नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी एकतापछि एजेन्डामाथि छलफल गर्न पार्टीले बैठक बोलाएको हो । पुस २३ गते केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी दिए ।

पुस २३ देखि केन्द्रीय समिति बैठक डाक्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो । तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन् ।

सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने नेकपाको तयारी छ । केन्द्रीय कमिटीमा यो एजेन्डाले पनि प्रवेश पाउनेछ । यसअघि गत वर्ष जेठमा केन्द्रीय कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठक पनि एक वर्षपछि नेकपाले गत मंसिर २९ गतेदेखि बोलाएको थियो ।

स्थायी कमिटी बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले राखेको विधान संशोधन सम्बन्धी प्रतिवेदनमाथि छलफल गरिराखेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com