ट्याक्स कागजात संसदमा पुग्नबाट रोक्न ट्रम्पबाट दायर मुद्दा ट्रम्प नियुक्त न्यायाधिसबाटै खारेज
प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार
आफ्ना ट्याक्स फाइलका आर्थिक कागजातहरु अमेरिकाको संसदसमक्ष पुग्नबाट रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असफल भएका छन् । उनले न्युयोर्क राज्यलाई ट्याक्स फाइल कागजात संसदसमक्ष बुझाउनबाट रोक्न अदालतमा मुद्दा दायर गरेका थिए । तर उक्त मुद्दा न्यायाधिसले खारेज गरिदिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले नै नियुक्त गरेका संघीय न्यायाधिसले न्युयोर्क राज्यलाई ट्याक्सफाइलका कागजात संसदसमक्ष बुझाउनबाट रोक्न वासिंटन डिसीमा मुद्दा दायर गर्न नसकिने निष्कर्ष सहित ट्रम्पको मुद्दा खारेज गरिदिएका हुन् । अब न्युयोर्क राज्यलाई ट्रम्पका सबै आर्थिक कागजात अमेरिकी संसदमा बुझाउनका लागि बाटो खुलेको छ ।
संसदले ट्रम्पका ट्याक्स फाइलका कागजात माग्न सक्ने न्युयोर्क राज्यको कानुनलाई ट्रम्पले चुनौती दिन चाहन्छन् भने संसदले न्युयोर्क राज्यसँग ट्रम्पका कागजातका लागि अनुरोध गर्दासम्म कुर्नुपर्नेछ । वा ट्रम्पले न्युयोर्क अदालतमा नयाँ मुद्दा दायर गराउन सक्नेछन् ।
अमेरिकी संसदले अहिलेसम्म न्युयोर्क राज्यसँग ट्रम्पका ट्याक्स फाइलका कागजातका लागि अनुरोध गरेको छैन । तर गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै ट्रम्पले मुद्दा दायर गरेका थिए । न्युयोर्क राजयको ट्रस्ट एक्ट नामको कानुनले संसदले मागेको खण्डमा कागजात प्रदान गर्नमा स्वीकृति प्रदान गर्दछ ।
संसदले अनुरोध गरेको खण्डमा न्युयोर्क राज्यले ट्रम्पका ट्याक्स फाइलका कागजात वासिंटन डिसीमा नै पठाउने भएकाले वासिंटन डिसीमा मुद्दा दायर गराउनु उचित भएको ट्रम्पको तर्क छ । तर न्यायाधिस कार्ल निकोल्सले न्युयोर्कको पक्षमा निर्णय गरेका छन् ।