भक्तपुरमा नेकपाले जितेको स्थानमा काँग्रेस उम्मेदवार विजयी , के होला कास्की, बागलुङ र दाङ ?


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

विगतमा नेकपाले जितेको भक्तपुर जिल्ला क्षेत्र नम्बर १ को १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरे भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरे । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

अब ध्यान कास्की, बागलुङ र दाङमा

अब सबैको ध्यान कास्की, बागलुङ र दाङतर्फ रहेको छ ।

कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई चुनावी मैदानमा रहेका कारण सबैको चासो बढेको हो । अहिलेसम्मको चुनावी नतिजा अनुशार नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्याले नै अग्रता लिइरहेकी छिन् । खासगरी कास्कीमा नेकपाको सिट खोसिएला कि कायम रहला भन्नेतर्फ सबैको चासो रहेको छ ।

त्यस्तै बागलुङको चुनावलाई पनि महत्वका साथ हेरिएको छ । गण्डकी प्रदेश सभा सदस्य अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ को २ बाट निवार्चित टेकबहादुर घर्तीको मृत्युभएपछि रिक्त पदमा निर्वाचन भएको हो ।राष्ट्रिय जनमोर्चाका घर्ती बाम गठबन्धनबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

त्यस्तै दाङको निर्वाचन क्षेत्र नं ३ को २ मा प्रदेशसभा सदस्यका लागि भएको चुनावप्रति पनि सबैको चासो छ । दाङमा यसअगाडि नेकपाका स्वर्गीय उत्तरकुमार वलीले चुनाव जितेकोमा उनकी पत्नी बिमलाकुमारी खत्री ९वली० अहिले चुनावी मैदानमा छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com