मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २३ मेगावाट विजुली कम उत्पादन
प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा २३ मेगावाट विद्युत् कम उत्पादन हुँदै आएको छ । कात्तिक महिनाको दोस्रो सातादेखि नदीमा पानीको बहावमा कमी आएसँगै विद्युत् उत्पादन कम भएको हो ।
हिमालबाट बगेर आएको नदी भएको र जाडोको समयमा घामको तापक्रम घट्ने हुँदा हिमाल पनि कम पग्लने र वर्षा पनि कम हुँदा विद्युत् उत्पादनमा समेत असर पर्ने गरेको केन्द्रका विद्युत सहायक सन्तोषकुमार श्रेष्ठले बताए । उक्त केन्द्रबाट २३/२३ मेगावाट क्षमताका तीन वटा टवाईनबाट ६९ मेगावाट उत्पादन हुने गरे पनि पानीको बहाव घटेका कारण दिउँसो दुई वटाबाट ४६ मेगावाट मात्रै उत्पादन हुँदा २३ मेगावाट कम उत्पादन हुने गरेको केन्द्रका सहायक श्रेष्ठले बताए ।
उनका अनुसार रातको समयमा भने तीनवटै टर्वाइनबाट गरी ६९ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।
दिउँसो दुई वटा टर्वाइन मात्रै सञ्चालन गर्दा पानी सङ्कलन हुने र त्यसपश्चात रातको समयमा प्रयोग गरी पूर्णक्षमताको सञ्चालनमा ल्याउन सकिएको उनले जानकारी दिए । चैत पहिलो हप्ताबाट गर्मी बढ्ने र हिमाल धेरै पग्लिने हुँदा मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्ने र पुनः पूर्णक्षमताको मेगावाटमा ल्याउन सकिने केन्द्रका प्रमुख राजेशकुमार पाण्डेले बताए । ‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव बढ्ने बित्तिकै विद्युत् उत्पादन क्षमतामा वृद्धि हुन्छ । उनले भने , “असोज महिनासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदै आएको थियो ।”- केन्द्रबिन्दु