बुटवल सडक मानवमुक्त उपमहानगर घोषणा


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगर, प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको हो ।

शनिबार आयोजित कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले घोषणा प्रतिवद्धता पत्र पढेर सुनाएका थिए भने बुटवलका मेयर शिवराज सुवेदीले सहभागी सबैलाई सामूहिक प्रतिवद्धता गराए । मेयर सुवेदीले अब बुटवलमा कोही पनि नागरिक गाँस, बास र कपासका लागि भौतारिने र सडकमा रात बिताउनुपर्ने अवस्था नरहने बताए ।

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सडकमा रहेका सहयोगापेक्षीहरुको व्यवस्थापनको दायित्व सरकारको भएको बताए । उनले मानव अधिकारको संरक्षण गर्ने दायित्व सरकारको भएकाले नगर सरकारले यसको जिम्मेवारी निर्वाह गरेको बताए । मन्त्री केसीले कोही पनि व्यक्ति सडकमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सरकार लागेकाले सहयोग गर्न सबैलाई आह्वान गरे । यस्तै उद्योग पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश ५ लाई नै मागेर खान नपाइने क्षेत्र बनाइने दाबी गरे ।

सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिका र मानव सेवा आश्रमबीचको सहकार्यमा गत वर्ष पुस ७ गतेदेखि एक वर्षको अवधिमा १९७ को उद्धार गरिएको आश्रमका सञ्चालक रामजी अधिकारीले जानकारी दिए । घोषणा कार्यक्रममा सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि योगदान पु¥याउने मानव सेवा आश्रमका सुशीला केसी, सरु अधिकारी, टीकामाया थापा, गङ्गा थापा र होमनाथ पौडेललाई सम्मान गरिएको थियो । घोषणा सभापूर्व बुटवलमा झाँकीसहित बृहत् ¥याली निकालिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com