ग्रयामी अवार्डमा पनि बास्केटबलका दिग्गज कोबी ब्रायन्ट प्रति श्रद्धाञ्जली
प्रकाशित मिति : माघ १२, २०७६ आईतबार
ग्रयामी अवार्डको ठीक अगाडि हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका दिग्गज अमेरिकी खेलाडी कोबी ब्रायन्टप्रति ग्रयामी अवार्ड २०२० का तर्फबाट पनि श्रद्धाञ्जली व्यक्त गरिने भएको छ । प्रोड्युसरहरुले कोबी ब्रायन्टप्रति श्रद्धाञ्जलीका लागि उपयुक्त तरिकाबारे निर्णय लिएका छन् ।
ग्रयामीको प्रिमियर समारोहमा पनि कोबीप्रति श्रद्धाञ्जली व्यक्त गर्न मौनधारण गरिएको थियो । ग्रयामीमा सहभागी सिलेब्रेटीहरुले कोबीप्रति सामाजिक सञ्जालहरुमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
४१ बर्षका खेलाडी ब्रायन्टको उनकी १३ बर्षकी छोरीसँगै आज विहान निधन भएको हो । क्यालिफोर्नियामा भएको दुर्घटनामा ९ जनाको निधन भएकोमा ब्रायन्टका बाबुछोरी पनि परेका थिए ।
ब्रायन्टको निधनमा हलिउडका सेलिब्रेटीहरुदेखि नेताहरुसम्मले दुख व्यक्त गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुले पनि ब्रायन्टको निधनबाट आफूहरु स्तब्ध भएको बताएका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि ब्रायन्टको निधनमा दुख व्यक्त गरेका छन् । त्यस्तै सिनेटर एमी क्लोबुचार, मेयर पिट बुटाजज, पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन लगायतले पनि ब्रायन्टको निधनप्रति दुख व्यक्त गरेका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामादेखि सेलिब्रेटी जस्टिन बिबरसम्मले बायन्टको निधनप्रति दुख व्यक्त गरेका छन् । खेलसँग सम्बन्धित विभिन्न संघसंस्था र क्लबहरुले पनि दुख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।