वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी– पूर्वप्रधानमन्त्री भट्टराई


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताउनुभएको छ ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आज पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो गर्दै उहाँले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पार्टीे नयाँ सोचका साथ राजनीतिमा आएको बताउनुभयो ।

जनताका आशा एवं अपेक्षालाई समाजवादी पार्टीले पूरा गर्ने बताउँदै उहाँले कास्की क्षेत्र नं २ मा पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन आग्रह गर्नुभयो ।

चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका वडा नं १६ अर्मला पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले देशविदेशमा प्राप्त अनुभवलाई राजनीतिमार्फत संसद्मा पुगी आफ्नै देशमा उपयोग गर्ने बताउनुभयो ।

जनताले मौका दिए काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जालझेल र झुठको राजनीति कहिल्यै नगर्ने विश्वास व्यक्त गर्नुभयो । व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने उहाँको भनाइ छ ।

पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको सो पार्टीका प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com