नेकपा सांसद : भक्तपुरमा गुमायो, कास्कीमा कायमै, के होला बागलुङ र दाङ ?


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

कास्कीमा प्रतिनिधिसभा सदस्य एवं भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभा सदस्यका लागि भएको चुनावमा सबैको मुख्य ध्यान छ । विगतमा चारै स्थानमा बामपन्थीले जितेका थिए, ती मध्ये भक्तपुरमा अहिले नेकपाले सिट गुमाउनुपरेको छ, यो नेकपाका लागि राम्रो संकेत होइन ।

विगतमा बामपन्थीहरुले जितेका ४ मुख्य स्थानमा भएको उपनिर्वाचनमध्ये भक्तपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस विजयी भएको छ भने कास्की क्षेत्र नम्बर २ मा नेकपाले नै विगतको विराशत कायम गरेर चुनाव जितेको छ । अब सबैको ध्यान बागलुङ र दाङतर्फ रहेको छ । ती दुई जिल्लामा रिक्त प्रदेश सभा सदस्यका लागि उपचुनाव भएको हो ।

विगतमा नेकपाले जितेको भक्तपुरमा काँग्रैसले जित्यो

विगतमा नेकपाले जितेको भक्तपुर जिल्ला क्षेत्र नम्बर १ को १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरे भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरे । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

कास्कीमा इतिहास कायम, नेकपाकी भट्टराई विजयी

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी भएकी छिन् ।

उहाँ २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन् । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

 

अब ध्यान बागलुङ र दाङमा

अब सबैको ध्यान बागलुङ र दाङतर्फ रहेको छ । बागलुङको चुनावलाई पनि महत्वका साथ हेरिएको छ । गण्डकी प्रदेश सभा सदस्य अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ को २ बाट निवार्चित टेकबहादुर घर्तीको मृत्युभएपछि रिक्त पदमा निर्वाचन भएको हो ।राष्ट्रिय जनमोर्चाका घर्ती बाम गठबन्धनबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

त्यस्तै दाङको निर्वाचन क्षेत्र नं ३ को २ मा प्रदेशसभा सदस्यका लागि भएको चुनावप्रति पनि सबैको चासो छ । दाङमा यसअगाडि नेकपाका स्वर्गीय उत्तरकुमार वलीले चुनाव जितेकोमा उनकी पत्नी बिमलाकुमारी खत्री ९वली० अहिले चुनावी मैदानमा छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com