२४ घण्टाभित्र अमेरिकामा तीन गोलीकाण्ड, २८ जनामाथि गोलीप्रहार
प्रकाशित मिति : पुस ७, २०७६ सोमबार
अमेरिकाका विभिन्न स्थानमा २४ घण्टाभित्र भएका तीनवटा गोलीकाण्डमा कम्तीमा २८ जनामाथि गोली हानिएको छ । शिकागोको साउथ मे स्ट्रीटमा आइतबारविहानै गोली एउटाघरभित्र गोली चल्दा १३ जना घाइते भएका थिए ।
घटनास्थलमा एकसयजनाभन्दा धेरै प्रहरी पुगेका थिए भने गोली लागेकाहरु १६ देखि ४८ बर्ष उमेर समुहका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
शिकागोमा गोलीकाण्ड भएलगत्तै डाउनटाउन बाल्टिमोरमा ७ जनामाथि गोली हानिएको छ । आइतबार विहान २ बजे उक्त घटना भएको थियो । घाइते हुनेहरु १७ बर्षदेखि २७ बर्षभित्रका छन् ।
लगत्तै मिनेसोटामा भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइते हुनेहरु १९ देखि ३८ बर्ष उमेर समुहका छन् । मृत्यु हुनेमा १९ बर्षका चाई यांग रहेका छन् ।
सोमबार विहानसम्म तीनवटा घटनामा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन ।