न्युयोर्कका विभिन्न स्थानमा खसे आइसका टुक्रा, टाइम्स स्क्वायर नजिकै खस्दा छैठौं एभिन्यु बन्द


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

आइतबार विहानै न्युयोर्कको टाइम्स स्क्वायर नजिक छैठौं एभिन्युमा खसेको आइसको विशाल टुक्राका कारण प्रहरीले बाटो नै बन्द गराउनु परेको छ । बैंक अफ अमेरिकाको भवनबाट खसेको आइसको टुक्राका कारण ४२ र ४३ स्ट्रीटको बीचमा बन्द गराउनुपरेको थियो ।

पग्लनुअगाडि बाटोमा केही आइसका टुक्राहरु देखिएका थिए । आइसका टुक्रा खसेर कोही पनि घाइते भने भएका छैनन् । बाटोमा आइसका टुक्रा खस्दा आफू बाहिर रहेको र आइसका टुक्रा खसेपछि सुरुमा आफू नर्भस भएको सुरक्षा गार्डले बताएकी छिन् ।

धेरै टुक्रा नभएपनि ठूलो टुक्रा भएका कारण मान्छेहरु आत्तिएका थिए । र घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले त्यसक्षेत्रबाट हिडेका पैदलयात्रीलाई अर्कोतर्फबाट हिड्न भनेका थिए ।

यो घटना न्युयोर्कको कोलम्बस सर्कलमा एकजना पैदलयात्रीमाथि आइसको टुक्रा बज्रिए लगत्तै भएको हो । आइसको टुक्राले लाग्दा ती पैदलयात्री घाइते भएका थिए । आइसले टाउकोमा लागेपछि तत्कालै लेनक्स हिल अस्पताल लगिएको थियो ।

म्यानहटनका कैयन स्थानमा आइस खसेका घटनाहरु भएका छन् । प्रहरीले यस्ता घटनाका कैयन फोनकलहरु आएको जनाएको छ । घटनाका कारण सातौं एभिन्यु र ब्रोडवेको बीचमा ५८ स्ट्रीट केहीबेर बन्द गरिएको थियो ।

त्यस्तै आइस खसेका कारण पार्क र मेडिसन एभिन्युका बीचमा ४८ स्ट्रीट पनि केहीबेर बन्द गरिएको थियो । म्यानहटनका भवनहरु नजिक आइस खस्नसक्ने भएकाले सर्वसाधारणहरुलाई सावधान रहन आग्रह गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com