न्युयोर्क निवासीहरु अमेरिकामा सबैभन्दा अशिष्ट र अमैत्री
प्रकाशित मिति : पुस ७, २०७६ सोमबार
न्युयोर्क अमेरिकाको सबैभन्दा अशिष्ट सहर भएको एक सर्वेक्षणले देखाएको छ । न्युयोर्क निवासीहरु अमेरिकामा सबैभन्दा अशिष्ट व्यक्ति रहेको उक्त सर्वेक्षणमा जनाइएको छ ।
बिजनेश इन्साइडर स्टडीले गरेको सर्वेक्षण अनुशार ३४ दशमलव ३ प्रतिशतले न्युयोर्क सिटीमा बस्नेहरु कम मैत्रीपूर्ण रहेको बताएका छन् । तर लस एन्जलस भने १९ दशमलव ७ प्रतिशतलेमात्र कम मैत्रीपूर्ण रहेको बताएका छन् ।
झण्डै २ हजार व्यक्तिमाझ गरिएको सर्वेक्षणमा दोश्रो अशिष्ट र अमैत्री वासिंटन डिसी निवासीहरु रहेका छन् । त्यसपछि शिकागो, बोस्टन, डेट्रोइट, बफेलो, बाल्टिमोर, फिलाडेल्फिया र सान फ्रान्सिस्को रहेका छन् ।
सन् १७७४ मा न्युयोर्कको भ्रमण गरेका राष्ट्रपति जोन आदम्सले न्युयोर्कमा एउटा पनि भद्र व्यक्ति फेला नपारेको बताएका थिए । न्युयोर्कका बासिन्दाहरु धेरै चर्को र छिटो बोल्ने तथा यदि उनीहरुले कुनै प्रश्न सोधेमा तीनवटा शब्द बोल्न नपाउँदै बीचमा रोकेर उनीहरु नै बोल्न थाल्ने बताएका थिए ।