डोटी र स्याङ्जामा एक हजार र पाँच सयका नक्कली नोट फेला, यस्ता छन् नक्कली नोट


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताउनुभयो ।

वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइएको आचार्यले बताउनुभयो । पछिल्लो एक हप्ताको अवधिमा पाँच सयका चार वटा र एक हजारको एउटा गरी पाँचवटा नक्कली नोट भेटिएको प्रमुख आचार्यले बताउनुभयो ।

“गएको सोमबारबारदेखि बिहीबारसम्मको अवधिमा निरन्तर एक÷एक वटाको दरले नक्कली नोट जम्मा गर्न ल्याएको पाइएको थियो”, शाखा प्रमुख आचार्यले भन्नुभयो, “चार÷पाँच दिन निरन्तर नक्कली नोट भेटिएको तर अहिले देखिएको छैन, फेरि आउनसक्ने भएकाले सचेत हुन आवश्यक रहेको छ ।”

राष्ट्रिय सहकारी बैंकमा जम्मा भएको शङ्कास्पद नोटलाई मेसिनबाट परीक्षण गर्दा नक्कली भएको पत्ता लागेको र वालिङस्थित अन्य बैंकमा पनि उक्त नोटलाई मेसिनमा राखेर परीक्षण गर्दा नक्कली भएको खुलेको थियो । सहकारी संस्थामा नक्कली नोट परीक्षण गर्ने मेसिन नभएको हुँदा नक्कली नोटको कारोबार हुनसक्ने भएकाले यसप्रकारको मेसिन राख्न पनि शाखा प्रमुख आचार्यले सुझाव दिनुभएको छ ।

डोटीको दिपायलस्थित एनसिसी बैंकमा ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा भेटिएको नेपाली रु एक हजारका दुई नक्कली नोट ।

डोटीमा रु एक हजारको नक्कली नोट

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा रु एक हजारको नक्कली नोट फेला परेको छ । दिपायलस्थित एनसिसी बैंकमा एक जना ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा रु एक हजारका दुई वटा नक्कली नोट फेला परेको हो ।

बैंक कर्मचारी अनिल शाहीले बैंकमा रु ३५ हजार जम्मा गर्न आएका एक जना ग्राहकको रकममा रु एक हजार दरका ती दुई नक्कली नोट फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जना ग्राहक रकम जम्मा गर्न आउनुभयो, हामीले रकम जम्मा गर्ने बेला हेर्दा दुई नोट नक्कली भएको फेला पा¥यौँ ।” अन्य रुपैयाँभन्दा उक्त रुपैयाँको कागज फरक खालको तथा फोटोकपी कागज जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाइ छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोट आए सो विषयमा अनुसन्धान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्मरुपमा अध्ययन र छानबिन हुनेछ ।” डोटीमा नक्कली रुपैयाँ भेटिएको यो पहिलो पटक हो । बैंकमा जम्मा गर्ने समयमा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com