएका छन् । त्यसैले उनलाई ‘गडअफ लाइट’ पनि भनिन्छ ।

मोतीबिन्दुका कारण आँखाको ज्योति गुमाएका मानिसका लागि सस्तोमा लेन्स (इन्ट्रा एक्युलर लेन्स ‘आइओएल’) उपलब्ध गराएर ज्योति फर्काउने कार्यमा दिनरात लागेर सफल भएका डाक्टर रुइत अहिले विश्वभर प्रख्यात छन् ।

विश्वभर प्रसिद्धी कमाएसँगै उनी विभिन्न अवार्डबाट सम्मानित भएका छन् । मेगासेसे, थाइल्यान्डको सबैभन्दा सम्मानित प्रिन्स महिदुल एवार्ड, अल्वर्ट आइन्स्टाइन फाउन्डेसनले प्रदान गर्ने ग्लोबल भिजनरी एवार्ड, वल्र्ड इकोनोमिक फोरमले दिने सोसल इन्टरप्रेनरसीप एवार्ड, भुटानको नेसनल एवार्ड लगायतका छन् ।

राष्ट्रिय र अन्तराष्ट्रिस्तरमा प्राप्त गरेका धेरै पुरस्कारको नाम भन्नु डायरी पल्टाएर हेर्नुपर्दछ, उनले हाँस्दै सुनाए ।

आँखाको उपचार, क्षेत्रमा माइलस्टोन खडा गर्ने नेपाली चिकित्सा क्षेत्रको स्थापित वरिष्ठ सर्जन हुन् उनी । २५ वर्षअघि तिलगंगा आँखा अस्पताल स्थापना गरेरका उनी सात प्रदेशमा एउटा एउटा सामुदायिक आँखा हस्पिटल खोल्नु पर्ने बताउँछन् ।

उनले विकास गरेको चिकित्सापद्धति ‘रुइतेक्टोमी’ अहिले विश्वका धेरै मुलुकले अपनाउन थालेका छन् । फलेको वृक्षको हाँगो निहुरिन्छ भनेझैं रुइत पनि सरल, असल र कर्ममा विश्वास राख्ने जनताको आँखाको नानी बनेका छन् । उनलाई भेट्ने जो कोही उनको व्यावहारबाट छिनभरमा प्रभावीत हुन्छन् ।

मोतीबिन्दुका १ लाखभन्दा बढी बिरामीको आँखाको ज्योति फर्काएका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई शहरमा भन्दा दुरदराजमा रहेका जनताको सेवा गर्नुमा आनन्द आउँछ ।

उनले धेरै अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानहरू पाएका छन् । तर सबैको नाम डायरीमा लेखेर राखेका छन् । उनी प्रचारभन्दा काममा समय लगाउनु पर्ने कुरामा बढी जोड दिन्छन् ।

सबैजसो कुरामा परनिर्भरदेखिने नेपालले बेलायत, अस्ट्रेलिया, क्यानाडादेखि विकासशील एसिया, अफ्रिका एवं अन्य महादेशका ४० लाख भन्दा बढी नागरिकलाई नेपालमै निर्मित आइओएल लेन्सले उज्यालो संसार दिन भुमिका खेल्नु आफैंमा गर्वको कुरा हो ।

सन् १९९७ देखि लेन्स उत्पादन गर्न थालेको तिलगंगाले यस बीच ४२ लाख भन्दा बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा दैनिक २ सय उत्पादन हुँदै आएको लेन्सको संख्या अहिले बढेर १ हजार ८ सयभन्दा माथि पुग्न थालेको छ ।

विश्वबजारमा सस्तो र गुणस्तरीय आइओएल लेन्स उत्पादनमा प्रख्यात तिलगंगा आँखा अस्पताल, डा.रुइतले गरेको कठोर परिश्रमको योगफल हो ।

७ जुन १९९४ मा तत्कालीन राजा वीरेन्द्र तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा राखेर उनले आफ्नो सपनाको बीउ रोपेका थिए तर, त्यसको लागि थुप्रै चुनौतीहरूको सामना गर्नुपर्यो ।

डा. रुइत आँखाका बिरामी खोज्दै नपुगेको जिल्ला, क्षेत्र कुनै छैन । उनी विकट क्षेत्रहरूमा शिविर चलाएर अस्पतालसम्म पुग्न नसकेर अध्याँरो जीवन बिताइरहेकाहरूलाई उज्यालो बोकेर गाउँमै पुगेको पाइन्छ । उनी नेपालका बस्ती—बस्तीमा मात्र होइन, एसिया, अफ्रिका, म्यानमार, इण्डोनेशिया, उत्तर कोरिया, चीन, भियतनाम,तथा ल्याटिन अमेरिकाका लगायतका देशहरूमा समेत आँखाका बिरामी खोज्दै हिड्छन् ।

अन्धोपन बेहोरिरहेका मानिसले संसार देख्न सक्नुजतिको ठूलो खुसी अरू केही हुन सक्दैन । अरूको आँखामा प्रकाश दिएर रंगीन दुनियाँको मनोरम दृश्य देखाउने डा.रुइतका लागि जीवनकै सबैभन्दा खुशीको क्षण हुने सुनाउँछन् ।

मोतीविन्दु उपचारको, सजिलो पद्धति अहिले चीनका विभिन्न भूभाग, बंगलादेश, भुटान, भारत, क्याम्बोडिया, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, उत्तर कोरियामा स्थापित भएको छ ।

दक्षिण अमेरिकाबाट डक्टरहरू तालिमका लागि डाक्टर रुइतलाई खोज्दै आउँछन् । मोतीविन्दुको जालो हटाउनु भनेको मानिसको जीवनलाई हराभरा बनाईदिनु हो । जुनकाम उनले निरन्तर गरिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com