अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या विश्वमा १२ औं, गत बर्षको तुलनामा कमी


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेशमन्त्रालयको सहयोगमा इन्स्टीच्युट अफ इन्टरनेशनल एजुकेशनले आज सार्वजनिक गरेको रिपोर्टमा अमेरिकामा शैक्षिक शत्र सन् २०१८/ २०१९ मा अध्ययनरत नेपाली विद्यार्थीहरुको विवरण समेत समेटिएको छ । अमेरिकामा शैक्षिक शत्र भन्नाले सामान्यतया अगस्तदेखि मे महिनासम्मलाई बुझिन्छ ।

यो संख्या एकबर्षमा अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेर अमेरिका जाने नेपालीहरुको संख्या होइन, बरु विभिन्न बर्षमा गएर अमेरिकामा शैक्षिक शत्र २०१८ /२०१९ मा अध्ययन गरिरहेका विद्यार्थीहरुको संख्या हो ।

अघिल्लो शैक्षिक शत्रको तुलनामा २०१८ /२०१९ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्यामा थोरै संख्यामा गिरावट आएको छ । गतबर्षको तुलनामा शुन्य दशमलव ३ प्रतिशतले गिरावट आएको रिपोर्टमा जनाइएको छ । शैक्षिक शत्र २०१७ /२०१८ मा १३ हजार २ सय ७० जना नेपाली विद्यार्थीहरु अमेरिकामा अध्ययनरत रहेका थिए । जसमध्ये ३८० जना स्कलरहरु रहेका थिए ।

शैक्षिक शत्र २०१७ /२०१८ मा ५६६ जना अमेरिकन विद्यार्थीहरु नेपालमा अध्ययनका लागि गएका थिए ।

अमेरिकामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुमा नेपालीहरु विश्वमै १२ औं नम्बरमा रहेका छन् । पहिलोमा चीन, दोश्रोमा इन्डिया, तेश्रोमा साउथ कोरिया, चौथोमा साउदी अरेयिबा, पाँचौंमा क्यानडा, छैठौंमा भियतनाम र सातौंमा ताइवानका विद्यार्थीहरु रहेका छन् । आठौंमा जापान, नवौंमा ब्राजिल, दशौंमा मेक्सिको र एघारौंमा नाइजेरियाका विद्यार्थीहरु छन् ।

गतबर्ष इरानका विद्यार्थीहरु ११ औं नम्बरमा थिए भने २०१८ २०१९ मा नाइजेरियाका विद्यार्थीहरु ११ औं नम्बरमा छन् । तर नेपाली विद्यार्थीहरु भने गतबर्ष र यो बर्ष १२ औं स्थानमा नै छन् ।

कुल नेपाली विद्यार्थीहरुमध्ये अण्डरग्रयाजुएटमा ७ हजार ४ सय ७१, ग्रयाजुएटमा ४ हजार ३७, नन डिग्रीमा १२७ र १५ सय ९४ जना विद्यार्थीहरु रहेका छन् । गत शैक्षिक शत्रको तुलनामा ग्रयाजुएट लेभलका नेपाली विद्यार्थीको संख्यामा ११ प्रतिशतले गिरावट आएको छ भने ओपीटीमा रहेका विद्यार्थीहरुको संख्या २६ दशमलव ४ प्रतिशतले बढेको छ ।

गत मार्चमा स्टुडेण्ड एण्ड एक्सचेन्ज भिजिटर इन्फर्मेशन सिस्टम सेभिजमा अद्यावधिक नेपाली विद्यार्थीहरुको संख्या १५ हजार ५ सय १ देखिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com