लण्डनबाट उडेको जहाज पुग्यो सिड्नी, विश्वकै लामो ननस्टप यात्रुबाहक उडान
प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार
लण्डनबाट उडेको क्वान्टेस एयरलाइन्सको जहाज शुक्रबार अष्ट्रेलियाको सिड्नी पुगेर विश्वकै लामो ननस्टप उडानको रेकर्ड कायम गरेको छ । अष्ट्रेलियन एयरलाइन्स क्वान्टेसको क्वुएफ ७८७९ यात्रुवाहक उडानले १७ हजार ८ सय किलोमिटरको उडान १९ घण्टा १९ मिनेटमा पूरा गरेको छ ।
विमान झण्डै ५० जना यात्रुहरु बोकेर लण्डनको हिथ्रो विमानस्थलबाट विहिबार उडेको थियो । शुक्रबार दिउसो उक्त विमान अष्ट्रेलियाको पूर्वी भागमा पुगेर अवतरण गर्न सफल भयो । यो उक्त एयरलाइन्सको परिक्षण उडान हो ।
क्वान्टेस एयरलाइन्सले सन् २०२२ वा २०२३ सम्म यो लामो उडानमा यात्रुहरु चढ्न सक्नेगरी सेवा संचालनको तयारी गरिरहेको छ ।
उडानको पहिलो घण्टामा यात्रुहरुलाई व्यापाम गराइएको थियो ।
दुईघण्टापछि ब्रेकफास्टको साटो सपर उपलब्ध गराइएको थियो । त्यतीबेला लण्डनमा विहानको ८ बजेको थियो भने सिड्नीमा बेलुकाको ७ बजेको थियो ।
उडानका क्रममा विमानबाट २ पटक सूर्योदय देखिएको थियो ।
गत अक्टोबरमा क्वान्टेस एयरलाइन्सले न्युयोर्कदेखि सिड्नीसम्म १९ घण्टा १६ मिनेट लामो ननस्टप उडान गरेको थियो । जुन १६ हजार २ सय किलोमिटर लामो थियो ।
तस्वीर : एजेन्सी