शनिबार साहित्य : आमा ! तिमीलाई सम्झेर रोएँ (कविता)
प्रकाशित मिति : श्रावण २९, २०७३ शनिबार
– नदिया
(नदियाको यो तस्विर उनले अभिनय गरेको नाटकबाट लिइएको हो ।)
म रोएँ आज, बेस्सरी रोएँ
तिम्रो न्यानो काख र मेरो बालापन सम्झेर रोएँ
तिम्रो स्नेह र मायामा पग्लिएर रोएँ
तिम्रो त्याग र पसिनाको मूल्य बुझेर रोएँ
यति ठूलो भिडमा हिडदा सधै एक्लो भएँ अनि तिमीलाई सम्झेर रोएँ
म जहॉ-जहॉ गए, मनमा तिमीलाई लिएर गएँ
मन्दिर अनि गुम्बामा तिमीलाइ सम्झेर रोएँ
सपनामा होस् या कल्पनामा तिमी छौ मेरो साथमा
कहॉ पाईन मैले तिमीलाई फूलमा होस् या पातमा
यो हरियालीमा, शीतल छहारीमा
भेट्न आउनु तिमी मलाई हरेक जुनेली रातमा
म रोएँ आज, बेस्सरी रोएँ
तिम्रो लामो सुस्केराहरुको अर्थ बुझेर रोएँ
लुकाएर खसालेका ऑसुहरु सम्झेर रोएँ
हो आमा,
तिमीले म प्रति देखेका विशाल सपनाहरु
सम्झेर रोएँ
तिम्रो आशिष लागेछ आमा,
म तिम्रो सपनाको शहरमा छु अहिले
र, लागिरहेको छ आज संसार जितेको छु
तर मेरो जीतमा खुशी भैदिने तिमी छैनौ साथमा
त्यसैले आज तिम्रो बियोगमा म
भक्कानिई रोएँ, बेस्सरी रोएँ
फेरी अतितलाई एकपटक पस्केर रोएँ
तिमीलाई संझेर आमा धेरै बेर रोएँ ।
ब्रूकलिन, न्यूयोर्क