संखुवासभादेखि ह्वाइटहाउसम्मको सञ्जिताको यात्रा
प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार
-किशोर पन्थी
नेपालको विकट जिल्ला संखुवासभाको चैनपुरमा जन्मिएकी सञ्जिता श्रेष्ठ प्रधान हवाइट हाउसमा ओबामाको सल्लाहाकार बन्न सफल होलिन् भनेर शायद कसैले सोंचेको थियो । तर नसोंचेको सफलता हात लाग्दा सुरुमा सञ्जिता आफैलाई पनि विश्वास लागेन । जब सफलता हासिल भयो, तब उनले त्यसलाई ग्रहण गरेर एसियन अमेरिकन र नेपालीका पक्षमा काम गर्दै आफ्नो सफलताको सदुपयोग गरिन् ।
झण्डै डेढबर्ष एसियन एण्ड प्यासेफिक आइल्याण्डरका तर्फबाट अमेरिकी राष्ट्रपतिको सल्लाहकार आयोगमा रहेर स्वयम्सेवा गरिन् उनले । सो पदमा उनी सन् २०१५ को मे ८ मा नियुक्त भएकी थिइन् । त्यसपछि उनले ओबामाको कार्यकालभर काम गरिन् भने डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएको केहीदिनमा नै राजिनामा दिइन् । प्राविधिक हिसाबले उनको कार्यकाल आगामी सेप्टेम्बरमा सकिदै थियो तर ट्रम्प प्रशासनको प्राथमिकता र आफूहरुको प्राथमिकतामा अन्तर देखेपछि उनी लगायत १० जनाले सामुहिक राजिनामा दिएका थिए ।
धरान बिजयर्पु बोर्डिंगबाट एसएलसी, कृषि क्याम्पस रामपुर चितवनबाट बि.एससी एजी र आईआईटि इन्डियाबाट एमबिए गरेकी उनी सन् २००६ को नोभेम्बरमा डिभी लोटरीमार्फत अमेरिका आएकी हुन् ।
इन्डियाबाट एमबिए गरेपश्चात जर्मन सरकारको जीटीजेडमा मा प्राइभेट सेक्टर प्रोमोसन प्रोग्राममा केही वर्ष कार्यरत रहेकी उनी तीनबर्षको छोरो सहित अमेरिकामा नयाँ जीवनको सुरुवात गर्न आइपुगिन् र १० बर्ष नपुग्दै बनाइन् आफ्नो बेग्लै पहिचान ।
आफूमात्र होइन, अमेरिकामा रहेका अरु नेपाली महिलाहरु प्नि अगाडि आउनुपर्छ भन्ने उनको चाहना छ । उनी भन्छिन् —‘म सधै नेपाली महिलाहरु अगाडि आएको हेर्न चाहन्छु । तर महिलाहरु अगाडि बढ्नका लागि घरमा राम्र्रो वातावरण हुनुपर्छ । परिवार र श्रीमान्को सहयोग नभएको भए मैले पनि केही गर्न सक्दिनथें । यो सबै पूरुषहरुलाई मेरो मुख्य सन्देश हो ।’
तर पुरुषको सहयोगलेमात्र नहुने, महिलाहरु आफैले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास र चाहना राख्नुपर्ने उनको भनाई छ । उनी भन्छिन् —‘महत्वपूर्ण कुरा परिवारमा माहौल हुनुपर्छ । घरमा माहौल नभएमा र दम्पत्तिको सहयोग नभएमा गर्न सकिन्न । श्रीमान् श्रीमतिबीच समझदारी नभएमा महिलाहरुले धेरै गर्न सक्दैन ।’
एकजना दाई र एकजना भाईसँगै हुर्किएकी संञ्जिता आफू प्रगतिशिल परिवारमा हुर्कन पाउनुलाई आफ्नो भाग्य ठान्छिन् । अमेरिका आइसकेपछि आयोवामा क्याथोलिक च्यारिटीमा पुनर्वास निर्देशकका रुपमा काम गरेकी सञ्जिताले सन् २००९ देखि सन् २०१० सम्म आयोवाको शरणार्थी समन्वय सेवा लुथरन सर्भिसमा रोजगार संयोजकका रुपमा काम गरेकी थिइन् ।
अल्पसंख्यक बर्मिज सम्बन्धित एड्भोकेसी र रेसोर्स सेन्टरमा सल्लाहकार बोर्डमा काम गरेकी सञ्जिता सन् २०१३ देखि आयोवाका गभर्नरले स्थापना गरेको आयोवा डिपार्टमेन्ट अफ ह्युमन राइट, एसियन प्यासेफिक आइल्याण्डर अफेयर्समा कार्यकारी अधिकृतका रुपमा कार्यरत छिन् । विभिन्न संघसंस्थामा आवद्ध सञ्जिता अमेरिकामा रहेका नेपालीहरुका प्रेरणाकी श्रोत हुन् भने डिभी लोटरीमार्फत अमेरिका आएका आप्रवासीहरु पनि मुलधारमा पुग्न सक्छन् भन्ने गतिलो उदाहरण हुन् ।
अमेरिकी मुलधारमा नेपाली देख्न चाहन्छु – सञ्जिता श्रेष्ठ प्रधान
सञ्जिता श्रेष्ठ प्रधानले झण्डै डेढबर्ष एसियन एण्ड प्यासेफिक आइल्याण्डरका तर्फबाट अमेरिकी राष्ट्रपतिको सल्लाहकार आयोगमा रहेर काम गरिन् । उनले डेढबर्षको अवधिमा हासिल गरेको अनुभव, विगत र भविश्यको योजनाबारे खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँगको विशेष कुराकानी ।
आफ्नो परिचय कसरी दिन चाहनुहुन्छ तपाई ?
म अमेरिका आएको १० बर्ष भयो । तर म आफूलाई अरुसँग परिचित गराउँदा न्यु अमेरिकनका रुपमा गराउँछु । मलाई आफूलाई नयाँ जस्तो लाग्छ । हरेक दिन नयाँ नयाँ कुराहरु सिक्दैछु । तर जहाँ जाँदा वा कुनै पनि टेबलमा बस्दा म केही दिन्छु र केही लिन्छु । मैले फस्ट ह्याण्ड इमिग्रेशनका रुपमा ल्याउनसक्ने विचार र सुचनाहरु बैठक, टास्क फोर्स वा कमिटिहरुमा अरु कसैले पनि ल्याउन सक्दैन । मैले ल्याउने विचार र सुझावहरु अरुले ल्याउन सक्दैन, त्यहीसमयमा मैले त्यहाँबाट नयाँ कुराहरु सिक्ने मौका पाइरहेको हुन्छु । मलाई अहिलेसम्म पनि नयाँ छु र धेरै कुरा सिकिरहेको छु जस्तो लाग्छ । तर पनि केही न केही योगदान भने गरिरहेको छु जस्तो लाग्छ ।
ओबामाको सल्लाहकार समितिमा काम गर्दाको अनुभव कस्तो रह्यो ?
म आयोवामा बस्छु । मेरो काम उस्तै प्रकारको छ । यहाँका गभर्नरले स्थापना गरेको मानवअधिकार सम्बन्धि त्यस्तै खालको कमिशनमा काम गर्छु म । त्यो अफिसको लक्ष्य र उद्देश्य ह्वाइट हाउस इनिसियटिभ अन एसियन अमेरिकन एण्ड प्यासेफिक आइल्याण्डरहरुसँग मिल्दोजुल्दो छ । संघीय स्तरमा ओबामाले स्थापना गर्नुभएको ह्वाइट हाउस इनिसियटिभ अन एसियन अमेरिकन एण्ड प्यासेफिक आइल्याण्डर र स्थानीय स्तरमा गभर्नरले स्थापना गर्नुभएको अफिस अफ एसियन एण्ड प्यासेफिक आइल्याण्डर अफेयर्स आधारभूत रुपमा समान छ । एसियन अमेरिकनको विकाश, उनीहरुको समस्याबारे सरकारलाई सुचित गर्ने, सेवामा भएको अभाव पूर्ती गर्ने काम गर्ने शिलशिलामा यस्तो खालको काम गर्ने अरु को रहेछ भनेर खोज्दै जाँदा ह्वाइट हाउस इनिसियटिभको बारेमा थाहा पाएँ । अनि मैले उनीहरुसँग केही काम गर्ने मौका पनि पाएँ । त्यसै शिलशिलामा सल्लाहकार आयोग रहेको र त्यसमा एउटा पद खाली रहेको पनि थाहा पाएँ । शरणार्थीहरुसँग काम गरेको मलाई यस क्षेत्रमा रुची लाग्यो । शरणार्थी पुनर्वास र प्रणालीमा धेरै खाली ठाउँहरु छन् । मलाई यो प्रणालीमा रहेको रिक्तता कसरी पूरा गर्ने, उच्च स्तरका नीति निर्माताहरुले तल्लो स्तरमा के भइरहेको छ भन्ने कसरी थाहा दिने भन्नेमा रुची थियो । किनभने स्थानीय स्तरमा रहेर काम गर्नेहरुलाई धरातलीय यथार्थ थाहा हुन्छ । यो विषयमा मलाई रुची भइरहेको बेलामा मैले यो अवशर प्राप्त गरें ।
स्थानीय स्तरमा काम गरेर, रिक्तताको पहिचान गरेर अगाडि आउने क्रममा मलाई यो एउटा उपयुक्त स्थान र अवशर जस्तो लाग्यो । मैले आवेदन प्रकृया पूरा गरेपछि सातमहिनाजति लाग्यो । उनीहरुले धेरै कुराको मूल्यांकन गरेपछि अन्तरवार्ता भयो फोनबाट । ह्वाइटहाउसको एटर्नी र विभिन्न विभागबाट अन्तरवार्ता भयो । मैले धेरैवटा फर्महरु पनि भर्नुपरेको थियो । अन्तत म छनौट भएँ । त्यसपछि उनीहरुले मलाई २०१५ को मे ८ मा सल्लाहकारमा नियुक्त गरियो । नियुक्तीको प्रकृया यस्तो थियो । यो सल्लाहकार आयोगमा जम्मा २० जना छन् । उनीहरु विभिन्न क्षेत्रबाट छन् । प्यासेफिक आइल्याण्डर र एसियन अमेरिकनभित्र पनि धेरैवटा जातीहरु छन् । भारतीय, पाकिस्तान, चाइनिज, बंगालादेशी लगायत कैयन छन् । उनीहरुले विभिन्न क्षेत्रबाट विभिन्न प्रकारका व्यक्तिको छनौट गरेर सन्तुलन मिलाउन खोजेका हुन्छन् । त्यसमा कोही डाक्टरहरु छन्, कोही व्यवसायीहरु छन्, कोही सामुदायिक विकाशमा छन् । उनीहरुले सधै नयाँ समुदाय, नयाँ जनसंख्यामा पुग्न चाहनेभएकाले नेपालीबाट मलाई छनौटमा उनीहरुलाई रुची लागेको हुनसक्छ । शरणार्थीसँग प्रत्यक्ष काम गरेको पनि त्यो टिममा म मात्र थिएँ ।
तपाई त्यो टिममा रहेर कस्तो सल्लाह दिनुभयो ?
यो सल्लाहकार समिति स्वयम्सेवा प्रकारको हो । हामीले नियमित जागिर गरेको जस्तो होइन । त्यसैले हामीले कार्यालयको स्टाफहरुलाई सपोर्ट गर्ने हो । हामी टाढा टाढा भएपनि हामीले मासिक बैठकहरु गर्ने गथ्र्यों । भेटेर पनि बैठकहरु हुन्थे । हाम्रो कमिटिको मुख्यमध्ये एउटा लक्ष्य हेल्थ केयर थियो । सबै एसियन अमेरिकनहरुलाई हेल्थ केयर पहुचमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हाम्रो एसियन अमेरिकनको विशेषता के छ भने हाम्रो भाषा धेरैथरी छ, अंग्रेजीमा सिमित ज्ञान छ । आफूले बुझ्ने भाषामा हेल्थ केयर पाउनुपर्छ भनेर हामीले मुलरुपमा वकालत गर्यौं । नाम राष्ट्रपतिको सल्लाहकार समिति भएपनि हाम्रो काम विभिन्न डिपार्टमेन्टका डाइरेक्टरहरु, सेक्रेटरीहरु र उच्च पदस्थहरुसँग हुन्थ्यो । आधारतभूत रुपमा राष्ट्रपतिले डाइरेक्टरहरु र डिपार्टमेन्टका सेक्रेटरीहरुलाई मेमो लेखेर दिनुभएको हुन्थ्यो । एसियन अमेरिकनलाई कसरी सेवा दिने भन्ने विषयमा विज्ञताका लागि हामीले ती विभागहरुलाई सल्लाह सुझाव दिने गथ्र्यौं । त्यसैले प्रत्यक्ष हामीले सल्लाह सुझाव दिने तिनै उच्च पदस्थहरुलाई हो । एफोर्डेबल हेल्थ केयरका सन्दर्भमा हाम्रो महत्वपूर्ण भूमिका थियो । नेपालीहरुलाई पनि नेपालीभाषामा अनुवाद गरेर सेवा दिनुपर्ने जस्ता विषयमा सुझावहरु दिएका थियौं ।
नेपालीहरुसँग सरोकार राख्ने विषयमा तपाईले कस्ता कस्ता सुझाव दिनुभयो ?
मैले त्यहाँ निकै छोटो समय अर्थात् डेढबर्षमात्र काम गरें । यो त्यतीलामो समय थिएन । नयाँ कार्यक्रम र नीति आउनका लागि धेरै समय लाग्छ । मेरो नियुक्तीपछि नेपालीका लागि केही विषयमा फाइदा भयो । हाम्रो नेपाली कम्युनिटी अमेरिकामा लुकेको समाजका रुपमा रहेको छ । नेपालीसंघसंस्थामा मात्र आवद्ध हुने तर बाहिर गएर पहिचान बनाउने ढंगले काम नगरेको अवस्था छ । यो अवस्थामा मैले ह्वाइटहाउसको चासोमा नेपाली समुदायलाई पनि एकहदसम्म ल्याउन सकें । नेपाललाई टीपीएसको दर्जामा राख्ने सन्दर्भमा मैले मेरो कमिशनमार्फत प्रत्यक्ष पत्र लेखेर राष्ट्रपतिको डेस्कमा र होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीका डेस्कमा कुराहरु पुर्याउन सकें । यसर्थ म सल्लाहकारका रुपमा रहँदा नेपाली समुदायलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष फाइदा पुगेको थियो ।
सल्लाहकारका रुपमा रहँदा तत्कालिन राष्ट्रपति बराक ओबामासँग भेट्दाको अनुभव कस्तो रह्यो ?
राष्ट्रपतिलाई प्रत्यक्ष भेट्ने कुरा त्यती सहज थिएन । गतबर्ष मे महिनामा एसियन हेरिटेज महिनाका रुपमा मनाउने क्रममा डिसीमा धेरै कार्यक्रमहरु थिए । हामीले मे महिनामा एसियन कल्चरहरु प्रदर्शन गर्ने गर्छौं । ह्वाइट हाउस इनिसियटिभले पनि मेमा ठूलो कार्यक्रम आयोजना गर्छ । त्यही क्रममा म त्यहाँ गएकी थिएँ । एउटा डिनर पनि आयोजना भएको थियो त्यहाँ । ओबामा त्यसको प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यतीखेर हामी चारजना नयाँ सल्लाहकारलाई उहाँले भेट्नुभएको थियो । यो नै मुख्य स्मरणीय भेटघाट थियो । यो एकदम छोटो भेटघाट भएपनि निकै महत्वपूर्ण थियो । हामीले ओबामाले गरेको सहयोगका लागि धन्यवाद दियौं । उहाँले ह्वाइटहाउसका लागि हाम्रो समिति ज्यादै महत्वपूर्ण रहेको बताउनुभएको थियो । राती भएको भेटमा पनि ओबामा अत्यन्तै सकृय देखिनुभएको थियो ।
तपाईले सल्लाहकारका रुपमा काम गर्दा ह्वाइटहाउसले नेपाली समुदायप्रति राख्ने चासो कस्तो पाउनुभयो ?
नेपालीहरुको संख्या कति छ भन्ने कुनै आइडिया नै थिएन । किनभने जनगणनाले पनि नेपालीहरुको संख्या अत्यन्तै कम देखाएको छ । तर हामीले वास्तविक आकडा प्रस्तुत गरेपछि उनीहरु आश्चर्यचकित भए । नेपालीहरु कसरी आउँछन्, कस्तो खालको भिसामा आउँछन्, कस्तो व्यवसाय गर्छन्, आम्दानीको स्तर कस्तो छ, कस्ता खालका समस्याहरु छन्, कुन राज्यमा धेरै नेपालीहरु छन् भन्ने उनीहरुलाई त्यती थाहा थिएन । म यसविषयमा उनीहरुको ध्यानाकर्षण गर्न सफल भएँ । अनुवाद गर्दा नेपाली भाषा पनि चाहिन्छ भनेर मैले वकालत गर्न सकें । समग्रमा हाम्रो नेपालीसमुदायका बारेमा उनीहरुले अलिक राम्ररी बुझ्न पाए । हाम्रो बढ्दो जनसंख्या र आवश्यकताका बारेमा उनीहरुको ध्यानाकर्षण भयो । कुनै पनि सघीय संस्थाले एसियनका लागि कुनै कार्यक्रम ल्याउँदा चाइनिज, कोरियनमात्र उनीहरुको दिमागमा आउथ्यो । तर मेरो संलग्नताले अल्पसंख्यक एसियन र साउथ एसियनको बारेमा हाइलाइट गर्न सकियो । हाम्रो समुदायको प्रोफाइल र आवश्यकताबारे उनीहरुलाई बोध गराएँ । हाम्रो भाषाको संचारमाध्यमहरु पनि मैले जानकारी गराएँ । तर नेपाली समुदायका लागि अझ कतिपय कामहरु गर्न बाँकी रहेकोमा भने मलाई पछुतो छ ।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि तपाईले किन त्यो आयोगबाट राजिनामा दिनुभयो ?
मेरो कार्यकाल सन् २०१७ को सप्टेम्बरसम्म थियो । सन् २०१६ को डिसेम्बरमा हाम्रो अन्तिम बैठक भएको थियो । अब कसरी अगाडि बढ्ने भन्ने कुरा नै हाम्रो बहसको मुख्य विषय थियो । सातजनाले तुरुन्तै राजिनामा दिनुभयो । उहाँहरु असाध्यै ट्रम्पबिरोधी हुनुहुन्थ्यो । म लगायत अरु सदस्यहरुको विचार अहिले नै सजिलै नछाडौं, प्रयास गरौं भन्ने थियो । यति धेरै काम गरेको सन्दर्भमा यत्तिकै नछोडौं भन्ने विचार थियो । अन्तिमसम्म पनि लड्नुपर्छ भन्ने हाम्रो विचार थियो । त्यसै अनुशार राष्ट्रपति ट्रम्पलाई हामीले एउटा पत्र पनि दिएका थियौं । हामीले हाम्रा प्राथमिकता उल्लेख गरेर पत्र दिएका थियौं ।
हेल्थबाहेक इमिग्रेशन पनि हाम्रो ठूलो प्राथमिकता थियो । डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल डाका पनि हाम्रो प्राथमिकता थियो । डाका र इमिग्रेशन भन्ने बित्तिकै धेरैजसोलाई ल्याटिनाकोमात्र समस्या हो भन्ने लाग्छ । तर धेरै एसियनहरुको पनि यो प्राथमिकता हो । ट्रम्प प्रशासनको प्राथमिकतासँग हाम्रो धेरै प्राथमिकता मिल्दैन भन्ने हामीलाई थाहा थियो । तर के कुरा मिल्नसक्छ, त्यसमा अगाडि बढौं भन्ने हाम्रो विचार थियो । हामीले लेखेको पत्रको कुनै रेस्पोन्स आएन । दिनप्रतिदिन नकारात्मक कुराहरु आउँदै गरे । ट्रम्पले छानेका व्यक्तिहरु प्रतिगामी खालका भए । हाम्रो समुदायलाई सहयोग गर्ने खालका कोही नियुक्त भएनन् । जब यात्रा प्रतिबन्ध लगाउने कार्यकारी आदेश आयो, त्यो एउटा चरमउत्कर्ष थियो । त्यसैले हामीले राष्ट्रपति वा ट्रम्प प्रशासनसँग नाम जोडेर काम नगर्ने निर्णय गर्यौं । त्यसपछि हामी १० जनाले राजिनामा दियौं । हामीले ट्रम्प प्रशासनबिरुद्ध गरेको एकखालको बिद्रोह थियो त्यो । सीएनएन, एनबीसी लगायतका संचारमाध्यमहरुले समाचार कभर गरे । विभिन्न भाषाका संचारमाध्यमहरुले कभर गरे । हाम्रो प्राथमिकताभन्दा फरक भइसकेपछि हामीले राजिनामा दिएका हौं ।
डेढबर्षसम्म सल्लाहकार समितिमा रहँदा अरु कुनै स्मरणीय र उल्लेखनीय कुराहरु रहे ?
अमेरिकामा आएर ९ बजेदेखि ५ बजेसम्म काम गरेर मात्र नपुग्ने बोध गरेर मैले धेरै बैठकहरुमा सहभागी हुने, नेटवर्क बढाउने जस्ता काममा सहभागी भएँ । एउटा राम्रो नेटवर्क बनाउन सफल भएँ । तर राष्ट्रिय स्तरमा गर्न पाएको थिइन । जुन मेरा लागि निकै ठूलो र महत्वपूर्ण रह्यो । जब मैले ह्वाइटहाउसबाट फोन पाएँ, त्यतीबेला सुरुमा त मलाई विश्वासै लागेन । यो एउटा ठूलो अवशर थियो । मैले केही दिएँ र केही पाएँ । उच्चपदस्थहरुसँग नेटवर्क विस्तार गर्न पाएँ । त्यो नेटवर्कबाट पनि मैले धेरै कामहरु गर्न सकेको छु । दिपावलीको समयमा उपराष्ट्रपति जो बाइडेनले आफ्नै निवासमा कार्यक्रम गर्नुभएको थियो । त्यहाँबाट निमन्त्रणा आउँदा पनि म निकै खुशी थिएँ । उहाँको निवासमा निकै हाइप्रोफाइलहरुलाई चिन्ने मौका पाएँ । यो अलिकति पजको अवस्थामा भएपनि सन् २०१८ को मिड टर्म चुनावका लागि धेरै तयारी गरिरहेका छौं । एसियन र प्यासेफिक आइल्याण्डरलाई कसरी आवद्ध गराउने लगायतका विषयमा काम गरिरहेकय छौं । कमिशनमा नभएपनि हाम्रो काम जारी छ ।
अब तपाईको भविश्यको योजना के छ ?
म सल्लाहकारमा नियुक्त भएपछिमात्र नेपाली समुदायसँग अलिक बढी अन्तरकृया गर्ने मौका पाएकी हुँ । म आयोवा जस्तो सानो ठाउमा बसेकी छु । नेपालीहरुका संस्थामा पनि आबद्ध छैन । नेपालीहरुका आवश्यकताबारे विस्तारमा थाहा थिएन । नियुक्त भइसकेपछि धेरै ठाउमा जाने मौकय पाएँ । न्युयोर्कमा एनआरएनको कार्यक्रममा पनि सहभागी भएँ । अमेरिकामा रहेका नेपालीहरु आफैले सबै चीज गर्न खोजेको जस्तो मलाई अनुभव हुन्छ । पेशागत विकाश, मन्दिर बनाउने, सामुदायिक केन्द्रहरु बनाउने जस्ता कामहरु आफैले मात्र गर्न खोजेको अनुभव हुन्छ । तर अमेरिकामा यति धेरै श्रोतहरु छन् कि हामीले त्यस्ता श्रोतहरुको पनि उपयोग गर्न सक्छौं । मसँग भएका सुचनाहरु सबै नेपालीहरुलाई कसरी शेयर गर्ने भन्ने जस्तो लाग्छ मलाई । एसियन अमेरिकनसँगै काम गर्ने र मलाई थाहा भएका श्रोतहरु नेपालीहरुसमक्ष लगेर मुलधारमा देख्न सकौं भन्ने मेरो लक्ष्य हो ।
आगामी दिनमा नेपाली समुदायलाई कसरी एकीकृत गर्ने, मैले जानेका कुराहरु कसरी शेयर गर्ने, मुलधारमा भएका विभिन्न अवशरहरुदेखि विभिन्न कार्यक्रममा नेपालीहरुको सहभागिता गराउनेमा जोड दिनेछु । ह्वाइटहाउसमा पनि कैयन कार्यक्रमहरु थिए, त्यसमा नेपालीहरु पनि सहभागी हुनसक्छन् । मैले आगामी दिनमा नेपाली समुदायको शशक्तिकरणका लागि पनि ध्यान दिनेछु ।
तस्विरमा : तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामा र उपराष्ट्रपति जो बाइडेनका साथमा सञ्जिता ।