५ महिलाले नेतृत्व गर्दै फिनल्याण्डको सरकार, ३४ बर्षकी सान्ना मरिन प्रधानमन्त्री बन्दै
प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार
३४ वर्षीया सान्ना मरिनले फिनल्यान्डकी प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गर्ने भएकी छिन् । पदभार ग्रहणपछि उनी विश्वकै सबैभन्दा कम उमेरकी पदासिन प्रधानमन्त्री हुने भएकी छन्।
उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। अर्थात् आगामी सरकारको नेतृत्व ५ महिलाले गर्ने भएका छन् ।
प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो।
नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने भएका छन्।
हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएका थिए। त्यसपछि उनले राजीनामा गरे।
मरिन नोर्डिक देशमा प्रधानमन्त्री हुने तेस्री महिला हुन्। गत अप्रिल महिनामा गरिएको निर्वाचनमा सोशल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेको थियो।
त्यसैले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ।
सान्ना मरिनलाई उनकी आमाले एक्लै हुर्काएकी थिइन् तथा उनी उक्त परिवारबाट विश्वविद्यालय जाने प्रथम व्यक्ति हुन्।