अमेरिका लगायतका देशमा बस्ने नेपालीमा अरुलाई नगन्ने प्रबृत्ति निकै बढेछ : प्रा.डा. खगेन्द्र लुइटेल


प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

प्राध्यायक डाक्टर खगेन्द्र लुइटेलले अमेरिकामा नेपालीहरुको चुर्क्याइँ गर्ने प्रवृत्ति विगतको तुलनामा अझ बढेको टिप्पणी गर्नुभएको छ । केहीदिन अगाडि अमेरिकाको भ्रमणमा आउनुभएका उहाँले खसोखाससँगको कुराकानीमा भन्नुभयो – ‘चुर्क्याइँको मात्रा घट्नुपर्ने थियो तर अझ बढेको देखें ।’

यस्तो प्रवृत्ति अमेरिकामा मात्र नभई विदेशमा बस्ने नेपालीहरुमा बढेको उहाँको भनाई छ । एउटाले अर्कोलाई नगन्ने र एकले अर्कोलाई मट्यांग्रा हान्ने प्रवृत्ति निकै गलत रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पहिचान वीरताको थियो, शान्तिको थियो । तर यस्तै गर्दै जाने हो भने पछि पछि चुर्के नेपाली भन्ने पहिचान बन्ने हो कि भन्ने चिन्ता छ ।’

क श्रेणीको महेन्द्र विद्याभूषण, सम शतवार्षिकी सम्मान, अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनबाट विशेष सम्मान–अभिनन्दन, नोबल साकोस दुर्गा–विष्णु समालोचना र साहित्य सम्मान तथा पुरस्कार लगायत एकसयभन्दा धेरै सम्मान र पुरस्कारहरु प्राप्त गरिसक्नुभएका लुइटेल त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा सम्बद्ध हुनुहुन्छ । २०३३ सालदेखि शिक्षण र प्राध्यापन पेशामा रहनुभएका उहाँले एकसयभन्दा धेरै पुस्तक लेखन, प्रकाशन र सम्पादन गर्नुभएको छ ।

प्रस्तुत छ उहाँसँग खसोखासका प्रधानसम्पादक किशोर पन्थीले गर्नुभएको कुराकानीको सारसंक्षेप ।

 

अमेरिका भ्रमणमा त पटक पटक आउनुहुन्छ, अहिलेको भ्रमण कतिऔँ होला ?

अहिले त गन्नै छाडिसकें । पुराना पासपोर्टहरु केलाएर हेर्नुपर्छ ।

खासगरी यो पटकको भ्रमण केका लागि थियो ?

सुरु सुरुमा अमेरिका हेर्न मन लागेर आएको थिएँ । कैँयौ पटक अमेरिका बाध्यतामा आएको छु । यसपटक पनि बाध्यताकै भ्रमण हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले २५ सय डलरको राम लामा विशिष्ट प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णण गरेछ । समाजको सबैभन्दा ठूलो पुरस्कार दिएकाले नआउँदा अप्ठ्यारो लागेकोले आएको हुँ ।

पहिले पनि थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरु पाउनुभयो । यो पुरस्कार पाउँदा कस्तो लाग्यो ? पुरस्कार ठूलो सानो हुन्छ ?

पुरस्कार सानो ठूलो हुन्छ । विषयगत रुपमा पनि र रकमले पनि पुरस्कार ठूलो सानो हुन्छ । तर कुनै पुरस्कार सानो हुँदा पनि त्यसको महत्व निकै ठूलो हुन्छ । कुनै पुरस्कार निकै ठूलो भएपनि त्यसको खासै महत्व हुँदैन । नेपालमा अहिले पुरस्कार लेनदेनको रुपमा हुने गरेको छ । हुँदा हुँदा खादामाला र दोसल्ला आफै किनिदिएर एउटा संस्थालाई कार्यक्रम आयोजना गर्न लगाएर सम्मान गराउने गरिन्छ ।

जसले ‘राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार धेरै पाएँ, अब चाहिन्न’ भन्छ, त्यो त अब पुरस्कार दिंदैनन् भन्ने अनुभूति गरेपछि बोल्छन् । सम्मान र पुरस्कार ‘मलाई धेरै भो पुग्यो’ भन्ने कहिले पनि हुँदैन । यो मनोवैज्ञानिक कुरा हो । यस्तोमा ढाँट्नु हुँदैन । मेरो त स्पष्ट कुरा छ, म यो पुरस्कार पाउँदा निकै खुशी छु । पहिलो पुरस्कार पाउँदा र अहिले पाउँदा खुशीको मात्रा घट्दैन, तर देखाउने मात्रा चाही घट्छ । मैले नेपाली भाषा साहित्यमा गरेको योगदानको मुल्यांकन गरेर सबैभन्दा ठूलो राशीको पुरस्कार दिइएको छ । यसमा म खुशी छु ।

तपाईले यस्ता पुरस्कारलाई गुलिया मट्यांग्रा भन्नुहुन्थ्यो त ! यसपाली अलि ठूलै मट्यांग्रा पाउनु भएको हो ?

मैले विगतको अन्तरवार्तामा त्यो भनेको थिएँ । त्यो गुलिया मट्यांग्राको अर्थ अहिले पनि सान्दर्भिक छ । दुईसय डलरको पुरस्कार नेपालमा दिएर कुनै काम लगाउने परिपाटी छ । मेरो त्यो गुलिया मट्यांग्रा भन्ने कुरा बडो सांकेतिक थियो । अमेरिकाबाट व्यक्तिगत रुपमा कसैलाई प्रभावित बनाएर केही प्राप्त गर्ने उद्देश्यले मट्यांग्रोको हान्ने परिपाटी अहिले पनि उत्तिकै छ ।

अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जुन पुरस्कारको व्यवस्था गरेको छ, यसमा म खुशी छु । अहिले योगदान गर्नेलाई पनि सम्मान गर्न थालिएको छ ।

तर तीनलाखको पुरस्कार थाप्न आउँदा खर्च त निकै भए होला नि ?

कतिपयले एकलाख पुरस्कारको लागि दुई तीन लाख खर्च भयो भन्ने गरेका गुनासो पनि सुनिए । तर कुरा त्यस्तो होइन । सम्मानमा सदासयता लुकेको हुन्छ जुन करोडौँमा पनि पाईदैन । मैले कुनै पुरस्कार ठूलै राशीका पाएको पनि तिनीहरुको नाम लिन त्यत्ति मजा लाग्दैन । कतिपय पुरस्कार सानो सानो राशीका भएपनि जुन प्रकारले सम्मान पूर्वक दिइन्छ, त्यसको महत्व हुनछ । यी पुरस्कारमा रकमभन्दा सम्मान ठूलो हुन्छ । त्यसकारण यहाँ आएर मैले पुरस्कार लिनलाई यति उति खर्चभयो भन्नु राम्रो होइन ।

अमेरिकामा नेपालीहरुको चुर्क्याइँ गर्ने प्रवृत्ति बढ्यो भन्नुहुन्थ्यो । अहिले पनि उस्तै छ कि परिवर्तन भयो ?

होइन, परिवर्तन देखें । त्योबेला आउँदा जति मात्रा थियो, त्यो मात्रा अझ बढेको देखेँ । यस्तो चुर्क्याइँ गर्ने मात्रा घट्नु पर्दथ्यो । निमिट्यान्न हुनुपर्दथ्यो । तर बढेछ । मैले त्यो कुरा विभिन्न सन्दर्भलाई मिलाएर सांकेतिक रुपमा भनेको थिएँ । यहाँ राजनीतिक, आर्थिक र समाजिक चुर्क्याइँ पनि छ । यो निकै गलत हो ।

नेपालबाट कुनै राजनीतिक पार्टीको नेता विमानस्थलमा आउनासाथ त्योसँग आबद्ध भएका र हुन चाहनेहरु खादा लिएर त्यहाँ पुग्दछन् । यो खादा संस्कृतिको पनि विरोधी हुँ । त्यो खादामा के लेखेको छ भन्ने पनि हामी पढ्न जान्दैनौं । एक पटक चीनका राजदुतलाई ओढाइएको खादामा स्वतन्त्र तिब्बतको नारा लेखिएको रहेछ । लगाइदिने मान्छेलाई त्यो कुरा थाहा भएन । यस्ता खादा संस्कृतिको अन्त्य गर्नु जरुरी छ । यो राजनीतिक चुक्र्याईसँग खादा संस्कृति पनि जोडिएको छ । नेपालबाट आउने नेताले हिड्नुभन्दा पहिले नै ‘एयरपोर्टमा कम्तिमा ३०/४० जना आउनुपर्छ नत्र त लाजैमर्दो हुन्छ’ समेत भन्छन् ।

यताका पनि नेपालमा घर जाँदा खरर्र गएर नेता वा मन्त्रीसँग फोटो खिचेर ठूलै मान्छेसँग सम्बन्ध भएको देखाउन खोज्छन् । यो प्रवृत्ति नेपालीमा बढी छ । अमेरिकी राष्ट्रपति आउँदा त नेपालीको जस्तो तँछाडमछाड त हुँदैन । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको एउटा मर्यादा हुन्छ । राजनीतिक हिसाबले हामीले संस्कारको विकास गरेर मर्यादा कार्यम गर्नु भनेको खादा लगाउनु, फुलका गुच्छा दिनु र सेल्फी खिच्नु मात्र होइन । यो राजनीतिक चुर्क्याइँ
उताबाट ल्याएको हो । अहिले उता भन्दा यता बढी भैसक्यो ।

विदेशमा बस्ने नेपालीहरु राम्रो अवसरकोे आउँछन् । सुरुमा खानको समस्या, कमाउन थाले पछि पहिचानको संकट । यी संघ संस्थाहरु खोलेको केका लागि ? आफ्नो गुम्दै गएको पहिचान देखाउनको लागि न हो । तपाईहरु यहाँ राम्रो अवसरको खोजीमा आउनुभएको छ । तपाईहरुले कमाएको हिस्सा यस्ता कुरामा खर्च गर्नुभन्दा आफ्नो ठाउँमा शिक्षा, स्वास्थ्य वा रोजगारीको क्षेत्रमा लगानी गर्दिनुस् । त्यसले तपाईको पहिचान बनाउँछ । यस्तो काम गरेर २५ वटा माला लगाएपनि कुनै गुनासो छैन । भूकम्प गएको बेला दुई पोका चाउचाउ दिएर, उता दिएको हो कि फोटो खिचेको हो जस्तो गरेर सामाजिक सञ्जालमा हालियो । यस्ता चुक्र्याईंको मात्रा क्रमशः घट्न पर्ने, शुन्य हुनुपर्नेमा बढ्दै गरेको देखिन्छ ।

अनि विदेशमा खासगरी बेलायत अमेरिका जस्ता देशमा बस्ने नेपालीहरुमा एउटाले अर्कोलाई नगन्ने प्रवृत्ति पनि निकै छ । एकले अर्कोलाई मट्यांग्रा हान्ने यो प्रवृत्ति छ । हाम्रो पहिचान वीरताको थियो । शान्तिको पहिचान थियो । यस्तै गर्दै जाने हो भने पछि पछि चुर्के नेपाली भन्ने पहिचान बन्ने हो कि भन्ने चिन्ता छ ।

भाषा आन्दोलनमा लामो समयदेखि लाग्नुभयो । अहिले नेपाली मिडिया खासगरी अनलाईनमा प्रयोग हुने भाषालाई कसरी हेर्नुभएको छ ?

भाषा आन्दोलन गर्नुपर्ने वातावरण सृजना नगर्नुपथ्र्यो, गरियो । यो आन्दोलन अन्तर्गत हामीले त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षा निर्देशिका खारेज गरायौं । नेपाली बृहत् शब्दकोश खारेज गरायौं । उच्चमाध्यमिक शिक्षा परिषदबाट निकालिएको कक्षा ११ र १२ को अनिवार्य नेपाली सच्चायौं । स्कुल तहदेखिका देवनागरी लिपीमा लेखिएका सबै किताब मानक वर्ण विन्यास अनुरुप सच्चाउने काम गरिसकेका छौं । हाम्रो त्यो अदभूत सफलता नै हो । यो आन्दोलनमा सबैभन्दा बढी संचारमाध्यमको साथ रह्यो । कुनै पनि सञ्चार माध्यमले भेदभाव नगरिकन साथ दिनुभयो ।

अब आयो मिडियामा प्रयोग हुने भाषाको कुरा । अनलाइनहरुले सर्वसाधारणहरुलाई तुरुन्तै प्रभाव पार्नसक्छन् । सञ्चारकर्मी साथीहरुलाई मेरो आग्रह के छ भने असुद्ध भाषा प्रयोग गरेर सञ्चारलाई अगाडी बढाउने काम नगर्नुहोस् । यसले निकै ठूलो नोक्सानी गर्दछ । मैले कहिलेकाँही यो असुद्ध भयो मिलाउनुस् भन्दा फलानो अनलाइनमा यस्तो आएको छ, त्यही मान्दा हुँदैन भन्ने गरेको समेत सुन्छु ।

मिडियाहरुले शुद्धता तर्फ ध्यान दिनुपर्छ । युनिकोडबाट लेख्दा असुद्ध हुने समस्या पनि छ, त्यसलाई पनि मिलाउनुपर्छ । तपाईले एउटा अँग्रेजी र अर्को नेपाली पत्रिका अगाडी राखेर हेर्नुस् । अंग्रेजीमा सबै शब्द शुद्ध निस्कनु पर्ने नेपालीमा जसो गरेर पनि छापिनुपर्ने मानसिकता गलत छ । अँग्रेजी भाषा साँच्चैको भाषार नेपाली भाषा कमजोर भाषा त होइन नि !  सम्पन्नताको हिसावले नेपाली भाषा धैरै नै सम्पन्न छ । अनलाइनहरुले समाचार कपीपेष्ट गर्दा एउटा गलत लेखेमा सबैले त्यही कपीपेष्ट गर्छन् । कपीपेष्ट गरेर अनलाइन चलाउने प्रबृत्ति रोकिनुपर्छ ।

त्यस्तै हामीले नेपाल सरकारका विभिन्न निकायलाई भन्ने गरेका छौं कि तपाईहरुले जारी गर्ने परिपत्रहरु शुद्ध नेपाली भाषामा हुनुपर्छ । त्यसको लागि हरेक मन्त्रालयमा र विभागमा भाषाविज्ञ राख्नुस् । आफ्नो भाषा विकाशका लागि एउटा कर्मचारी राख्न सकिदैन ? ह्वाइटहाउसले असुद्ध प्रेस विज्ञप्ती त निकाल्दैन । हाम्रोमा ‘श्रद्धाञ्जली’ लेख्ने ठाउँमा ‘बधाई’ लेखेर पठाएको पनि पाइयो ।

मिडियामा प्रयोग हुने भाषाका आदरार्थी शब्द प्रयोगबारे पनि ध्यान दिनुपर्छ । प्रधानमन्त्रीले पनि यसबारेमा कुरा उठाउनुभएको थियो, जुन जायज हो । सञ्चार माध्यममा ‘प्रधानमन्त्रीले यसो भने, राष्ट्रपतिले उसो भनिन्’ भन्ने जानेर गरेको हो कि गल्तीले ?

पञ्चायत कालमा ‘होइबक्सनुहुन्छ’ भन्ने नलेख्दा मान्छेका जागिर समेत गएका छन् । यस्तो भाषा प्रयोग गर्नुपर्छ भन्ने प्रकृतिको मान्छे पनि म होइन । तर प्रधानमन्त्रीले ‘यसो भने भन्ने तर फलानो डनले गोली हानेर हत्या गर्नुभयो’ भनेर लेख्न त भएन नि ! सबैलाई एउटै आदरार्थी प्रयोग गर्ने नाममा ‘तपाई’लाई तानेर ‘तिमी’मा झारेर बराबर भयो भन्न मिल्दैन । माथि भएकोलाई तल तानेर सबै बराबर भयौं भन्ने नेपाली प्रवृत्ति भाषामा पनि देखिन्छ । अवस्था अनुसार संचारमाध्यममा तँ, तिमी, हजुर सबै प्रयोग गर्नुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com