यस्ता सार्वजनिक शौचालय बनाउँदैछ एनआरएनएले काठमाडौंमा


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

गैरआवासीय नेपाली संघ एनआरएनएले काठमाडौंमा बनाउने भनिएका सार्वजनिक शौचालयको प्रारम्भिक ढाँचा तयार भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जालमार्फत बन्न लागेका शौचालयनका ढाँचा तयार गर्नुभएको छ । साथै उहाँले सार्वजनिक रुपमा प्रविधि वा नविन उपायका बारेमा सुझाव समेत माग्नुभएको छ ।

खसोखाससँगको कुराकानीमा पनि पन्तले काठमाडौंमा बनाइन लागेका शौचालयबारे जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो – ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने काम एनआरएनएले गर्नुपर्छ भनेर केही काम सुरु पनि गरेका छौं, त्यस अन्तरगत पहिलो चरणमा काठमाडौंका मुख्य मुख्य र व्यस्त चोकमा सार्वजनिक र सफा शौचालय बनाउन नगरपालिकासँग समन्वयन सुरु गरेका छौं ।’

त्यसका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । कलंकी, कोटेश्वर, वायु सेवा निगम अगाडि, लगायतका स्थानमा सार्वजनिक शौचालय बनाउने प्रकृया अगाडि बढाएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘शौचालय बनाउन जसले पनि सक्छ तर व्यवस्थापनको कुरा मुख्य हो । एनआरएनएले धेरैवर्ष व्यवस्थापन हेर्ने सम्भव हुँदैन तर कम्तीमा ५ बर्ष व्यवस्थीत र सफा शौचालयको जिम्मा एनआरएनएले लिनेगरी सचिवालयले काम सुरु गरेको छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com